
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका रामबहादुर साउद ६ वर्षदेखि गाउँसम्म जोड्ने कालोपत्र सडक निर्माणको प्रतिक्षामा रहनुभएको छ ।
सुदूरपश्चिम प्रदेशको गौरवको योजनाअन्तर्गत सडक कालोपत्र गर्ने भनिए पनि अहिलेसम्म काम अगाडि बढ्न नसकेकोप्रति उहाँ असन्तुष्टि पोख्नुहुन्छ ।
‘सडक कालोपत्र गर्न ठेक्का भएको छ वर्ष नै बित्न लाग्यो’ उहाँले भन्नुभयो– ‘ठेक्काको जिम्मा लिएको निर्माण कम्पनीले काम नगर्दा खाल्डाखुल्डी भएको सडकमा हिँड्नुपरेको छ ।’ सडकको ठेक्का लागेको केही महिनापछि गाउँमा नाली निर्माणको काम थालिएको थियो । कमसल इँटा र बालुवा प्रयोग गरी नाली बनाउन थालेपछि चौतर्फी विरोध हुँदा वडाध्यक्षले नाली नै भत्काइदिएपछि निर्माण व्यवसायी त्यसपछि काममा नफर्केको उहाँ बताउनुहुन्छ ।
प्रदेश सरकारले कलुवापुर–बेलौरी सडकलाई बेलडाँडी हुँदै नायल सडकमा जोड्ने योजना अघि सारेको स्थानीय बासिन्दा बताउँछन् । योजना अघि सारेको आधा दशक बढी भइसके पनि काम अगाडि बढ्न नसक्नु विडम्बना भएको स्थानीय टेकबहादुर साउदले बताउनुभयो ।
‘सडक पूरै धुलाम्मे छ’ उहाँले भन्नुभयो– ‘धुलो माटो उड्ने भएकाले सडक नजिकका घरभित्रसम्म धुलो पुग्छ, धेरै जनामा धुलोबाट श्वासप्रश्वासको समस्या बढ्दै गएको छ ।’ सडकमा ठूलाठूला खाल्डाखुल्डी भएकाले वर्षात्मा ती खाल्डाखुल्डीमा पानी जम्दा दुर्घटना हुने भय बढ्दै गएको उहाँ बताउनुहुन्छ ।
हिउँदयाममा धुलाम्मे, वर्षात्का बेला हिलाम्मे हुँदा सडकमा हिँडडुल गर्न र सवारीसाधन चलाउन समस्या भएको स्थानीय बासिन्दाको भनाइ छ । वडाध्यक्ष बहादुरसिंह महरा कमसल काम गरिन थालेपछि स्थानीयको दबाबमा नाली भत्काउनुपरेको बताउनुहुन्छ ।
दोयम किसिमको इँटा र स्थानीय खोलाको कमसल बालुवा प्रयोग गरेर नाली बनाउन थालेपछि गुणस्तरीय काम गर्न नाली भत्काइएको उहाँले बताउनुभयो । तत्काल ठेक्का सम्झौताबमोजिम सडक स्तरोन्नति र कालोपत्रको कार्य नगरिए सङ्घर्षमा उत्रिनुको विकल्प आफूसँग नरहने अध्यक्ष महराले उल्लेख गर्नुभयो ।
पटकपटक पूर्वाधार विकास कार्यालयलाई सडक कालोपत्रको कार्य अगाडि बढाउन आग्रह गर्दै आए पनि ठेकेदारको लापरवाहीको हवाला दिएर पन्छिने गरेको उहाँ बताउनुहुन्छ । कलुवापुरबाट झण्डै सात किलोमिटर सडक स्तरोन्नतिसँगै कालोपत्र गर्न सन्तोषी–थेगिम जेभीले निर्माणको जिम्मा लिएको छ ।
सडक कालोपत्रका लागि रु एक करोड बढी बजेट रहेको जनाउँदै पूर्वाधार विकास कार्यालय महेन्द्रनगरका प्रमुख योगेन्द्रबहादुुर अधिकारी निर्माण व्यवसायीको उदासिनताका कारण काम अगाडि बढ्न नसकेको बताउनुहुन्छ । ‘काम अगाडि बढाउन ताकेता गर्दै आएका छौँ’ उहाँले भन्नुभयो– ‘गर्छु भन्ने अश्वासन दिन्छन्, देखिनेगरी प्रगति हुनसकेको छैन, सन्तुष्ट छैनौँ ।’
त्यही सडकको बन्साहबाट कलुवापुरसम्मको तीन किलोमिटर र चाँनदेवबाट कालागौँडीसम्मको तीन किलोमिटर सडक पनि कालोपत्रको कार्य हुन सकेको छैन । निर्माण व्यवसायीले कालोपत्र गरेको सडक बिग्रिन सुरु भइसकेको छ । ठुल्ठूला खाल्डा र अलकत्रा उप्कन थालेको छ । सडकखण्डको बन्साहबाट कलुवापुरसम्मको तीन किलोमिटर सडक निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अलपत्र परेको हो ।
त्यही सडकखण्डको ढक्का–चाँनदेउबाट कालागौँडीसम्मको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने तीन किलोमिटर सडक कालोपत्र गर्ने कार्य पनि अलपत्र अवस्थामा छ । सन्तोषी–थेगिम जेभीसँग विसं २०७८ साउन २० गते सडक कालोपत्रका लागि सम्झौता भएको थियो । ठेक्का सम्झौता भएको लामो समय बिते पनि सडक कालोपत्र गर्ने कार्य हालसम्म पूरा गर्न सकेको छैन ।
सडक कालोपत्रको कार्य सम्पन्न गर्न विसं २०८२ चैतसम्मको समयसीमा निर्धारण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै