
कैलाली । कैलालीको कर्णाली चिसापानी सोल्टा सडक जीर्ण बन्दै गएको छ ।
सुदूरपश्चिमको अछामसहित कर्णालीका आधा दर्जन जिल्ला पुग्न छोटो दूरीका रूपमा प्रयोग गरिने सोल्टा सडक जीर्ण बन्दै गएको हो । कैलालीबाट कोहलपुर हुँदै सुर्खेतको सदरमुकाम वीरेन्द्रनगर पुग्न करिब छ घण्टा लाग्छभने यो सडकबाट आधा समयमा वीरेन्द्रनगर पुग्न सकिन्छ । अछाम सदरमुकाम मङ्गलसेन पुग्न पनि यो सडकबाट झन्डै आधा दूरी कम हुन्छ ।
अछाम, सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगुसम्म अहिले पनि छोटो मार्गको रूपमा यही सडक प्रयोग हुँदै आए पनि सडक भने जीर्ण बन्दै गएको छ । सडक जीर्ण हुँदा हिँड्डुलमा सास्ती खेप्नु परेको स्थानीय पार्वती शाह खड्काले बताउनुभयो । ‘३० वर्षपहिलेदेखि यो सडकमा हिँडिरहेको छु’ उहाँले भन्नुभयो– ‘सडकको अवस्था अहिले पनि जस्ताको तस्तै छ ।’ सामान्य झरीले पनि पहिरो गएर सडक अवरुद्ध हुने गरेको सड्काले बताउनुभयो ।
सडक जीर्ण हुँदा जोखिम पूर्ण यात्रा गर्न बाध्य भएको गाडी चालक दीपक भण्डारीले बताउनुभयो । चिसापानीबाट सुर्खेतको गुटु, बाबियाचौरसम्म गाडी चलाउने गरेको बताउँदै उहाँले भन्नुभयो– ‘सानोतिना अवरोध हटाएर गाडी सञ्चालन गर्दै आएका छौँ । पैदन यात्रीलाई पनि सास्ती हुने गरेको छ ।’ प्रत्येक वर्ष बजेट विनियोजन भए पनि प्रभावकारी काम नभएपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।
स्थानीय सरकारलाई पटकपटक सडक स्तरोन्नति गर्न माग गरे पनि सुनुवाइ नभएपछि दबाबसँगै श्रमदानमार्फत सडक स्तरोन्नति गर्ने उद्देश्यले ‘चिसापानी सोल्टा सडक मर्मत अभियान’ सञ्चालन गरिएको छ । शनिबारदेखि शुरु भएको अभियानमा सयौँ स्थानीयले सडकमा ढुङ्गा मिलाउने, पहिरो आएको स्थानमा पहिरो हटाउने, जेसिभीको प्रयोग गर्दै साँघुरो ठाउँलाई खुल्ला गराउनेलगायत काम गरिरहेका एमालेका युवानेता वीरेन्द्रबहादुर रावलले बताउनुभयो । ‘सडक स्तरोन्नतिको दबाब दिन अभियान थालेका छौँ । यसमा स्थानीयले पनि साथ दिनुभएको छ, अभियानका क्रममा सडक सुधार भइरहेको छ ।’
सडक सुधारका लागि जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर थापाले जेसिभी उपलब्ध गराउनुभएको छ । पहिलो चरणमा कुइनेसम्मको सात किलोमिटर सडक सुधार गर्ने योजना रहेको उहाँले बताउनुभयो । सडक जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेकाले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य गर्न जनश्रमदानमार्फत सडक मर्मत गर्न लागिएको उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक