
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको तयारी पूरा भएको छ ।
ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सबै तयारी पूरा भएको जानकारी दिनुभएको छ । उहाँका अनुसार बैठकमा महाधिवेशन परिषद् सदस्य दुई हजार ७३ र तीन सय ८१ जना गरी कूल दुई हजार चार सय ५४ जना सहभागी हुनेछन् ।
परिषद् बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नु हुनेछ । यसैगरी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गर्ने छन् ।
सम्मेलनमा महासचिव शङ्कर पोखरेलले मुलुकको आवश्यकता, जनचाहनाअनुसार राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन, विकास र समृद्धिलाई सुनिश्चित गर्ने बलियो, सुदृढ र निर्णायक राष्ट्रिय शक्तिका रुपमा एमालेलाई विकसित गर्न परिषद् बैठकले स्पष्ट दिशानिर्देश गरी निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । एमालेलाई कसरी अगाडि बढाउने निर्क्यौल गर्ने र राष्ट्रिय राजनीतिलाई सही दिशामा अगाडि बढाउने सन्दर्भमा पनि बैठक महत्वपूर्ण हुने उहाँको भनाइ छ । उहाँले मुलुकको ओरालो यात्रालाई रोकेर मुलुकलाई सकारात्मक दिशा दिने प्रयत्नको संश्लेषण परिषद्को बैठकबाट गर्ने बताउनुभयो । ‘मुलुकलाई अगाडि बढाउने निष्कर्ष परिषद् बैठकबाट गर्ने छौँ’ उहाँले भन्नुभयो, ‘महाधिवेशन यताको समग्र कामको समीक्षा गरिनेछ ।’
बैठकमा मिसन ग्रासरुट, झुलाघाट चिवाभञ्याङ सङ्कल्पयात्राको समीक्षा गर्दै त्यसका आधारमा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने निष्कर्ष निकाल्ने महासचिव पोखरेलले बताउनुभयो । उहाँका अनुसार परिषद् बैठकमा यसअघि गरिएको पार्टीका केन्द्रीय सदस्यहरुको कार्यविभाजनको पनि समीक्षा गरिनेछ । ‘वार्षिक कार्ययोजनालाई आगामी दिनमा परिषद् बैठकका निष्कर्षले महत्वपूर्ण भूमिका खेल्ने छन्’ उहाँले भन्नुभयो । कसरी व्यवस्थित गर्ने ? भन्ने खालको निष्कर्षका साथै साङ्गठनिक कामको समीक्षामार्फत निकाल्ने उहाँको भनाइ छ ।
महासचिव पोखरेलले राजनीतिक अस्थिरता अन्त्यका लागि बलियो र निर्णायक राष्ट्रिय शक्ति आवश्यक रहेको बताउनुभयो । ‘एमाले बलियो छ तर पर्याप्त छैनौँ । हामी अरूभन्दा ठूला त छौँ तर राष्ट्रिय आवश्यकता पूरा गर्ने अवस्थामा पुगिसकेका छैनौँ’ उहाँले भन्नुभयो– ‘पहिलो पार्टी हुनुमात्र पर्याप्त हुँदोरहेनछ । राष्ट्रिय आवश्यकता पूरा गर्ने हिसाबले बलियो र निर्णायक बन्नु जरुरी रहेछ । बलियो र निर्णायकले नै अस्थिरता अन्त्य गर्न सक्दछ ।’
उहाँले अहिलेको सरकारले राम्रो काम गरे सरकारलाई निरन्तरता दिन तयार रहेको बताउनुभयो । महासचिव पोखरेलले गणतन्त्रको सुदृढीकरण, लोकतन्त्रलाई संस्थागत विकास गर्ने सवालमा सधैँभरि सत्ता र प्रतिपक्षसँग मिलेर काम गर्न तयार रहेको बताउनुभयो । परिषद् बैठक वैशाख ८ र ९ गते ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा हुनेछ । एमालेको विधानमा दुई राष्ट्रिय महाधिवेशनबीचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने उल्लेख गरिएको छ ।
हीरक महोत्सव मनाइने
यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भएको ७५ वर्ष पूरा गरेको अवसरमा पार्टीले हीरक महोत्सव मनाउने भएको छ । शाख १० गते सभाहलमा नै एक विशेष समारोहको आयोजना गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत विभिन्न राजनीतिक दलका प्रमुख नेताहरुले सम्बोधन गर्नुहुनेछ ।
हीरक महोत्सवमा गणतन्त्र गौरव सम्मानबाट एकजना विशिष्ट व्यक्तिलाई सम्मान गर्ने उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु