
काठमाडौँ । मुलुकमा शान्ति स्थापना होस् भन्ने कामनाका साथ पशुपति क्षेत्रमा गरिएको देशोद्वार पूजासहितको वत्सलेश्वरी जात्रा समापन भएको छ ।
आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट चैत ९ गते शनिबार चैत्र कृष्ण अष्टमीदेखि शुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाइएको छ । पशुपति क्षेत्रभर घुमाएपछि सोमबार राति जात्रा सकिएको पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले राससलाई जानकारी दिनुभयो ।
चैत्र कृष्ण अष्टमीका दिन चैत ९ गते शनिबार पशुपतिका भट्टले जात्रामा उपत्यकाका मुख्य देवदेवी एवं स्थानीयवासीलाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा गर्नुभएको थियो । यात्रामा यसरी निमन्त्रणा दिने लिच्छविकालदेखिको परम्परा रहेको डङ्गोलले बताउनुभयो । उहाँका अनुसार उपत्यकाका देवदेवीलाई निमन्त्रणा गरेपछि देशोद्वार पूजासमेत भनिने यो जात्रा सुरु भएको हो ।
जात्राअघि बज्रेश्वरी, वत्सलेश्वरी, आकाशभैरव, पशुपति क्षेत्रका नौ शक्तिपीठ लगायत स्थानमा देशोद्वार पूजा सम्पन्न गरिएको हो । चैत्र शुक्ल द्वितीयाका दिन सोमबार राति सिन्दुर जात्रा गरी वत्सलेश्वरी जात्रा समापन गरिएको छ । एघार दिनसम्म सञ्चालन भएको यो जात्रा पशुपति क्षेत्रका लामो जात्रामध्येको एक मानिन्छ ।
मुलुकमा शान्ति कायम होस् भन्ने कामनाले पूजा एवं जात्रा गरिएकाले दूध खाने बालक पनि यो जात्रा हेर्न आउँछन् भन्ने विश्वास पशुपति क्षेत्रमा गरिन्छ । देशोद्वार पूजा र जात्रामा चार थरका मानिस प्रत्यक्ष रूपमा संलग्न हुने गरेका छन् । उपाध्याय, वैद्य, डङ्गोल र सङ्गत गरी चार थर प्रत्यक्ष रूपमा सहभागी हुने गरेको डङ्गोलले सुनाउनुभयो ।
वत्सलेश्वरीलाई नक्साल भगवतीको दिदीका रूपमा पूजा आराधना गरिन्छ । भगवान् शिवको पत्नीका रूपमा पूजिने वत्सलेश्वरीलाई पशुपतिबाट निकालेको भन्ने किंवदन्तीका आधारमा सोमबार नक्साल भगवतीको जात्रा पनि पशुपति क्षेत्रमा लगिएको थियो । नक्साल भगवतीले भगवान् शिवको ध्यानाकर्षण गराउन सोमबार बेलुकी रथले पशुपतिको मूलढोकामा तीनपटक ठोकाएर फर्काउने प्रचलन रहिआएको छ ।
बहिनीले श्रीमान्को ध्यानाकर्षण गराएपछि वत्सलेश्वरी माता भने चैत्र शुक्ल प्रतिपदा अर्थात् आइतबार राति छोरा चन्द्रविनायककहाँ बस्न जाने परम्परा छ । यसै परम्परा अनुसार सोमबार वत्सलेश्वरीको रथ तानेर चाबहिल गणेशसमेत भनेर पुजिने चन्द्रविनायकमा लगिएको थियो । त्यहाँबाट आज पशुपति क्षेत्रका विभिन्न स्थानमा घुमाएर पशुपति अमालकोटमा ल्याई सिन्दुर जात्रा गरेपछि ११ दिन लामो जात्रा समापन गरिएको कोषको अमालकोट कचहरीका द्वारे डङ्गोलले जानकारी दिनुभयो ।
प्रत्येक वर्ष यो जात्रा मनाएमा जनतामा रोग व्याध नलाग्ने, सुख, शान्ति हुने विश्वास रहेको छ । यसै विश्वासले बालबालिका पनि जात्रा हेर्न पशुपति क्षेत्रमा आउने गरेका छन् ।
दूध खाने बालकसमेत जात्रा हेर्न आउने भएकाले यसलाई दुदु च्याँ च्याँ भन्ने नामले समेत चिनिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पेचिलो बन्दै शिक्षक आन्दोलन, शिक्षामन्त्रीद्वारा राजीनामा
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकहरुलाई अविलम्ब वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा