
खोटाङ । गत साउनदेखि वैशाख १२ गतेसम्म जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर लजेर नष्ट भएको छ । आगलागीमा एकजनाले ज्यान गुमाएका छन् । जिल्लाका विभिन्न एक सय १० वटा स्थानमा भएको आगलागीको घटनामा पाँच करोड रुपैयाँ बढीको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
जिल्लामा भएको आगलागीमा परेर एकजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् । सामुदायिक वनमा लागेको डढेलोबाट रावाबेँसी गाउँपालिका–१ कुभिण्डेस्थित हरमटारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको जलेर मृत्यु भएको हो ।
स्थानीय मैनाचौर सामुदायिक वन नजिकैको खेतमा झिक्रा तथा पत्कर डढाउन लगाएको आगो अनियन्त्रित भएपछि निभाउने क्रममा श्रेष्ठको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । विभिन्न समयमा भएका अन्य पाँचजना घाइतेको अवस्था सामान्य रहेको स्थानीयले बताएका छन् ।
आगलागीबाट एक सय ७५ वटा चौपाया र एक सय ९५ पक्षी जलेर मरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले राससलाई जानकारी दिनुभएको छ । ‘जिल्लामा दैनिकजसो आगलागीका घटना भइरहेका छन् । आगलागी नियन्त्रण तथा उद्धारका लागि मातहतका प्रहरी परिचालन गरिएको छ’ उहाँले भन्नुभयो– ‘घटनास्थलमा खटिएका प्रहरी आगलागीपीडितलाई सुरक्षित स्थानमा सार्नका साथै थप क्षति हुन नदिन रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ । जिल्लामा भएका अधिकांश आगलागीका घटना सामुदायिक वनमा लागेको डढेलोबाट हुने गरेको पाइएको छ ।
सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा बुधबारमात्रै बराहापोखरी गाउँपालिका–१ बराहापोखरीमा १३ वटा घर जलेर नष्ट भएको छ । विभिन्न चारवटा सामुदायिक वनमा लागेको डढेलो गाउँमा पस्दा १३ वटा घर, सातवटा मचान, दुईवटा गोठ, एउटा बाख्राखोर र एउटा भान्छाघर जलेर खरानी भएको हो ।
बराहपोखरीका आगलागी पीडितको उद्धार, व्यवस्थापन तथा राहत उपलब्ध गराउने काम भइरहेको वडाध्यक्ष ढकबहादुर कार्कीले जानकारी दिनुभएको छ । वडाध्यक्ष कार्कीका अनुसार दिउँसोको समयमा भएको आगलागीबाट मानवीय क्षति नभएको तथा क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।
यस्तै बुधबार नै दिउँसो स्थानीय ठूलोवन सामुदायिक वनमा लागेको डढेलोले हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेको तल्लोखोक्सेलीका भूपराज आलेमगर र भीमबहादुर बस्नेतको घर तथा नरबहादुर भुजेल, भेषबहादुर भुजेल र पदमबहादुर मगरको गोठ जलेको छ । इलाका प्रहरी कार्यालय हलेसी र प्रहरी चौकी च्यास्मीटारका प्रहरीको टोली आगो नियन्त्रण गरेर फर्किएपछि पुनः हावाहुरीले उडाएको आगोले बस्नेतको घर जलेको वडाध्यक्ष किशोर बस्नेतले बताउनुभयो ।
दश स्थानीय तह रहेको जिल्लामा स्थानीय बासिन्दा आफैँले जानाजान सामुदायिक वनमा डढेलो लगाउँदा आगलागीका घटना हुने गरेको समाचार स्रोतको दाबी छ । हिउँदमा बोटबिरुवाबाट झरेका पातपतिङ्गरले वर्षामा घाँस पलाउन नदिने भएपछि डढाउन स्थानीय बासिन्दा आफैँले सामुदायिक वन क्षेत्रमा आगो लगाउने गरेको पाइएको छ ।
सामुदायिक वन तथा आसपासका निजी जङ्गलमा लगाइने आगो नजिकै रहेको गाउँमा पस्दा ठूलोमात्रामा जनधनको क्षति हुनुका साथै अरबौँको वनस्पति जलेर नष्ट हुने गरेको छ । सामुदायिक वनमा आगजनी गर्ने व्यक्तिलाई सम्बन्धित निकायले अहिलेसम्म कारबाहीको दायरामा ल्याउन सकेका छैनन् ।
सामुदायिक वन क्षेत्रमा जानाजान आगजनी गर्ने व्यक्तिलाई दुईदेखि पाँच वर्षसम्म कैद सजाय तथा २० हजार देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने मुलुकी अपराध संहिता २०७४ मा उल्लेख छ । सार्वजनिक सम्पत्तिमा हानी पुर्याउनु कानुनविपरीत हुने तथा वन क्षेत्रमा आगजनी गर्दा दीर्घकालीन असर पुग्ने चेतनाको अभावमा स्थानीय बासिन्दा आफैँले जानाजान सामुदायिक वनमा आगजनी गर्ने गरेका हुन् ।
जिल्लामा आगलागीबाट हुने क्षति तथा बच्ने उपायका बारेमा सचेतनामूलक कार्यक्रम गरिए पनि जनस्तरमा नपुग्दा समस्या भएको जानकारले बताउने गरेका छन् । आगलागीका घटना नियन्त्रण गर्न वन कार्यालय, सामुदायिक वन उपभोक्ता समिति तथा प्रहरीले सचेतनामूलक कार्यक्रम गर्दै आएका छन् ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा यस वर्षमात्रै तीन दर्जन बढी सामुदायिक वनमा डढेलो लागेको डिभिजन वन कार्यालय खोटाङले जनाएको छ । जिल्लाका विभिन्न सामुदायिक वनमा लागेको डढेलोले पशुपक्षी, काठ काट्न योग्य रुख तथा जडीबुटीजन्य वनस्पति जलेर नष्ट हुँदा अरबौँको क्षति भइसकेको डिभिजन प्रमुख पशुपति दाहालले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै