
काभ्रे । गत असोजको दोस्रो साताको बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गमा अहिले तत्कालका लागि खोलाको बगरैबगर बनाएको वैकल्पिक बाटोमा सवारीसाधन सञ्चालन भइरहेको छ ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ चौकीडाँडाबाट सिन्धुलीको सिमाना बर्खेखोलासम्म अहिले त्यसरी वैकल्पिक सडक बनाएर खोलाको बगरैबगर सवारी सञ्चालन हुँदै आएको छ ।
काठमाडौँबाट पूर्वीतराई जाने छोटो दूरीको यात्रा बिपी राजमार्ग सबैको छनोटको गन्तव्य हो । तर बर्खायाम नजिकिएसँगै ती सडकमा सवारी सञ्चालन गर्न सकिने अवस्था नभएका कारण सडक डिभिजन भक्तपुर त्यसको विकल्पमा आउँदो बर्खायामलाई मध्यनजर गर्दै खोलाको सहतभन्दा माथि उठाएर वैकल्पिक सडक निर्माण गर्ने क्रममा छ । जसअन्तर्गत चौकीडाँडास्थित धेरै क्षतिग्रस्त बनेको खण्डमा खोलाको सतहदेखि माथि उठाएर वैकल्पिक बाटो निर्माणको काम भइरहेको छ ।
कार्यालयले दीर्घकालीन पक्की सडक निर्माण गर्न ठेक्का आह्वान गरेको भए पनि ‘विड ओपनिङ’ गर्ने, मूल्याङ्कन हुने र ठेकेदार फिल्डमा आउने प्रक्रिया नै बाँकी रहेकाले अहिले तत्कालका लागि वैकल्पिक सडक बनाउने क्रममा रहेको सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर दुर्गाप्रसादले बताउनुभयो ।
खोलाको उचाइ पनि बढेको र अहिले बगरमा नै गाडी गुडाइरहेको कारण बर्खामा असर हुने भएकाले खोलाको धार परिवर्तन गर्ने र सडकको उचाइलाई खोला सहतभन्दा माथि उठाएर भित्ताबाट चल्नेगरी काम भइरहेको छ । त्यसका लागि अहिले चौकीडाँडा खण्डमा तीव्रगतिमा काम भइरहेको छ । बाढीले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट सिन्धुलीको सिमानासम्ममा करिब आठ किलोमिटर सडक बगाएको थियो ।
‘तत्कालका लागि बगाएको सडक ग्राभेल गर्ने, सफा गर्ने र कतिपय स्थानमा खोलाबगर भएर चल्ने गरी बाटो बनाएका छौँ’ उहाँले भन्नुभयो– ‘अहिले जहाँजहाँ खोलाको सतह भएर बाटो बनाइएको छ, ती ठाउँमा खोलाको धार परिवर्तन गर्ने र भएको सतहभन्दा माथि उठाएर बाटो बनाउने क्रममा छौँ ।’
भक्तपुर सडक डिभिजनका कर्मचारी चन्द्रबहादुर लामाका अनुसार अहिलेसम्ममा मङ्गलटार नजिकैको बोक्सेकुना र चिउरीबासमा काम सम्पन्न भइसकेको तथा माम्ती, डालाबेँसी, नार्के, गिम्दीबेँसी, चार सयबेँसी र कटुञ्जे घुम्तीमा काम गर्न बाँकी छ । अहिले चौकीडाँडामा काम भइरहेकामा केही दिनमा नै सो खण्ड सम्पन्न हुने छ ।
त्यो कार्य सम्पन्न गर्न अहिले सडक डिभिजन कार्यालयबाट दुई इन्जिनियर, एक सबइन्जिनियरसहित ३० जना अपरेटर निरन्तर काममा छन् । आगामी वैशाखभित्र ती सबै काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको कार्यालयले जनाएको छ ।
त्यसरी सडक बनाएको खण्डमा बर्खायाममा पनि बिपी राजमार्गमा सवारीसाधन सञ्चालन हुने आशामा यात्री छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पेचिलो बन्दै शिक्षक आन्दोलन, शिक्षामन्त्रीद्वारा राजीनामा
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकहरुलाई अविलम्ब वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा