
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गर्नुभएको छ ।
आकिहिको निसिओ विश्व बैंकका विकास वित्त (डीएफआई) परिचालन र ग्वाङ्झे चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुनुहुन्छ । दुवै उपाध्यक्षसँग मन्त्री पुनले वासिङटन डिसीस्थित विश्व बैंक मुख्यालयमा गएराति भेटवार्ता गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । अमेरिकी अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)का उपाध्यक्ष रिकार्डो पुलिटीसँग अर्थमन्त्री पुनले भेटवार्ता गर्नुभएको थियो ।
त्यस अवसरमा अर्थमन्त्री पुनले विश्व बैंकका उपाध्यक्ष आकिहिको निसिओसँग आगामी जुनमा काठमाडौँमा विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडीए–२१) को बैठक गर्ने नेपालको प्रस्ताव स्वीकार गरेकामा धन्यवाद दिनुभयो । सो बैठकको राम्रो तयारी भइरहेको भन्दै त्यसका लागि काठमाडौँस्थित विश्व बैंकको देशीय कार्यालयसँग समन्वय गरिरहेको बताउनुभयो । उहाँले नेपालमा सहुलियतपूर्ण कर्जा वा अनुदानमार्फत लगानीका थप क्षेत्र पहिल्याउन आग्रह गर्नुभयो ।
नेपालजस्ता विकासोन्मुख देशका लागि भरपर्दो माध्यम बनाउन सकिने भन्दै मन्त्री पुनले पछिल्लो दशकमा दूरसञ्चार, यातायात, स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व समुदायले हेर्न लायक भएको उल्लेख गर्नुभयो ।
नेपाल सरकार र १६ विकास साझेदारले सन् २०२१ मा संयुक्त रुपमा अनुमोदन गरेको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) का लागि रणनीतिक कार्ययोजना समावेश गरिएको काठमाडौँ घोषणापत्रको मार्गनिर्देशनमा अघि बढेको उहाँले जानकारी दिनुभयो । घोषणापत्रको अवधारणाअनुसार आगामी वर्ष पहिलो हरित उत्थान र समावेशी विकास कार्यक्रम अन्तर्गतको (ग्रिड डिपीसी) कार्यान्वयन गर्न लागिएको उहाँको भनाइ थियो ।
मन्त्री पुनले एक हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्थजलाशययुक्त आयोजना र ६ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनामा विश्व बैंकले लगानी गर्न देखाएको तत्परताका लागि प्रशंसा गर्नुभयो ।
विश्व बैंकको पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेनसँग भएको भेटमा मन्त्री पुनले नेपालले पूर्वधार विकासलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । सरकारका तर्फबाट ऊर्जा, यातायात र शहरी पूर्वाधार केन्द्रित योजनामा जोड दिइएको उहाँको भनाइ थियो ।
उहाँले गत साता मात्र दुई ठूला जलविद्युत आयोजना माथिल्लो अरुण र दूधकोशीको वित्तीय ढाँचाबारे विश्व बैंकका काठमाडौँस्थित अधिकारीहरुसँग भएको ‘राउण्डटेबल’ बैठक फलदायी भएको भन्दै छिट्टै वित्तीय व्यवस्थापनको टुङ्गो लाग्नेमा आशा व्यक्त गर्नुभयो ।
दुवै आयोजना नेपालको ‘गेम चेन्जर’ भएको उहाँले ती अयोजनाको विकासले नेपालको ठूला पूर्वधार निर्माण क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । आगामी असारभित्रमा माथिल्लो अरुण जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन हुनेमा आफूहरु ढुक्क रहेको उहाँले उल्लेख गर्नुभयो ।
माथिल्लो अरुण आयोजना क्षेत्रका प्रभावितलाई मुआब्जा र क्षतिपूर्ति वितरण, पहुँचमार्ग निर्माण तथा जमिनको अधिग्रहणजस्ता काम सकिने चरणमा पुनेको उहाँले जानकारी दिनुभयो । नेपालले जलविद्युत्का लागि क्षेत्रीय बजारको समेत सुनिश्चितता गरेको भन्दै उहाँले भारतसँग आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता गरेको र बङ्गलादेशले समेत नेपालको विद्युत् किन्ने प्रक्रिया अघि बढिसकेको स्पष्ट पार्नुभयो ।
आईएफसीका उपाध्यक्ष पुलिटीसँगको भेटवार्तामा मन्त्री पुनले आगामी दिनमा आईएफसी र नेपालबीचको सहकार्य थप प्रगाढ र सुदृढ भएर जाने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल र आईएफसीबीच पाँच दशक लामो सहकार्य रहेको स्मरण गर्दै मन्त्री पुनले नेपालको पर्यटन क्षेत्रमा आईएफसीले पहिलोपटक लगानी गरेको बताउनुभयो ।
निजी क्षेत्रसँग सम्बन्धित भएर नेपालको आर्थिक विकास प्रयास तथा पुँजीको व्यवस्थापनमार्फत निजी क्षेत्रको विकासमा आईएफसीले गरेको सहयोग सराहनीय रहेको उहाँको भनाइ छ । उहाँले आगामी दिनमा लगानीका क्षेत्र बढाउन तथा पुँजी परिचालन तथा प्राविधिक सहयोग बढाउन पनि अपिल गर्नुभयो ।
नेपालको पर्यटन, ऊर्जा, यातायात र कृषि क्षेत्रमा आईएफसीको सहयोग रहँदै आएको उनले बताउनुभयो । आगामी दिनमा नेपालमा सूचना प्रविधि क्षेत्रका लागि लगानीको राम्रो वातावरण रहेको मन्त्री पुनको भनाइ छ। सानो अर्थतन्त्र भएका कारण लगानीयोग्य पुँजी रहेकाले वैदेशिक लगानीका स्वागत गर्ने नीति अख्तियार गरिएको मन्त्री पुनले बताउनुभयो ।
निजी पुँजी परिचालन बढाउन, थप रोजगारीका अवसर सिर्जना गर्न तथा आर्थिक गतिविधि र वित्तीय पहुँच बढाएर जनताको जीवनस्तर उकास्न सरकार लागिपरेको मन्त्री पुनले उल्लेख गर्नुभयो ।
तीनवटै भेटवार्तामा पुनले वैदेशिक लगानी भित्र्याउन यही वैशाख १६ र १७ मा काठमाडौँमा हुन गइरहेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गरिएको भन्दै त्यसमा उच्चस्तरको सहभागिताको अपेक्षा राखिएको बताउनुभयो । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन मन्त्री पुन सोमबार बिहान अमेरिका प्रस्थान गर्नुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा