+

राजमार्गलाई ग्रामीण सडक सञ्जालमा जोड्दै

सिरहा । कुनै बेला साँघुरो सडक र सडकै छेउमा फुसको छाप्रो, त्यसभित्र ससाना पसल मात्रै देखिने सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिकास्थित ग्रामीण बजारहरुको स्वरुप यतिबेला फेरिएको छ । सडक डिभिजन कार्यालय लहान सिरहाले सिरहा–सप्तरी–उदयपुरको ग्रामीण बस्तीका सडक निर्माणमा तदारुकता देखाएपछि गाउँहरु विकासको मूलधारमा जोडिन थालेका छन् । 


बजारको स्वरुप फेरिएसँगै त्यस क्षेत्रका स्थानीयहरुमा पहिलाको भन्दा बेग्लै खालको उत्साह देखिन थालिएको छ । ‘पहिला बजार क्षेत्रमा साँघुरो सडक र फुसको छाप्रो, त्यहीभित्र सानासाना व्यवयासी मात्र थियो’ लक्ष्मीपुरपतारी गाउँपालिकाका श्याम यादव भन्नुहुन्छ– ‘तर अहिले सडक फराकिलोसँगै बजारमा ठूलठूला पक्की भवन र ठूलो पसलहरु खुल्न थालेका छन् ।’ कुनै बेला दुर्गम मानिने सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिकास्थित विद्यापती मार्गअन्तर्गत पर्ने छपरारी–पोखरभिण्डा–खुर्कियाही सडक छेउका बस्तीहरु सुगम क्षेत्र बनेका छन् । 

लक्ष्मीपुरपतारी गाउँपालिकालाई केही वर्षअघि सम्म दुर्गम क्षेत्रका रुपमा मानिथ्यो तर अहिले ती क्षेत्रले आफ्नो पुरानो पहिचान फेरेको छ । यतिबेला लक्ष्मीपुर पतारी क्षेत्र मधेस प्रदेशकै पर्यटकीय क्षेत्रका रुपमा विकास हुन थालेको छ । यसको प्रमुख कारण हो पूर्व–पश्चिम राजमार्गसम्म जोडिएको विद्यापती मार्ग सडकको कालोपत्र । पूर्व–पश्चिम राजमार्गलाई जोड्ने उत्तर दक्षिण ग्रामीण ती सडक कालोपत्र भएसँगै लक्ष्मीपुरपतारी क्षेत्रका स्थानीयवासीको अनुहारमा यतिबेला मुस्कान छाएको छ । 

पूर्व–पश्चिम राजमार्गस्थित छपरारीदेखि भारतीय सिमानाका बहहरीसम्मको त्यो सडक स्तरोन्नतिसँगै सडक डिभिजन कार्यालय लहान सिरहाले सडक कालोपत्र गरेपछि स्थानीयहरुलाई आवतजावतमा सहज मात्रै होइन, हिलो र धुलोबाट मुक्त भएका छन् । ‘छपरारी बजारदेखि बडहरीसम्मको पुग्न पहिला मोटरसाइकलमा डेढ घण्टासम्म लाग्दथ्यो’  पोखरभिण्डा गाउँका स्थानीय सन्तोष साह भन्नुहुन्छ, ‘तर सडक कालोपत्र भएपछि अहिले मुस्किलले १५ मिनेटमै पुगिन्छ ।’

सडक डिभिजन कार्यालय लहानले सिरहा, सप्तरी र उदयपुर जिल्लाका जीर्ण सडकहरुको स्तरोन्नतिसँगै कालोपत्रको कार्य तीव्र रुपमा अघि बढेसँगै दुर्गम मानिएका ग्रामीण क्षेत्र अहिले सुगम क्षेत्र बन्दै गएको छ । सडक निर्माण भएपछि विकासले गति लिनाका साथै हजारौँ युवाले स्थानीयस्तरमै रोजगारीको अवसर प्राप्त गरेका छन् । ‘पहिला पहिला सडक जीर्ण हुँदा सवारीसाधन त्यति नचल्दा गाउँमा उत्पादन भएको तरकारी सहज रुपमा लहान बजारसम्म पुर्याउन समस्या हुन्थ्यो’ लक्ष्मीपुर पतारीका श्रवण महतो भन्नुहुन्छ– ‘तर अहिले थुप्रै सङ्ख्यामा अटो रिक्साहरु चल्न थालेपछि ती बालीहरु बजार पुर्याउन सकिरहेका छौँ ।’ यसबाट किसानसमेत उत्साहित भएको उहाँको भनाइ छ ।

ववर्षौदेखि जीर्ण रहेको त्यो सडक स्तरोन्नतिसँगै कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ ।  १८ करोड ७४ लाख ९९ हजार  ९ रुपैयाँ लागतमा २०७९ असार २३ मा ठेक्का सम्झौता गरी काम शुरु गरेको सिद्धबाबा अम्भुजा जेभी काठमाडौँले सडक स्तरोन्नति तथा कालोपत्रको काम गरिरहेको छ । २०८२ असारसम्ममा त्यो सडकको काम सकिने समयावधि रहे पनि हालसम्म ९४ प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनीका प्रतिनिधि सब–इन्जिनियर नरेशकुमार मण्डलको भनाइ छ । उहाँका अनुसार गाउँ क्षेत्रमा १२ मिटर चौडाइ र गाउँबाहिर १० मिटर चौडाइ सडक स्तरोन्नति गरिहेको छभने गाउँ क्षेत्रमा नाला निर्माण गरिएको छ । 

निर्माणाधीन विद्यापती मार्गको निर्माण कार्य अन्तिम चरणमा रहेको डिभिजन सडक कार्यालय लहानका प्रमुख डिभिजनल इन्जिनियर आशुतोष कर्णले बताउनुभयो । प्राविधिक रुपमा केही ‘भेरियसन’ गर्नुपर्ने भएकाले सडकको बाँकी कार्य छिट्टै अगाडि बढाइने उहाँको कथन छ । 

यस्तै सप्तरीको सुरुङ्गा नगरपालिका–७ कदमहा चौक हुँदै चकदह, प्रमाणपुर र वडा नं १० पटेर्वा चोकसम्म निर्माणाधीन सडकको काम पनि तीव्र रुपमा भइरहेको छ । कूल  ८ किलोमिटर ५ सय मिटर लामो सो सडकमा हालसम्म करिब पाँच किलोमिटर सडक कालोपत्र गर्ने चरणमा पुगेको डिभिजन सडक कार्यालय लहानले जनाएको छ । 

गौरी पार्वती के एन्ड केजी जेभीले २०८१ मङ्सिर १७ गतेसम्म काम सक्नेगरी २०७९ मङ्सिर १८ मा  ठेक्का सम्झौता गरेकामा रकम सुनिश्चित नगरिँदा केही ढिलाइ भए पनि अहिले काम तीव्र रुपमा भइरहेको निर्माण कम्पनीका प्रतिनिधि इन्जिनियर भूपेन्द्र सिफैलया बताउनुहुन्छ । उहाँले थपिएको म्यादअघि नै काम सकिने गरी निर्माणको काम अघि बढेको बताउनुभयो ।

बलान नदीको छेउबाट निर्माण भइरहेको त्यो सडकले आवागमनमा सहजता मात्र नभई बलान नदीले बर्सेनि गर्दै आएको कटान र डुबानको समस्या समाधान हुने स्थानीयको बुझाइ छ । .‘हाम्रो लागि यो बाटो अत्यन्तै महत्वपूर्ण र वरदान नै बनेको छ’ बैरवनका स्थानीय जीवछ यादव भन्नुहुन्छ– ‘सडक निर्माण भएपछि गाडी गुडाउन पनि सहज हुन्छ र बर्खायाम बलान नदीले गर्ने कटान र डुबानबाट समेत बचाउँछ । यो हाम्रो लागि ठूलो उपलब्धि हो ।’

कूल  २७ करोड ८ लाख १६ हजार रुपैयाँको लागतमा निर्माण भइरहेको यस सडकको भौतिक प्रगति ३३ प्रतिशत रहेको निर्माण कम्पनीका प्रतिनिधि विश्व सुवेदीको भनाइ छ । 

यस्तै उदयपुरको पुरानो सडकसँग सप्तरी लोकमार्ग दूरी छोट्याउन २०२५ सालमा ‘ट्र्याक’ खोलिएको मोतिगढा–जोगीदह खण्ड निर्माणको कामले पनि तीव्रता पाएको छ । करिब १२ किलोमिटरको सो सडकलाई पनि कालोपत्र गर्ने गरी काम अघि बढेको डिभिजन सडक कार्यालय लहानका प्रमुख कर्ण बताउनुहुन्छ । 

कर्णका अनुसार नेपाल सरकारको निर्वाचन क्षेत्र रणनीतिक सडक योजनाअन्तर्गत सङ्घीय संसद्को एउटा निर्वाचन क्षेत्रमा कम्तीमा २५ र बढीमा ४० करोड रुपैयासम्मको लागतमा सडकहरु निर्माण भइरहेको छ । ती योजनाअन्तर्गत उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने सदरमुकाम गाईघाट जोड्ने जिल्लाकै पुरानो सडक मोतिगढा–जोगीदह खण्डमा कालोपत्र गर्न लागिएको छ । 

दुई लेनको सडक कालोपत्र गर्ने गरी २८ करोड ४३ लाख ४६ हजार रुपौँमा ठेक्का सम्झौता गरी धमाधम काम गरिरहेको छ । आवश्यक पर्ने रकम सुनिश्चित नगरिँदा त्रियुगा नगरपालिका–१, २ र ३ तथा चौदण्डीगढी नगरपालिका–१०, ९, २ र ५ को सुन्दरपुर हुँदै सप्तरीको फत्तेपुर जोड्ने ३० किलोमिटर सडकअन्तर्गत मोतिगढा–जोगीदह–रुपनीसम्मको करिब १२ किलोमिटरको सडक आव २०८१÷८२ को अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य पूरा हुन नसकेको निर्माण व्यवसायी मनिकुमार दाहालले बताउनुभयो । त्यो सडकलाई दुई लेनको बनाएर कालोपत्र गर्ने गरी अघिल्लो आवमा आर्थिक वर्ष काम वर्ष सुरु गरेको थियो । 

डिभिजन सडक कार्यालय लहानका इन्जिनियर सञ्जीव साहका अनुसार सडक स्तरोन्नतिसँगै चौडा पार्ने र दायाँबायाँ नाली निर्माण, ठूलासाना गरी २२ कलभर्ट निर्माण सम्पन्न भई नाला निर्माण गर्नेलगायत कामहरु भइरहेको छ । 

करिब २५ करोड रुपैयाँ भन्दा बढी लागत अनुमान रहेको त्यो योजनामा सरकारले चालु आवमा  अढाई करोड रुपैयाँ मात्र बजेट उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै