
बागलुङ । चैतेदशैँ शुरु भएसँगै कालिका मन्दिरमा भक्तजनको घुइँचो बढ्न थालेको छ । चैतेदशैँमा कालिका मन्दिर दर्शन गर्न आउने धार्मिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो ।
मङ्गलबारदेखि नवरात्र शुरु भएको छ । चैतेदैसैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको पूजाउपासना गरिन्छ । चैतेदसैँमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने भएकाले टाढाटाढाबाट भक्तजन आउने गर्दछन् ।
चैतको नवरात्रमा पनि बागलुङ कालिकाको पूजाआराधना र बलि दिइँदा आँटेको पुग्ने जनविश्वास रहेको छ । गण्डकी प्रदेशको मुख्य शक्तिपीठका रुपमा रहेको यहाँस्थित कालिका मन्दिरमा चैतेदशैँ शुरु भएपछि भक्तजनको घुइँचो लाग्न थालेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।
‘आज चैतेदशैँको तेस्रो दिन हो । बिहानै एक हजार दुई सय जना मन्दिर परिसरमा भक्तजन हुनुहुन्थ्यो । चैतेदशैँमा यस मन्दिरको सबैभन्दा बढी धार्मिक पर्यटक आउने गर्दछन्, त्यसपछि वडादशैँमा बढी घुइँचो हुन्छ’ खड्काले भन्नुभयो– यहाँ चैत ३० गतेदेखि ऐतिहासिक चैतेदसैँ मेलासमेत आयोजना गरिएको छ । भक्तजनको चापलाई मध्यनजर गरेर सवारी पार्किङ, सुरक्षा लगायतको व्यवस्था मिलाइएको छ ।’
उहाँका अनुसार मन्दिरलाई सजाइएको छ भने सत्तल, मठ र अन्य स–साना मन्दिरसमेत चिटिक्क पारिएको छ । मेला हेर्न र मन्दिरको दर्शन गर्न आउने गरी करिब ५ लाख धार्मिक पर्यटक बागलुङ भित्र्याउने गुठीको लक्ष्य रहेको उहाँले जानकारी दिनुभएको छ ।
चैतेदशैँका समयमा बागलुङ कालिका मन्दिरमा पूजाआजा गर्नका लागि नेपालसँगै छिमेकी मुलुक भारतबाट समेत धार्मिक पर्यटक आउने गर्दछन् । मन्दिरमा चैतेदशैँ र वडादशैँमा विशेष पूजाआजा हुने भएकाले यही समयमा धेरै भक्तजनको घुइँचो लाग्ने गरेको छ । मन्दिरमा बोका, राँगो, कुखुरा लगायतको बलि चढाइनाका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ ।
चैतेदशैँका अवसरमा लाग्ने तीन सय वर्ष पुरानो मेला नजिकिएसँगै आयोजकले मेलाको तयारी अन्तिम चरणमा पु-याएको छ । चैत ३० गतेदेखि वैशाख ६ गतेसम्म सञ्चालन हुने मेलामा नयाँ वर्षको कार्यक्रमलाई समेत समेटिएको छ । मन्दिर परिसरमा लाग्दै आएको मेलाको तयारीलाई अन्तिम चरणमा पुर्याइएको गुठी व्यवस्थापन समितिले जनाएको छ ।
‘गन्तव्य बागलुङ कालिका कला र संस्कृतिको प्रवर्द्धन–स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ यस वर्षको चैतेदशैँ मेला आयोजना गरिएको हो ।
मेलाको मुख्य आकर्षणका रुपमा यसपटक खुला राष्ट्रिय लोकदोहरी प्रतियोगिता, खुला राष्ट्रिय भलिबल प्रतियोगिता रहेका समितिका अध्यक्ष खड्काले जानकारी दिनुभएको छ । मेलामा स्थानीय कलासंस्कृति झल्कने झाँकीसमेत प्रदर्शनको व्यवस्था मिलाइएको बताउँदै उहाँले स्थानीय सामग्री डोको, नाङ्लो ठेका, डाला लगायतको व्यापारलाई निःशुल्क स्टल उपलव्ध गराइएको जानकारी दिनुभयो ।
‘मेलाको इतिहासमै सबैभन्दा बढी लोकदोहरी प्रतियोगिताको समूह दर्ता भइसकेको छ । ३४ समूह प्रतिस्पर्धामा आउने भनेको हाम्रा लागि ठूलो गौरवको कुरा हो, दोहोरीको पुरस्कार राशि रू दुई लाख राखेका छौँ’ खड्काले भन्नुभयो– ‘खुला राष्ट्रिय भलिबलमा विभागीय टिमसहित १२ समूह प्रतिस्पर्धाका लागि दर्ता भइसकेका छन् । नयाँ वर्ष २०८१ साललाई स्वागत गर्नका लागि अघिल्लो रात १२ बजेसम्म सांस्कृतिक कार्यक्रम गरिनेछ ।’
लोकदोहोरी प्रतियोगितामा प्रथम हुनेलाई रू दुई लाख, र द्वितीयलाई रू एक लाख, तृतीय हुनेलाई ५० हजार र उत्कृष्ट स्वर हुने महिला र पुरूष तथा उत्कृष्ट वेषभूषा महिला र पुरूषलाई पाँचरपाँच हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
ऐतिहासिक चैतेदशैँको दोस्रो आकर्षणका रुपमा कालिका कप खुला भलिबल प्रतियोगिता आयोजना गरिएको छ । गुठी व्यवस्थापन समितिको आयोजनामा ३ लाख रुपैयाँ राशीको पुरस्कार आयोजना गरिएको छ । प्रतियोगितामा द्वितीय हुनेले १ लाख ५० हजार र तृतीय हुनेले १ लाख रुपैयाँ पाउने छन् । सर्वोत्कृष्ट र अनुशासित खेलाडीलाई पाँचरपाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार खेलाडीलाई आवास र भत्ताको समेत व्यवस्था गरिएको छ ।
सात दिनसम्म सञ्चालन हुने मेलामा पाँच लाख धार्मिक पर्यटक भित्रिने र १ करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य लिइएको छ । साथै मावि (कक्षा १० सम्म) स्तरीय सामूहिक नृत्य, छेलो लगायतका प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा