
काठमाडौँ । बबरमहलस्थित नेपाल कला परिषदमा पाँच महिला कलाकारले संयुक्त कला प्रदर्शनी शुरु गर्नुभएको छ । ‘टुगेदरनेस’ शीर्षकमा शुरु भएको प्रदर्शनीमा अवलोकनकर्ताले कलाकृतिबारे खुलेर प्रशंसा गरेका छन् ।
प्रदर्शनीमा कृति शाह चन्द, कीपा राणा, पूजा अग्रवाल, सन्ध्यासिंह महर्जन र सगुन शाह सिंहका सृजना राखिएको छ । प्रदर्शनी चैत २५ गते सञ्चालन हुनेछ ।
कलाकार कृति शाह चन्दले आफूले आरोह अवरोह शीर्षकको अमूर्त कलामा मानवीय जीवनका उतारचढावलाई क्यानभासमा उतारेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘मान्छेको जीवनमा सुख, दुःखसहितका उतारचढाव आइरहन्छ, त्यसलाई आत्मसात् गर्दै अघि बढ्नुपर्छ भन्ने सन्देश कलामार्फत प्रस्तुत गर्ने प्रयास गरेकी हुँ ।’ उहाँले आफूले जीवनमा भोगेका विभिन्न परिस्थितिलाई कुचीमार्फत क्यानभासमा उतारेको सुनाउनुभयो । उहाँका पारसमणि, अटुमन लभ, शान्तिको प्रतिक स्वयम्भूनाथलगातका कला प्रदर्शनीमा राखिएको छ ।
कलाकार कीपा राणाले दैविशक्तिको सशक्त धारलाई क्यानभासमा उतार्नुभएको छ । उहाँले भन्नुभयो– ‘म शिवजीको भक्त हुँ, उहाँका सबै स्वरुपहरु चित्ताकर्षक लाग्छन्, त्यही समर्पण भावलाई कलामा समेट्ने प्रयास गरेकी हुँ ।’
पौभा कलालाई मूलधारमा समेट्दै अघि बढ्नुभएकी कलाकार सन्ध्यासिंह महर्जनका कलाले पनि धेरैको मन तानेको छ । नेपाली कलाको धरोहर मानिने लोककला विधाको पौभामा उहाँका कृति उत्कृष्ट देखिएका छन् । उहाँले भन्नुभयो– ‘सहस्रभुजा लोकेश्वरको पौभा बनाउन साढे दुई वर्ष लाग्यो, महाकालको पौभा कला बनाउन दुई वर्ष लाग्यो ।’ उहाँको ‘न्यूड आर्ट’मा पनि धेरै अवलोकनकर्ताले रुचिपूर्वक हेरेका थिए ।
कलाकार पूजा अग्रवालले आफूले यथार्थ र भ्रमको परिकल्पनाका आधारमा कला सिर्जना गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘वास्तविक जीवनमा हामीले भगवान्को स्वरुप देखेका छैनौँ र सानो छँदा आमाले सही र गलतबीचको फरक फूलको बिरुवाको उदारहण दिँदै बताउनुभएको थियो, त्यसैलाई कल्पना गर्दै क्यानभासमा उतारेकी हुँ ।’
कलाकार सगुन शाह सिंहको कलामा भगावन् गणेशका अनेक भावहरु समेटिएका छन् । मनमोहक गणेश, सौम्य गणेश, रङ्गीन स्वभावका गणेशका चित्र र चरित्रहरु क्यानभासमा उतारिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सानैदेखि म गणेश भगवान्को व्रत बस्थे, गणेश भगवानप्रतिको लगाव नै चित्रहरुमा कुँदिएका छन् ।’
ललितकला गुठीको आयोजनामा शुरु भएको प्रदर्शनीले महिला कलाकारको सामूहिकता र कलाको निखारता दुवैलाई एकसाथ समेटेको गुठीका संस्थापक उत्तम डङ्गोलले बताउनुभयो ।
वरिष्ठ कलाकार शशिविक्रम शाह नारी शक्ति पुरुष शक्तिभन्दा सशक्त रहेको टिप्पणीे गर्नुभयो । महिलाको संयुक्त प्रयासले समाजमा कलामार्फत गहन प्रभाव पारेको उहाँको भनाइ छ ।
वरिष्ठ साहित्यकार पद्मावती सिंहले सबै महिला कलाकारको संयुक्त प्रयासले कला पारखीको मन छुन सफल भएको बताउनुभयो ।
प्रदर्शनीका क्युरेटर स्मृति कर्माचार्यले महिलालाई कला क्षेत्रमा अघि बढाउनका लागि यसले सहयोग गरेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- ७ बुँदे प्रस्ताव ल्याउँदै मन्त्रालय, आन्दोलन नरोक्ने अडानमा शिक्षक
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा
- दिगो विकास कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब आवश्यक