+

कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीका लागि कोशी प्रदेश अनुकुल रहेको बताउनुभएको छ । शान्तिसुरक्षा, श्रमिक र लगानीकर्ताहरूबिच सुमधुर सम्बन्ध, विद्युत्, सडकलगायत पूर्वाधार आदिका हिसाबले कोशी प्रदेश निकै अनुकुल रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।



कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनको बिहीबार विराटनगरमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले पूर्वपश्चिम राजमार्ग तथा समानान्तर ढगबाट मदन भण्डारी राजमार्ग, मध्यपहाडी राजमार्ग र हुलाकी राजमार्गजस्ता वैकल्पिक सडक सञ्जालको विकासले उत्पादित वस्तुलाई सहजरूपमा बजारमा लैजान सकिने अवस्था रहेको बताउनुभयो । लगानीका लागि आवश्यक पर्ने कानुनी अवस्था र अन्य विषयहरूलाई सरकारले सरल बनाइएको प्रधानमन्त्रीले बताउनुभयो ।

‘‘कोशी प्रदेशमा सबैतिर सडक सञ्जाल जोडिएकाले कच्चा पदार्थ ढुवानी र उत्पादनलाई बजारसम्म पुर्‍याउन कुनै समस्या छैन, हुलाकी राजमार्गअन्तर्गत कनकाई र कमलामा पुल निर्माण भएलगत्तै चितवनसम्म सहज पहुँच हुने अवस्था छ, माथिल्लो तर्फ एसियन मापदण्डको राजमार्ग निर्माण भइरहेकोले लगानी सुरु गर्दा बजारसम्म सामान पुर्‍याउँदा राजमार्ग तयार भइसक्छ । मदन भण्डारी राजमार्ग, कोशी, तमोर, किमाथांका, टिप ताला नाकाजस्ता स्थानहरू खुला भइसकेको र कोशी कोरिडोर निर्माण भइरहेकोले जहाँसुकै सामान ढुवानी गर्न सकिने अवस्था रहेकोले लगानी गर्न डराउनु पर्दैन, ढुक्क भएर लगानी गर्नुहोस्,’’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

देशमा सामान ल्याउन र लान कुनै हिसाबले नरोकिने, आफ्नो उत्पादनको बजार कोशी प्रदेशका विभिन्न कोरिडोर र नाकामा लान सकिने, सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रका साथै सगरमाथासहित विभिन्न हिमाल र जडिबुटीहरूको थलो भएकाले कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतबाट जलमार्गको प्रयोग गरी सामान ढुवान गर्ने प्रक्रिया फेरि सुरु गर्ने बताउनुभयो । गङ्गा नदीहुँदै कोशी र कर्णाली नदीसम्मको जलमार्गको प्रयोग गरी वस्तु ढुवानी गर्ने भन्दै उहाँले त्यसको प्रक्रिया सुरु गर्ने जानकारी दिनुभयो । गङ्गा नदीसम्म दुई नदीबाट नेपालसँगको कनेक्टिभिटी गर्ने उहाँको भनाइ थियो ।

प्रधानमन्त्रीले श्रमिक र रोजगारदाताबिच समस्या देखिए पनि सहजै समाधान हुने र अन्तर्राष्ट्रिय श्रम सङ्गठन ९आइएलओ०को सिद्धान्तअनुसार सन्धि कार्यान्वयन भएकाले आइएलओले नेपालको प्रसंसा गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विराटनगर विमानस्थलको लम्बाइ विस्तार गर्न सकिने भन्दै बुढीखोलामा पुल बनाएर र बुढीखोलालाई अझ फराकीलो बनाएर विमानस्थलको रनवे विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले सुर्खेत विमानस्थलको विस्तारलाई पनि सरकारले प्राथमिकतामा राखेको बताउनुभाये ।

प्रधानमन्त्री ओलीले उद्यमशीलता दशक मनाउन सकिए रोजगारी दशक सफल हुने उल्लेख गर्दै भन्नुभयो, “म युवाहरूलाई भन्न चाहन्छु, जागिरको खोजीमा नभौँतारिनुस्, उद्यमशीलतामा लाग्नुस् । त्यसका लागि सोच, तालिम र सहयोगमा सरकारले साथ दिन्छ ।’’ प्रधानमन्त्री ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथालाई सगरमाथाकै नामबाट विश्वमा ब्रान्डिङ गर्न आग्रह गर्दै ‘माउन्ट एभरेस्ट’ भनिरहन नपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको मान्यताअनुसार श्रमको सम्मान दिन तथा रोजगारादाता र श्रमिकबिच संवादका साथै ट्रेड युनियन अधिकारको रक्षाका लागि नेपाल सरकार स्पष्ट रहेको पनि लगानीकर्तालाई अवगत गराउनुभयो । प्रधानमन्त्री ओलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितले स्वागत गर्नुभएको थियो ।

लगानी सम्मेलनको अध्यक्षता गर्नुहुँदै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार लगानीकर्ता र निजीक्षेत्रको वारेस बस्न तयार रहेको बताउनुभयो । उहाँले कोशी प्रदेशमा आएका लगानीलाई सुरक्षित गर्न र लागनीका लागि भएका झन्झटहरू अन्त्य गर्न प्रदेश सरकारले विभिन्न ८ वटा कानुनहरू अध्यादेशमार्फत संशोधन गरेको जानकारी दिनुभयो । मुख्यमन्त्री कार्कीले लगानी सम्मेलनबाट निजी क्षेत्र उत्साहित बनेको  जानकारी दिुनभयो । कोशी प्रदेशमा जारी लगानी सम्मेलनमा विभिन्न ८ वटा क्षेत्रका ७१ वटा परियोजनाहरू सोकेसमा राखिएको पनि उहाँले जानकारी दिनुभयो । उहाँले एक वर्षसम्म निरन्तर निजी क्षेत्रसँग समन्वय र छलफल गरेपछि परियोजनाहरू छनोट गरिएको पनि बताउनुभयो ।

यसैबिच उक्त कार्यक्रममा उपस्थित हुनुभएका मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले युवाहरूको पलायन रोक्न नेपालमा उद्योग र पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले उद्योग र पर्यटनमा लगानी गरेर युवाहरूलाई रोक्न नसके देश अझपछि पर्दै जाने भएकोले पर्यटन र उद्योगमा लगानी बढाएर युवाहरूलाई स्वदेशमै रोजगारीको अवसरका सिर्जना गर्नुपर्ने बताउनुभयो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले कोशी प्रदेशजस्तै कर्णाली पनि धेरै हिसाबले समृद्ध रहेको बताउनुभयो । उहाँले कोशी प्रदेशले आयोजना गरेको लगानी सम्मेलनबाट सिक्नका लागि आफूले धेरै विषय प्राप्त गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रदेश प्रमुख पर्शुराम खापुङ, गैरआवासीय नेपाल सङ्घका अध्यक्ष बद्रि केसी, कोशी प्रदेशसभा प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर आङ्बो, पूर्व मुख्यमन्त्रीहरू राजेन्द्र राई, उद्धव थापा, शेरधन राईलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । 

कोशी प्रदेश लगानी सम्मेलनमा बिहीबार साँझ लगानीकर्ता तथा विज्ञहरूसमेतको सहभागितामा नलेज सेयरिङको सेसन सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ । त्यस्तै शुक्रबार बिग होटल र रत्ना होटलमा थिमेटिक सेसनहरू सञ्चालन हुने छन् । ती थिमेटिक सेसनहरूमा लगानीकर्ताहरूले आफ्नो आवश्यकता अनुसार सहभागिता जनाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै