
चितवन । सौराहाका होटल भिष्टाका सञ्चालक रमेश सिलवाल आफ्नो होटलको रङ्गरोगन र सरसफाइमा व्यस्त हुनुहुन्छ । अबको एक–दुई दिनमा काम सकेर पर्यटकको पर्खाइमा लाग्ने उहाँको योजना छ ।
कोठाभित्रको रङ्गरोगनको काम सक्ने तयारीमा रहनुभएका सिलवालले भन्नुभयो– ‘रङ्गरोगनको काम सकेर टायलमा पुटिन दल्ने काम शुरु गर्दैछौँ, एक दुई दिनपछि त पर्यटक बोलाउनु पयो नि ।’
बर्सातको समयमा सौराहा घुम्न आउने पर्यटकको सङ्ख्या निकै कम हुने गर्दछ । केही वर्षअघिसम्म सौराहाका होटल व्यवसायीले मजदुर कर्मचारीलाई यो समयमा बिदा नै दिने गर्दथे । सिलवालको भनाइमा आजभोलि थोरै पर्यटक भए पनि मजदूर कर्मचारी होटलमा रहने गर्दछन् ।
जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे पनि यतिबेला होटलको सरसफाइ, रङ्गरोगन, मर्मतसम्भारमा नै व्यस्त हुनुहुन्छ । उहाँले भन्नुभयो– ‘होटललाई राम्रो बनाउने काममा जुटिरहेको छु ।” असोज लागेपछि पर्यटकको आगमन बढ्ने उहाँको अनुमान छ । क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका घिमिरेको भनाइमा वर्षा घटेर बाटो राम्रो भएमा असोज पहिलो साताबाट पर्यटकको आगमन बढ्दै जाने छ ।
आफूले होटलको मर्मतसम्भारका सबै काम यो महिनाभित्रमा सक्ने तयारीका साथ काम भइरहेको उहाँको भनाइ छ । घिमिरेले भन्नुभयो– ‘अबका केही दिनमा हाम्रो बगैँचामा ढकमक्क फूल देख्न सक्नुहुन्छ ।’ पर्यटकलाई कसरी आकर्षण गर्ने भन्ने तयारीका साथ व्यवसायी जुटेका छन् ।
होटेल सेभेन लिमिटेडमा भने दुई सातादेखि पर्यटकको आगमन बढ्न थालिसकेको छ । होटलका प्रबन्ध निर्देशक सन्तोष पाठकले भन्नुभयो– ‘हाम्रोमा दुई सातादेखि पर्यटकको राम्रो आगमन हुन थालिसकेको छ ।’ वर्सातको समयमा पर्यटक कम हुँदा रङ्गरोगन र मर्मतसम्भारको काम गरिएको पाठकले बताउनुभयो ।
होटलको व्यवस्थापन पाठकसहितको समूहले लिएपछि पाँचतारे बनाउनेगरी काम थालिएको छ । उहाँको भनाइमा ९८ कोठा थप गरेर एक हजार क्षमताका दुई हलसहितका संरचना बनाउने तयारी थालिएको छ ।
रेष्टुरेन्ट एन्ड बार एसोसिएसनका पूर्वअध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहाका ८० रेष्टुरेन्ट मर्मतसम्भारको काम सकेर पर्यटकको पर्खाइमा रहेका छन् । करिब ३० हात्तीको व्यवस्थापन गर्दै आएको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्षसमेत रहनुभएका खतिवडाले सौराहाका सबै पर्यटन व्यवसायी नयाँ पर्यटकीय मौसममा पर्यटकको पर्खाइमा रहेको बताउनुभयो ।
क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलियाले बर्षातसँगै बिग्रिएको बाटोका कारण यो वर्षातमा पर्यटकको आगमनमा निकै कमी आएको बताउनुभयो । पर्यटनसँग सम्बन्धित व्यवसायी अबको मौसममा पर्यटकको राम्रो आगमन हुने अपेक्षासहित तयारीमा जुटेको उहाँले बताउनुभयो ।
सौराहामा एक सय ५० भन्दा बढी होटल रहेका छन् । ती होटलमा छ हजार पाँच सय जना अट्ने क्षमता रहेको छ । जङ्गल सफारीका लागि प्रसिद्धि पाएको चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा सौराहा रहेको छ । थपलियाले भन्नुभयो– ‘स्वदेशी र विदेशी पर्यटक अबको मौसममा पहिलेभन्दा बढ्ने हाम्रो अपेक्षा छ ।’
वर्षायाममा चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द हुने गर्दछ । असोज लागेसँगै निकुञ्जभित्रका पर्यटकीय सडक मर्मत गरेर जङ्गल सफारी खुल्ला हुने गर्दछ । चाडपर्वसँगै स्वदेशी पर्यटकको चहलपहल पनि पर्यटकीय क्षेत्रमा हुने गर्दछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- कर्मचारीको अवकाश उमेर अन्ततः ५८ वर्ष नै कायम हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन