
काठमाडौँ । ऊर्जा दक्षतामैत्री भवन निर्माणमा जोड दिइएको छ ।
सम्बन्धित विज्ञहरुले न्यून तापक्रम हुने उच्च हिमाली वा पहाडी क्षेत्रमा निर्माण भएका भवनलाई तताउन र तराई क्षेत्रमा निर्माण भएका भवनलाई चिसो बनाउनको लागि अधिक ऊर्जा खपत हुने गरेको हुँदा घर तथा भवन निर्माण गर्दा भौगोलिक अवस्थिति, हावापानी, उचाइ र तापक्रमअनुसार डिजाइन गरिनुपर्नेमा जोड दिएका हुन्।
युरोपेली युनियनको सहयोगमा ‘बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल’ (बीन) द्वारा आयोजित कार्यक्रममा एकपटक ठूलो लगानीमा निर्माण गरिएको भवन वर्षौंसम्म टिकाउ हुने हुँदा त्यसलाई ऊर्जामैत्री बनाउन सकिएमा आर्थिक, वातावरणीय र स्वास्थ लाभ लिन सकिने उहाँहरुको भनाई छ ।
कार्यक्रममा घर तथा भवन निर्माणमा हुने ऊर्जा खपतबारे गरिएको अध्ययन प्रतिवेदन, ऊर्जा दक्ष भवन डिजाइन कसरी गर्ने भनेर सिकाउने स्रोत पुस्तिका (म्यानुअल) को विमोचन गरिएको थियो । भौगोलिक उचाइ र तापक्रम अनुसार विभिन्न स्थानका १ हजार ४६१ घर तथा भवनमा गरिएको अध्ययनमा घर तथा भवनको आकार प्रकार, बत्ती बाल्न, घर तताउन र चिसो बनाउने ऊर्जाको खपतको अवस्था, नवीकरणीय ऊर्जाको प्रयोग, स्थानीयमा ऊर्जा दक्षताबारे जानकारी र धारणालगायतका विषयमा विस्तृतमा जानकारी दिइएको छ । अध्ययनले ऊर्जा दक्षता मापदण्डअनुसार घर तथा भवन निर्माण गर्ने हो भने ऊर्जा खपत २० देखि २५ प्रतिशतसम्म घटाउन सकिने उल्लेख छ ।
ऊर्जा दक्ष भवन डिजाइनको निर्देशक स्रोत पुस्तिकामा ऊर्जा खपत, नयाँ प्रविधिको प्रयोगले हुने फाइदा, छानो तथा पर्खाल र प्राकृतिक भेन्टिलेसन, झ्यालको अवस्थितिलगायतका विषयमा उल्लेख गरिएको छ । यसमा बढ्दो शहरीकरण र बजार माग अनुसार भवनको डिजाइन कसरी गर्नेदेखि स्थानीय जलवायु, बढ्दो ऊर्जा खपतलगायतलाई विषयलाई समेटिएको छ ।
कार्यक्रममा बीन कार्यक्रमका टिम लिडर सुयेश प्रजापतिले तराई, पहाड र हिमाली क्षेत्रका करिब १४ सय घरधुरीमा गरिएको अध्ययनबाट आवासीय घर, कार्यालय भवन तथा होटल एवं व्यापारिक भवन निर्माण गर्दा निर्माण सामग्री, झ्याल तथा ढोका राख्ने, गाहे, ऊर्जाको प्रयोग, प्राकृतिक उज्यालोजस्ता विषयहरुमा ध्यान पुग्न नसक्दा अनावश्यक खर्च, कोठा तताउन एवं चिस्याउन र उज्यलाकोका लागि विद्युत्ेको खपतमा वृद्धि हुने गरेकाले ऊर्जामैत्री भवन निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईले ऊर्जाको दक्षतापूर्ण प्रयोग वृद्धि गर्न देशभर निर्माण हुने घर तथा भवनहरुको डिजाइनमा विशेष ध्यान पुयाउनुपर्नेमा जोड दिंदै यस कार्यक्रममार्फत सबै स्थानीय तहमा जनचेतना जगाउन र कानूनी अवधारणा कार्यान्वयनमा ल्याउन सहयोग पुग्ने धारणा राख्नुभयो । बीन कार्यक्रमका प्रमुख ड्यानियल नियरले नयाँँ मापदण्डको सही कार्यान्वयनबाट अव्यवस्थित शहरीकरण एवं असुरक्षित निर्माण कार्यहरूबाट उत्पन्न हुने समस्याहरू निराकरण गर्न सहयोग पुग्ने बताउनुभयो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले ऊर्जा दक्षताबारे मापदण्डलाई सबै नगरपालिकाले कार्यान्वयनमा ल्याउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा युरोपियन युनियन अन्तर्गत स्वीच एसिया कार्यक्रमको सहयोगमा बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल ९बिइइएन० कार्यक्रममार्फत मार्च २०२२ देखि फेब्रुअरी २०२६ सम्म कार्यान्वयनमा रहने यस कार्यक्रमले बागमती, लुम्बिनी र गण्डकी प्रदेशका ६० वटा स्थानीय सरकारसँगको सहकार्यमा ऊर्जा दक्ष तथा नवीकरणीय ऊर्जा प्रयोग गरी आठवटा नमूना भवन निर्माण तथा २०० वटा भवन निर्माणमा सहजीकरण गर्नेछ ।
धुलिखेल नगरपालिकाद्वारा ऊर्जा दक्ष भवन मापदण्ड लागू
धुलिखेल नगरपालिकाले ऊर्जा दक्ष भवन मापदण्ड २०८० कार्यान्वयनमा ल्याएको छ । कार्यक्रममा नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जुले मापदण्डलाई अब क्रमशः कार्यान्वयन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । सो कार्यक्रममा उहाँँले सो मापदण्डअनुसार वडा नं ३ को वडा भवन ऊर्जामैत्री बनाउन शुरु गरिएको जानकारी दिंदै दिगो सहरी विकासको अभ्यासलाई देशभर नै विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । प्रमुख ब्याञ्जुले सो नगरपालिकालाई जिरो कार्बन, अपाङ्गमैत्री, हरित ऊर्जायुक्त हरित एवं स्वस्थ्य शहरको रुपमा विकास गर्न लागिएको जानकारी दिनुभयो ।
यसअघि पोखरा महानगरपालिकाले केही महिनाअघि ऊर्जा दक्ष भवन मापदण्डलाई पारित गरेको थियो । बढ्दो शहरीकरण र जनसङ्ख्याको चापलाई मध्यनजर राख्दै पोखरा महानगर क्षेत्रभित्र गरिने निर्माणसम्बन्धी मापदण्डलाई समय सापेक्षरूपमा परिमार्जन तथा संशोधन गर्ने क्रममा महानगरपालिका १३ औँ नगरसभाबाट मापदण्ड लागू गर्ने निर्णय गरेको थियो । यस मापदण्डमा भवन निर्माणमा विद्यमान प्रविधि तथा अभ्यासलाई ऊर्जा प्रभावकारी तथा वातावरणमैत्री बनाउने कुरामा स्पष्ट व्यवस्था गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भाजपाका विदेश विभाग प्रमुख चौथाईवा काठमाडौँमा
- नागरिक उन्मुक्ति र जनमत पार्टीको एकीकरण घोषणा स्थगित
- रेशम चौधरी पक्राउ
- डोटीमा माइक्रोबस दुर्घटना: १ जनाको मृत्यु ६ जना घाइते
- सरकार र आन्दोलनरत शिक्षकबीच निर्णायक वार्ताको तयारी
- सत्तापक्षीय दलको बैठक बालुवाटारमा जारी
- राष्ट्रपति पौडेलले शुक्रबार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने
- नेपालमा मानव अधिकारको अवस्था झन् खस्कियो : एमनेस्टी इन्टरनेसनल
- प्रधानमन्त्रीलाई मेटमणीको चेतावनी : सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला
- प्रधानमन्त्रीले १० महिनासम्म सम्पती विवरण किन नबुझाएको ?