
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल सफाइका लागि नेपाली सेनाको टोली सोलुखुम्बुको नाम्चेबाट अघि बढेको छ । सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइका लागि सैनिकसहितको सफा हिमाल अभियान–२०२४ को टोली आज नाम्चेबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेको हो ।
बाह्र जना नेपाली सेना र एक जना शेर्पा सरदारसहित १३ जनाको टोलीमध्ये दुई जना भने आपतकालीन जनशक्तिका लागि नाम्चेमै रहने रणशुर गुल्म नाम्चेका प्रमुख सेनानी प्रचण्ड विक्रम भारतीले जानकारी दिनुएको छ । ‘दुई जना आपतकालिन उद्धार तथा समस्याका लागि नाम्चे ब्यारेकमै तयारी अवस्थामा छन्, बाँकी ११ जनालाई नाम्चे ब्यारेकले आज एक कार्यक्रमका बीच बिदाइ गयौँ, यो टोली सगरमाथा आधारशिविरतर्फ अघि बढेको हो’ उहाँले भन्नुभयो । वैशाख २ गते सेनाको हेलिकप्टरमार्फत स्याङ्बोचे ओर्लिएको टोली दुई दिन नाम्चेको बसाइपछि आज त्यहाँबाट प्रस्थान गरेको हो ।
सेनानी आदित्य कार्कीको नेतृत्वमा रहेको उक्त टोलीले अभियानलाई प्रभावकारी बनाउन स्थानीय जनसमुदायहरूसँग अन्तरसंवाद गर्दै करिब सात दिनको पदयात्रा पश्चात् सगरमाथा आधार शिविर पुग्ने सेनानी भारतीले बताउनुभयो । पदयात्राको क्रममा सचेतना अभिवृद्धि तथा अभियानको प्रचारप्रसारका लागि पदमार्गको सरसफाइ समेत गरिनेछ ।
एन एन्डेवर टु सेभ द हिमालयज भन्ने मूल विषयका साथ सञ्चालन हुन गइरहेको यस अभियानअन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालका विभिन्न क्याम्पबाट करिब १० टन फोहोर सङ्कलनको लक्ष्य लिइएको नेपाली सेनाले जनाएको छ । यसअघि गत बिहीबार जङ्गी अड्डामा आयोजित एक समारोहमा प्रधान सेनापति प्रभुराम शर्माले अभियानका नेतृत्वकर्ता सेनानी आदित्य कार्कीलाई झण्डा हस्तान्तरण गरी अभियानको थालनी गर्नुभएको थियो ।
नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालन हुने सफा हिमाल अभियान सफल बनाउन वन तथा वातावरण मन्त्रालय, खुम्बु पासाङ ल्हामु गाउँपालिका, नेपाल पर्वतारोहण सङ्घ, हिमालयन उद्धार सङ्घलगायतका सङ्घ संस्थाहरूको प्राविधिक सहयोग रहेको छ ।
सङ्कलित फोहरमध्ये सड्ने फोहर स्थानीय निकायलाई र नसड्ने फोहर रिसाइकल गर्ने संस्थालाई व्यवस्थापनको लागि हस्तान्तरण गरी समापन गर्ने योजना छ । अभियानले विश्वव्यापी चुनौतीका रूपमा रहेको वातावरणीय प्रदूषण तथा तापमान परिवर्तनको असरलाई केही हदसम्म न्यून गर्न सहयोग पुग्न नेपाली सेनाकोे विश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु