
कञ्चनपुर । रेबिज सङ्क्रमणलाई शून्यमा झार्न शुक्लाफाँटा नगरपालिकाले घरपालुवा कुकुर र बिरालो सूचिकृत गर्न थालेको छ । नगरले खोप अभियान सञ्चालन गरी रेबिज सङ्क्रमण शून्यमा झार्ने उद्देश्यले कुकुर र बिरालो सूचिकृत गर्न थालेको हो ।
कुकुर तथा बिरालोको टोकाइबाट हुने रेबिज रोकथाम गर्न नगरपालिकाले वडा कार्यालयमार्फत सूचिकृत गर्ने कार्य गरिरहेको नगरपालिकाको पशु विकास शाखाका प्रमुख रामप्रसाद भट्टले बताउनुभयो । सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने उद्देश्यले योजनाबद्ध रुपमा कार्यक्रम सञ्चालन सञ्चालनको तयारी भइरहेको जनाउँदै सोही अनुसार पहिलो चरणमा सूचिकृत गर्न थालिएको उहाँले उल्लेख गर्नुभयो ।
‘सूचिकृत भएका कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप लगाउन सहज होस् भनेर सूचिकृत गरिएको हो’ भट्टले भन्नुभयो– ‘खोप अभियान सञ्चालन गरी रेबिजलाई शून्यमा झार्ने छौँ ।’ सूचिकृत गर्नका लागि आगामी कात्तिक ६ गते सम्मको समयसीमा निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो ।
सूचिकृत गर्ने काम सम्पन्न भएपछि त्यसको आधारमा रेबिजविरुद्धको खोप लगाउन वडावडामा टोली परिचालन गरिने शाखा प्रमुख भट्टले बताउनुभयो । बर्सेनि बहुलाएका स्यालले कुकुर र बिरालोलाई टोक्दा नगरपालिका क्षेत्रमा रेबिजको सङ्क्रमण बढ्दै गएको उहाँको भनाइ छ ।
दुई साताअघि मात्रै बहुलाएको स्यालले शुक्लाफाँटा–२ रानीपुरमा छजना मानिस र केही घरपालुवा कुकुरलाई टोकेको थियो । बहुलाएका स्यालले घरपालुवा कुकुर, बिरालो, जनावर तथा मानिसलाइ टोक्ने र त्यसबाट रेबिजको सङ्क्रमण सर्ने गरेको शाखा प्रमुख भट्टले बताउनुभयो । ‘जनचेतनाको अभावमा धेरै जनाले रेबिजविरुद्धको खोप नलगाएर घरमा बस्दा अन्यलाई सङ्क्रमण सर्ने जोखिम हुनाका साथै स्थानीयको मृत्यु समेतका घटना भएका छन्’ उहाँले भन्नुभयो ।
बहुलाएका स्याल, कुकुर, बिरालोलगायत जनावरले टोकेमा अनिवार्य रेबिजविरुद्धको खोप लगाउनुपर्ने भन्दै खोपबारे जनचेतना फैलाउन स्थानीय जनप्रतिनिधि, सरोकार भएका सङ्घसंस्थालगायत निकायले सहकार्य र समन्वय गर्नुपर्ने शाखा प्रमुख भट्टले जोड दिनुभयो ।
‘रेबिजको भाइरस शरीरमा प्रवेश गरेको एक सातादेखि एक वर्षभित्रमा शरीरमा सङ्क्रमण देखापर्ने गर्दछ । रेबिजविरुद्धको खोप नलिएमा लक्षण देखा परेका व्यक्तिलाई कुनै पनि हालतमा बचाउन सकिँदैन’ उहाँले भन्नुभयो ।
घरपालुवा तथा सामुदायिक (छाडा) कुकुर र बिरालोको बन्ध्याकरणसँगै रेबिजविरुद्धको खोप लगाउने कार्य सँगै गरिने शाखा प्रमुख भट्टले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै