
काठमाडौँ। एसिसी मेन्स प्रिमियर कप अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा आज भएको खेलमा जितका लागि दुई सय ११ रनको लक्ष्य पछ्याएको कतार निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १ सय ७८ रनमा समेटियो ।
कतारका लागि कप्तान मुहम्मद तनभिरले अर्धशतकीय पारी खेले । उनले ३३ बलमा चार चौका र छ छक्काको सहयोगमा ६३ रन बनाए । साथै मोहम्मद अहनाफले २३, हिमांशु राठोरले २२, अदनान मिर्जाले १९, कमरान खानले १८ रन बनाए । कतारका बाँकी ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् ।
नेपालका लागि ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुलसन झाले समान दुई/दुई विकेट लिए भने कुशल मल्ल र अविनाश बोहोराले एक/एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा २१० रन बनाएको थियो । दीपेन्द्र सिंह ऐरीको विस्फोटक ब्याटिङमा नेपालले कतारलाई जितका लागि विशाल रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
नेपालका लागि ऐरीले कीर्तिमानी खेल प्रदर्शन गरे । उनले कतारका कमरान खानको एकै ओभरमा छ छक्का प्रहार गर्दै भारतीय क्रिकेटर युवराज सिंहको नाममा रहेको कीर्तिमानी बराबरी गरे । उन्नाइस ओभरसम्म एक सय ७४ रनको अवस्थामा रहेको नेपाल ऐरीको छ छक्काको सहयोगमा दुई रन १० रनको विशाल योगफल बनाउन सफल भएको थियो ।
युवराज सिंहले सन् २००७ को टी–२० विश्वकपमा इङ्ल्याण्डविरुद्धको खेलमा बलर स्टुआर्ट बोर्डको ओभरमा छ छक्का प्रहार गरेका थिए ।
नेपालका लागि ऐरीले सर्वाधिक ६४ रन बनाए । कूल २१ बल खेलेका उनले सात छक्का र तीन चौका प्रहार गरे । साथै ओपनर आशिफ शेखले पनि अर्धशतकीय पारी खेले । उनले ४१ बलमा छ चौकाको सहयोगमा ५२ रन बनाए । कुशल मल्लले १८ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकाको सहयोगमा ३५ रन बनाए । साथै कप्तान रोहित पौडेलले १८, कुशल भुर्तेलले १२, सन्दीप जोराले सात, गलसन झा र विवेक यादवले पाँच/पाँच रनको योगदान दिए ।
कतारका लागि हिमांशु राठोर र मुसावर शाहले तीन/तीन विकेट लिए भने अमीर फारुकले एक विकेट लिए ।
जितसँगै समूह ‘ए’मा रहेको नेपाल अङ्क तालिकामा शीर्ष स्थानमा पुगेको छ । नेपालले दुई खेलमा दुई जितसँगै चार अङ्क बटुलेको छ । एक खेलमा एक जितका साथ हङकङ दोस्रो, दुई खेलमा एक जित र एक हारका साथ मलेसिया तेस्रो, एक खेलमा एक हारका साथ साउदी अरेबिया चौथो र दुई खेलमा दुई हारका साथ कतार पाँचौ स्थानमा छ ।
साथै समूह ‘बी’ दुई खेलमा दुई जितका साथ यूनाइटेड अरब एमिरेट्स पहिलो स्थानमा छ भने दुई खेलमा एक जित र एक हारका साथ कुवेत दोस्रो स्थानमा छ । एक खेलमा एक जितका साथ ओमान तेस्रो, दुई खेलमा दुई हारका साथ बहराइन चौथो र एक खेलमा एक हारका साथ कम्बोडिया पाँचौ स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
- रविको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरीका सई काठमाडौँ तानिए
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय
- टहरामा सुतिरहेका दुई दिदीबहिनीको ढुंगा लागेर मृत्यु
- कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री