
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी समाज परिवर्तन अभियानमा जुटेको बताउनुभएको छ ।
एकीकृत समाजवादीको भ्रातृ संस्था युवा सङ्घ नेपाल काठमाडौँ जिल्ला समितिले आज यहाँ आयोजना गरेको ‘नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन’ कार्यक्रममा उहाँले समाज परिवर्तन गर्ने अभियानमा आफ्नो पार्टी जुटेकाले निराश हुनुपर्ने कुनै कारण नरहेको बताउनुभएको हो ।
‘देश र जनताका लागि काम गरेर देखाउने बेला आएको छ, कुनै पनि पार्टी फुट्नु र जुट्नु सामान्य कुरा हो, कम्युनिष्ट पार्टीप्रतिको विश्वास बढाउन युवाहरु अगाडि बढ्नुपर्छ, जनतालाई विश्वास जगाउन जरुरी छ, जनताको पीडाको साथी बन्नुपर्छ, गाउँघरमा पुगेर जनताको समस्या बुझ्नुहोस् र समस्या समाधानमा लाग्नुहोस्’ उहाँले भन्नुभयो ।
अध्यक्ष नेपालले नेपाली समाजलाई परिवर्तन गर्ने क्षमता कम्युनिष्ट पार्टीबाहेक अन्य कुनै पार्टीसँग नभएको उल्लेख गर्नुभयो । उहाँले शक्तिमा रहँदा मात्तिएका कारण नेपालको कम्युनिष्ट आन्दोलनले ठूलो क्षति बेहोर्नुपरेको बताउनुभयो । ‘समय र शक्तिको सदुपयोग हुन नसक्नु र व्यक्तिमा घमण्ड उत्पन्न हुँदा पार्टी विभाजन भयो’ अध्यक्ष नेपालले भन्नुभयो ।
उहाँले इमान्दार, निष्ठा र केही गरौँ भन्ने भावना भएमात्र पार्टी अगाडि बढ्ने बताउनुभयो । पार्टी एकातिर, जनवर्गीय सङ्गठन अर्कातिर हिँड्दा पार्टी अगाडि बढ्न नसक्ने उहाँको भनाइ छ । उहाँले आफू ४१ वर्षमा मन्त्री भएर युवाको जोस र जाँगर राष्ट्र निर्माणमा लगाएको स्मरण गर्दै अहिलेका युवालाई समेत नवीन जोस जाँगरका अगाडि बढ्न आग्रह गर्नुभयो ।
अध्यक्ष नेपालले पार्टीको दशौँ महाधिवेशन सम्पन्न गर्नका लागि प्रतिवेदन, विधानलगायतका दस्तावेज लेखनको कार्यलाई पार्टीले तीव्र गतिमा अगाडि बढाउँदै आएको बताउनुभयो ।
अहिले मुलुकलाई राजनीतिक स्थायित्व चाहिएको उहाँको भनाइ छ । सुशासन, सामाजिक न्याय र समानता तथा समृद्धि अहिलेको मुलुकको आवश्यकता भएको अध्यक्ष नेपालले बताउनुभयो । उहाँले वर्तमान सरकार छ पार्टीको समर्थनमा बनेकाले कुनै एक पार्टी सरकारबाट अलग हुँदा सरकारलाई अप्ठेरो पर्ने अवस्था भएको हुँदा सबैलाई मिलाएर अगाडि बढ्न आग्रह गर्नुभयो ।
पूर्वप्रधानमन्त्री नेपालले जलवायु परिवर्तनको असरले नेपालका हिमालमा असर पर्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । विकसित मुलुकले विकासको नाममा प्रदूषण उत्पन्न गर्दा नेपालको सगरमाथामा असर परिरहेको उहाँको भनाइ छ ।
एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं युवा सङ्घ इञ्चार्ज दिलुकुमारी पन्तले मुलुकको राजनीतिक परिवर्तनमा युवा सङ्घले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
नेत्री पन्तले पार्टी र देशका हरेक तहमा युवा सहभागिता बढाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । भ्रष्टाचार विरोधी आन्दोलन, सुशासनको पक्षमा युवा सङ्घले महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ ।
युवा सङ्घ काठमाडौँका अध्यक्ष गौरीशङ्कर रानाले सबै युवालाई समेटेर अगाडि बढ्न काठमाडौँ युवा सङ्घले काम गर्दै आइरहेको बताउनुभयो । उहाँले युवाका समस्या देखाउनेभन्दा समाधान गर्नेतर्फ अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
- भोजपुरमा ज्वाइँद्वारा ससुरालीको सामूहिक हत्या
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय