
स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री बनाउँदै आएको छ ।
गाउँपालिकाले नवप्रवर्तन साझेदारी कृषि कार्यक्रम अन्तरगत स्थानीय कच्चा स्रोतको व्यापारिक उपयोगिता सम्बन्धी परियोजनामार्फत गण्डकी प्रदेशसँगको साझेदारीमा हस्तकलाका सामग्री बनाउँदै आएको हो ।
आव २०७९ र ८० मा प्रदेशको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा परियोजना सञ्चालनमा आएको हो । एक करोड रुपैयाँ लागत साझेदारी रहेको उक्त परियोजनामार्फत व्यावसायिकता अभिवृद्धिका लागि हस्तकलाका सामग्री बनाउने ४५ दिने तालिम दिएको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले बताउनुभयो ।
फाइबरका लागि कच्चापदार्थको रुपमा केराको थाम आवश्यकपर्ने भएकाले किसानलाई निःशुल्क केराका बोट उपलब्ध गराएको उहाँले बताउनुभयो । ‘फाइबरका लागि केराको थाम आवश्यकपर्छ, यसलाई प्रशोधन गरी डोरी बनाइन्छ’ उहाँले भन्नुभयो– ‘४५ दिने तालिम लिएकामध्ये हाल दैनिक ज्यालादारीमा सात महिलाले नियमित रुपमा हस्तकलाका सामग्री बनाउँदै आउनुभएको छ ।’
किसानले लगाएको केराबाट उत्पादन लिइसकेपछि खेर जाने केराको थाम पालिकाले निश्चित शुल्क तिरेर खरिद गरिदिने गरेको उहाँले बताउनुभयो । गाउँपालिकाले फाइबरका लागि आवश्यक पर्ने कच्चापदार्थ केराको थाम उत्पादन गर्न पालिकाभित्रका किसानलाई मागका आधारमा बीस हजार केराका बेर्ना निःशुल्क वितरण गरेको थियो । पालिकाले किसानबाट प्रतिथाम २५ देखि ४५ रुपैयाँ सम्ममा खरिद गर्दै आएको छ ।
त्यसै खेर जाने केराको थामलाई प्रशोधन गरी विभिन्न हस्तकलाका सामग्री बनाउँदै आएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । बाहिरबाट आयात हुने अतिथि सत्कारका सामग्रीलाई निरुत्साहित गर्दै स्थानीय कच्चापदार्थको प्रयोग गरी यहीँ बनाइएका हस्तकलाका सामग्रीको प्रयोगमा जोड दिइएको अध्यक्ष थापाले बताउनुभयो ।
‘गाउँपालिकामार्फत अहिले खादा, गलैँचा, झोला बनाउँदै आएका छौँ’ अध्यक्ष थापाले भन्नुभयो– ‘अब गुणस्तरीय र बजारमा माग हुने किसिमका हस्तकलाका सामग्री उत्पादनमा जोड दिन्छौँ ।’ पछिल्लो समय बढ्दो प्लास्टिकजन्य फोहरकाकारण वातावरणमा असर भइरहेका बेला खेर जाने केराको थामको प्रयोगबाट हस्तकलाका सामग्री बनाएर प्रयोग गरिने अध्यक्ष थापाले बताउनुभयो ।
गाउँपालिकाले उत्पादन गरेको खाँदा, गलैँचा, मायाको चिनोसहित आगामी दिनमा फाइबरको झोला बनाउने तयारी गरेको छ । यहाँ उत्पादन भएका सामग्री गाउँपालिका आँफैले प्रयोग गर्ने र अन्यत्र पनि पठाउँदै आएको छ ।
गाउँपालिकाले दैनिक ज्यालादारी उपलब्ध गराउने गरी सात जनालाई रोजगारीसमेत दिएको छ । केराको फाइबरबाट बनाइएका हस्तकलाका सामग्रीको प्रयोगकर्ता बढ्दै गएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै