
सिरहा । चुरे क्षेत्रका सामुदायिक दोहन रोक्न अनुसन्धान शुरु भएको छ । सडक निमार्णका लागि आवश्यक कच्चा सामग्री नियम विपरीत चुरे क्षेत्रका सामुदायिक वनबाट उत्खनन गरिरहेको गुनासो बढ्न थालेपछि डिभिजन वन कार्यालयले यससम्बन्धी अनुसन्धान शुरु गरेको हो ।
गोलबजार नगरपालिका–१० स्थित चुरे चौफाल सातपत्रे सामुदायिक वन क्षेत्रबाट अवैध रुपमा माटो तथा ‘ग्राभेल’ उत्खनन गरी बिक्री गरेको विषयमा स्थानीयले केही दिनअघि विरोध गरेका थिए । स्थानीय भीमबहादुर थापासहित २६ जनाले प्राकृतिक स्रोत र साधनको अवैध दोहन भइरहेको भन्दै कारबाहीको माग गरी वडा कार्यालयमा निवेदन दिनुभएको थियो ।
त्यही आधारमा वडाले पनि वन कार्यालयसहितका निकायलाई अनुसन्धानका लागि पत्राचार गरेको थियो । डिभिजन वन कार्यालयका प्रमुख शैलेन्द्रकुमार मिश्रले आफूहरुले जानकारी पाउनासाथ अनुसन्धान शुरु गरेको बताउनुभयो । उहाँले अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेकाले यस क्रममा दोषी देखिएका जो कसैलाई पनि कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘नियम विपरीत उत्खनन प्रक्रियामा संलग्न जो सुकै पनि कारबाहीको दायरामा आउँछन्, चाहे त्यो वन उपभोक्ता समितिका पदाधिकारी हुन् वा निर्माण व्यवसायीका प्रतिनिधि हुन्, चाहे जनप्रतिनिधि नै किन नहुन् ? हामीले अनुसन्धान शुरु गरिसकेका छौँ, दोषी देखिने सबै कारबाहीको दायरामा आउँछ ।’
गोलबजार–७ चोहर्वा बजारदेखि वडा नम्बर १० धरमपुरको घुर्मीघाटसम्म बाटो निर्माण गरिरहेका कम्पनीलाई वन फँडानी गरेर माटो तथा ग्राभेल बिक्री गर्दै आएको स्थानीय थापाको भनाइ छ । रातको समयमा वनभित्रै स्काभेटर लगेर सखुवा (साल) को रूख ढाल्दै ग्राभेल उत्खनन गरी टिपरमा ओसार्ने गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘उत्खननका क्रममा ढलेको सालका रूख पनि टिपरमा ‘लोड’गरी स्थानीय काष्ठ उद्योगमा बिक्री हुने गरेको छ ।’
पछिल्लो समय सिरहामा राष्ट्रिय गौरवका योजनाका नाममा राष्ट्रिय वन, सामुदायिक वन, खोला तथा निजी आवादी जग्गाबाट अवैध रुपमा ग्राभेल उत्खनन गरी सडक निर्माण हुने क्रम बढ्दो मात्रामा रहेको स्थानीयको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै