
डोल्पा। हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न खुला गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहालको अध्यक्षतामा जिल्ला सदरमुकाम दुनैमा बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । जिल्लामा रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वनको क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न खुला गरिने प्रजिअ दाहालले जानकारी दिनुभयो ।
बैठकले यार्सा सङ्कलन गरिने क्षेत्रमा सुरक्षाकर्मी परिचालन एवं स्वास्थ्य शिविर आयोजना गरिने निर्णयसमेत गरेको छ । प्रत्येक वर्ष डोल्पाका उच्च हिमाली क्षेत्रमा रहेका यार्सा सङ्कलन गर्न बीसौँ हजार सर्वसाधारण पुग्ने गर्दछन् । डोल्पाका यार्सा पाटन वन क्षेत्रमा भन्दा निकुञ्ज क्षेत्रमा धेरै पर्ने गर्दछन् ।
यार्सागुम्बा सङ्कलन गर्न पाटन प्रवेशका लागि तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था निकुञ्जले गरेको छ । मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई एक हजार, डोल्पा जिल्लाभित्रका बासिन्दालाई दुई हजार र जिल्ला बाहिरकालाई तीन हजार तोकिएको छ ।
निकुञ्ज र वन क्षेत्रका यार्सा सङ्कलन गर्न लुकीछिपी अवैधरुपमा मानिसहरु जाने गरेका छन् । डोल्पामा वैशाखमै यार्सा उम्रिसक्ने भएकाले जुम्ला र डोल्पाका सर्वसाधारण सङ्कलन गर्न जाने बताइएको छ ।
निकुञ्जले अवैधानिकरुपमा छिरेका ७५ जनालाई पक्राउ गरेर छोडिसकेको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले निकुञ्ज क्षेत्रमा सेनाले नियमित गस्ती गरिरहेको बताउनुभयो । तोकिएको मितिभन्दा अगाडि पाटन प्रवेश गर्न खोज्ने जो कोहीलाई समातेर कानुनी कारबाही गरिने उहाँको भनाइ छ । डोल्पाली जनताको मुख्य आम्दानीको स्रोतको रुपमा रहेको यार्सागुम्बा सङ्कलन गर्नका लागि छिमेकी जिल्ला रुकुम, जाजरकोट, सल्यान, जुम्लालगायतका जिल्लाबाट हजारौँको सङ्ख्यामा सर्वसाधारण पुग्ने गर्दछन् ।
समुद्री सतहबाट तीन हजारदेखि पैँतीस सय मिटर उचाइसम्ममा यार्सा पाइने भएकाले ज्यानको बाजी लगाएर यार्सा टिप्न जानुपर्ने बाध्यता रहेको त्रिपुरासुन्दरी नगरपालिका–१ का ज्ञानबहादुर बुढाले बताउनुभयो । डोल्पामा यार्साको व्यावसायिक रुपमा सङ्कलन सुरु २०४० सालदेखि भएको हो । विसं २०७५ देखियता १२ जना यार्सा सङ्कलकले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले यार्सा सङ्कलन इजाजत र छोड पुर्जी वितरणबाट प्रत्येक वर्ष न्यूनतम पचास लाखभन्दा धेरै राजस्व सङ्कलन गर्ने गरेको छ । अघिल्लो वर्षमात्रै छोडपुर्जी र सङ्कलन इजाजत वितरणबाट वितरणबाट निकुञ्जले रु दुई करोड तीन लाख राजस्व सङ्कलन गरेको थियो । सङ्कलकबाट बर्सेनि लाखाँै राजस्व उठाए पनि स्वास्थ्य बिमा भने गरिँदैन ।
निकुञ्जले यार्सा टिप्नेबाट राजस्व मात्र लिने र जोखिमको प्रत्याभूति नगर्ने नगर्नु गलत भएको त्रिपुरासुन्दरी मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमान सार्कीले बताउनुभयो । “जिल्लाका प्रत्येक गाउँमा यार्सा टिप्न पाटन जाँदा बर्सेनि धेरैले घर परिवार र अभिभावक गुमाएको अवस्था छ । उनीहरुको जीवनस्तर समेत दयनीय छ, मृतकका छोराछोरी पढ्न पाएका छैनन् । अभिभावक गुमाएकै कारण कलिलै उमेर बाल विवाह गर्न बाध्य छन्, राम्रोसँग खान पाएका छैन, धेरै पीडामा बाँचेका छन्”, उहाँले भन्नुभयो । स्वास्थ्य बिमा भएको भए यार्सा सङ्कलन गर्न जाँदा ज्यान गुमाउनेलाई केहीन केही राहत हुने उहाँको भनाइ छ । डोल्पामा नेपालमै सबैभन्दा धेरै परिमाणमा र गुणस्तरको हिसाबमा राम्रो यार्सागुम्बा पाइने गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै