
चितवन । पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको घाँटीको क्यान्सरका कारण निधन भएको थियो । नेपालमा अस्पताल नहुँदा विदेशमा उपचार गर्नुपर्ने बाध्यता थियो । बिपीका कान्छा भाइ गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उहाँले चीन भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री ली फङ्गसँगको भेटमा नेपालमा क्यान्सर अस्पताल स्थापनाका लागि आग्रह गर्नुभएको थियो ।
तत्कालीन समयमा नेपाली कांग्रेस चितवनका सभापति रहनुभएका टेकप्रसाद गुरुङका अनुसार कोइरालाको आग्रहलाई चिनियाँ प्रधानमन्त्रीले स्वीकार गर्नुभयो र नेपालमा चीनको सहयोगमा एशियाकै नमूना अस्पताल बनाउने अभियान शुरु भयो । विगतलाई सम्झँदै गुरुङले भन्नुभयो– ‘गिरिजाबाबुलाई गणेशमानजीहरुले धुलिखेलमा क्यान्सर अस्पताल स्थापना गर्न सुझाव दिनुभएको रहेछ ।’ नेपालमा क्यान्सर अस्पताल स्थापना गर्ने भन्ने सुनेपछि दलबलसहित प्रधानमन्त्री कोइरालालाई भेट्न गुरुङको टोली पुगेको थियो ।
शुरुमा धुलिखेलको कुरा कोइरालाले गरेपछि गुरुङको समूहले चितवनमा गर्नुपर्ने र जग्गा व्यवस्थापन गर्न सकिने भनेपछि कोइराला सकारात्मक हुनुभएको थियो । गुरुङले भन्नुभयो– ‘गिरिजाबाबुलाई टेकप्रसादले पेल्यो अब सकिन्न भन्नुभयो र यहाँ क्यान्सर अस्पताल आयो ।’ भरतपुरमा बागवानी फार्मको ७५ बिगाहा १० कट्ठा जग्गा रामपुर कृषि क्याम्पसलाई दिइएको थियो । त्यही जग्गा मन्त्रिपरिषद्ले निर्णय उल्ट्याएर क्यान्सर अस्पताललाई दिएको गुरुङ बताउनुहुन्छ ।
यसरी स्थापना भएको क्यान्सर अस्पतालले चितवनका मात्रै होइन, देशभरि र भारत, भूटान, म्यान्मासम्मका बिरामीलाई उपचार सेवा दिँदै आएको छ । गुरुङले भन्नुभयो– ‘यसले चितवनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चिनाउन मद्दत गरेको छ ।’ बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिका अध्यक्ष डा विजयराज न्यौपाने नेपालमै क्यान्सरको उत्कृष्ट उपचारको केन्द्र यो अस्पताल रहेको बताउनुहुन्छ । अस्पतालले उपचार त गरेको छ नै यसले यहाँको आर्थिक क्षेत्रलाई समेत चलायमान बनाएको उहाँ बताउनुहुन्छ ।
उहाँले भन्नुभयो– ‘यहाँबाट दैनिक ३०–४० वटा बस देशका विभिन्न शहरमा पुग्ने गर्दछन् ।’ अस्पताल वरपर १५० हाराहारी होटल रेष्टुरेन्ट चलेका छन् भने ६० हाराहारी औषधि पसल छन् । समग्रमा आर्थिक क्षेत्रलाई चलायमान बनाउने काम पनि अस्पतालले गरेको छ । भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष विजय सुवेदी यहाँ क्यान्सर अस्पताल स्थापना हुँदा न्यून बिरामी भरतपुर अस्पताल र मेडिकल कलेजले उपचार दिने गरेको बताउनुहुन्छ ।
उहाँको भनाइमा त्यतिबेला बिरामीको खासै चाप हुँदैनथ्यो । क्यान्सर अस्पताल स्थापना भएसँगै निजी अस्पताल खुलेका, देश र विदेशबाट यहाँ बिरामी उपचार गर्न आउने गरेको उहाँ बताउनुहुन्छ । यो क्यान्सर अस्पतालले स्वदेश र विदेशससम्म चितवनलाई चिनाएको उहाँको भनाइ छ ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल भरतपुरलाई मेडिकल सिटीका रुपमा विकास गर्न क्यान्सर अस्पतालको महत्वपूर्ण भूमिका रहेको बताउनुहुन्छ । अस्पतालको सञ्चालक समितिमा रहेर सात वर्ष काम गरेको भन्दै उहाँले यहाँ नेपाल र छिमेकी देशबाट बिरामी आउने गरेको बताउनुभयो ।
यहाँका अन्य अस्पतालमा आएका बिरामीलाई समेत क्यान्सर आशङ्का भएमा उपचार गर्न पाएको उहाँको भनाइ छ । अस्पतालले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा भरतपुरलाई चिनाएको उहाँ बताउनुहुन्छ । सङ्घीय अस्पताल भए पनि महानगरपालिकाले समेत सहयोग गर्दै आएको भन्दै उहाँले आगामी दिनमा अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न सके अझै यसको गरिमा बढ्ने बताउनुभयो ।
अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार अस्पतालमा बिरामीको चाप बढ्दै गएको बताउनुहुन्छ । अस्पतालमा आर्थिक वर्ष २०८०/८१ मा एक लाख ८८ हजार ५१४ बिरामीले बहिरङ्ग विभागबाट सेवा लिएका छन् । यो सङ्ख्या आर्थिक वर्ष २०७९/८० मा एक लाख ६६ हजार २०० रहेको थियो । यस्तै, आर्थिक वर्ष २०७८/७९ मा एक लाख ७४ हजार ९३५ रहेको थियो भने आर्थिक वर्ष २०७७/७८ मा एक लाख ३१ हजार ३०५ रहेको थियो ।
उहाँका अनुसार सोही अवधिमा अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये नयाँ क्यान्सरका बिरामीको समेत सङ्ख्या बढ्दो रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा छ हजार ७९५ नयाँ क्यान्सरका बिरामी पहिचान भएको उहाँले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९/८० मा यो सङ्ख्या छ हजार ४८० रहेको थियो । यस्तै आर्थिक वर्ष २०७८/७९ मा यो सङ्ख्या छ हजार ५३५ रहेको थियो भने आर्थिक वर्ष २०७७/७८ मा यो सङ्ख्या दुई हजार ९७९ रहेको थियो ।
अस्पतालको विसं २०५७ मा आजकै दिनबाट सेवा सुरु भएको हो । शुरुमा एक सय शय्याबाट थालिएको अस्पतालमा अहिले पाँच सय शय्या छन् । आठ सय ५० जना चिकित्सक तथा कर्मचारी कार्यरत छन् । अस्पतालमा बोनम्यारो प्रत्यारोपण बाहेकका सबै खालका क्यान्सरको उपचार हुँदै आएको छ ।
बोनम्यारो प्रत्यारोपण युनिट पनि चिनियाँ सरकारको सहयोगमा बन्ने क्रममा रहेको छ । साइक्लोटोनसहितको पेट स्क्यान ल्याउने तयारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन