
काठमाडौँ । नेपालबाट चोरेर अमेरिका पुर्याएक २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तु फिर्ता गरिएको छ ।
यी मध्ये तीनवटा पौवा चित्र (१५–१८औँ शताब्दी) काठमाडौँस्थित इटुम्बहालबाट विसं २०३७ मा हराएका थिए । एउटा प्रस्तरबाट निर्मित स्थानक बुद्धको मूर्ति (नवौँ शताब्दी) बुङ्मतीको मच्छिन्द्रबहाल परिसरको चैत्यबाट हराएको थियो । साथै आर्ट इन्ष्टिच्युट सिकागोबाट फिर्ता भएको पाटनको गुइत टोलको गुइत चैत्यको प्रस्तरको मुछलिन्द बुद्धको मूर्ति थान–१ (१२÷१३ औँ शताब्दी) तथा अन्य १६ थान कलात्मक वस्तु (९–१९औँ शताब्दी) पनि नेपालका विभिन्न ठाउँबाट हराएर अमेरिका पु-याइएको थियो ।
अमेरिकाका विभिन्न सङ्ग्रहालय, अक्सन हाउस तथा व्यक्तिगत सङ्ग्रहमा रहेका त्यो वस्तु संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित घरबास सुरक्षा अनुसन्धान विभाग न्यूयोर्क एवं म्यानहटन जिल्ला न्यायधिवक्ताको कार्यालय न्यूयोर्कको सहयोगमा ती सामग्री प्राप्त भएको विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले जानकारी दिनुभयो ।
ती सामग्री संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित नेपाली वाणिज्यदूतावासका कार्यवाहक महाबाणिज्यदूत चक्रकुमार सुवेदीलाई फागुन १६ गते हस्तान्तरण गरिएको थियो । यी कलात्मक वस्तुको उत्पत्तिस्थल नेपाल भएको भनी यस विभागबाट प्रमाणित गरेपछि अन्तरराष्ट्रिय कानुनअनुसार नेपाल फिर्ता भएको पनि उहाँले बताउनुभयो ।
पुरातात्विक महत्वका कलात्मक वस्तु फिर्ता गराउन नेपाल सम्पदा पुनःस्थापना अभियान, आर्ट इन्ष्टिच्युट अफ सिकागो, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय र अर्थमन्त्रालय, प्रहरी प्रधान कार्यालय (इन्टरपोल शाखा) नक्साल, नेपालस्थित अमेरिकन राजदूतावास, लस्ट्स् आर्ट्स् अफ नेपाल, केशचन्द्र महाविहार संरक्षण समाज, इटुम्बहालले पनि सहयोग गरेको विभागले जनाएको छ । यी कलात्मक वस्तु अमेरिकाबाट नेपालसम्म ल्याउन न्यूयोर्कस्थित नेवाः गुठीले आर्थिक सहयोग गरेको जनाइएको छ ।
गुठीप्रति विभागले धन्यवाद व्यक्त गर्दै प्रशंसा पत्र पनि प्रदान गरेको छ । यसमा संलग्न सबैलाई विभागले धन्यवाद पनि दिएको छ । सांस्कृतिक कलाकृतिको दृष्टिले नेपाल प्राचीन कालदेखि नै समृद्ध छ । प्राचीन कालदेखिकै परम्परागत कलाकृति नेपालमा छन् । यहाँका लिच्छवि र मध्यकालीन कलाकृति विशिष्ट र विश्व प्रसिद्ध छन् । यही प्रसिद्धि र कलात्मक विशिष्टताको कारणले यी वस्तु विगतकालदेखि नै चोरीनिकासी हुने गरेको देखिन्छ । सन् १९५० पछि पूर्वी नेपालबाट केकति सांस्कृतिक सम्पदा बाहिरिए त्यसको अभिलेख नपाइएको विभागले जनाएको छ ।
सन् १९५० पछि यी सम्पदाको चोरी निकासी पनि तीव्र भएको थियो । समयक्रमसँगै चोरिएका मूर्तिको उत्पत्ति स्थलमा हुने महत्व र त्यस स्थलमा बसोबास गर्ने मानिसको मूर्तिप्रतिको धार्मिक र सांस्कृक्तिक आस्थाका कारणले यस्ता मूर्ति यथास्थानमै प्रतिस्थापन गर्नुपर्छ भन्ने मान्यता हाल विश्वव्यापी रुपमा विकास भएको छ ।
यसबाहेक विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कानूनले समेत चोरी भएर विदेशिएका यस्ता कलात्मक वस्तु उत्पत्तिको मुलुकमा फिर्ता गर्नुपर्ने व्यवस्था गरेको छ । यसले गर्दा नेपालभन्दा बाहिर गैरकानूनी रुपमा निकासी भएका सांस्कृतिक सम्पदा फिर्ता हुन थालेका छन् ।
सन् १९८६ देखि नेपालबाट हराएका पुरातात्विक तथा कलात्मक वस्तु विदेशबाट फर्कने प्रकियाको शुरुवात भएको छ । हालसम्म बेलायत, अष्ट्रिया, अमेरिका, चीन (तिब्बत), भारत, जर्मनी, अष्ट्रेलिया र इटलीबाट जम्मा १ सय ७७ वटा पुरातात्विक महत्वका मूर्ति तथा कलात्मक वस्तु विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्ति तथा सङ्घ संस्थाको प्रयासबाट नेपाल फिर्ता भइसकेका छन् ।
अमेरिका, फ्रान्स, बेलायत, चीन, अष्ट्रिया, अष्ट्रेलियाजस्ता देशबाट थप अरु केही कलावस्तु फिर्ताका लागि कूटनीतिक पहल भइरहेको पनि विभागले जनाएको छ । संयुक्त राज्य अमेरिकाबाट मात्र नेपालमा फिर्ता भएका पुरातात्विक महत्व भएका वस्तुको सङ्ख्या १ सय ४ पुगेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै