
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा रहेको पेरीभरानी तालमा आज चिच्याएर बर माग्ने धार्मिक मेला भएको छ ।
जनैपूर्णिमा पर्वका अवसरमा पेरीभरानी ताल र मन्दिरमा हरेक वर्ष चिच्याएर बर माग्ने चलन रहेको छ । अन्नपूर्ण गाउँपालिकाको घराम्दी, टिकोट, रिमा, औला, शिख, फलाते, चित्रे, घोडेपानी, घार, खिवाङका साथै पोखरालगायत गाउँबाट पुजाआजाका लागि भक्तजनहरू आएका पेरीभारानी संरक्षण समितिका पूर्वध्यक्ष दुतबहादुर पुर्जाले बताउनुभयो ।
“परापूर्वकालदेखि नै तालको पानीमा बस्ने १० देखि १५ वर्षका अविवाहित पुरुषलाई भक्तजनले नाम, बर माग्ने विषय जानकारी गराउने, चिच्याएर पेरीभरानी मातासँग बर मागिदिने र तालबाट पानी र माटो झिकेर दिएपछि पछाडि नफर्की गन्तव्यतर्फ जाने चलन छ”, उहाँले भन्नुभयो, “मन्दिरमा पनि त्यसैगरी नै मगर समुदायका अविवाहित युवाले भक्तजनलाई बर मागिदिने पुर्खौंअघिदेखिको चलन हो ।”
पेरीभरानी तालमा भाकल गरेमा सन्तान प्राप्ति, शिक्षा, रोजगारीमा सफलता, सम्पत्ति आर्जन हुने जनविश्वास रहेको पुर्जाले बताउनुभयो । भाकल गरेको पूरा भएपछि भेडाको साड र बोका बलि चढाउने चलन छ । अन्नपूर्ण गाउँपालिका–७ टिकोटका दलवीर परियारले पेरीभारानी तालमा भाकल गरेको पूरा भएपछि तीन पटकसम्म पूजा गर्न आएको बताउनुभयो ।
घना गुराँसको जङ्गलको बीचमा रहेको अन्य दिन पनि पूजाआजा र भाकलको बलि चढाउन सकिने संरक्षण समितिले जनाएको छ । करिब दुई सय वर्ग मिटर क्षेत्रफलमा फैलिएको तालमा वरपर जङ्गल भए पनि पातपतिङ्गर नदेखिनु र नभेटिनु अनौठो किसिमको विशेषता रहेको अन्नपूर्ण–७ को घराम्दी टोलविकास संस्थाका अध्यक्ष अमृत गर्बुजाले बताउनुभयो ।
पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण, नीलगिरि हिमालको दृष्य अवलोकन गर्न सकिने तालको वरपर निर्माण थालिएको पदमार्गलाई पूर्णता र तालमा उम्रिएको झार उखेलेर फाल्ने कार्यलाई निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो ।
अन्नपूर्ण चक्रीय पदमार्गको प्रसिद्ध पर्यटकीय गन्तव्य घोडेपानी÷पुनहिलबाट एक घण्टा उत्तर पश्चिम पैदलयात्रापछि पेरीभरानी तालमा पुग्न सकिन्छ । घोडेपानी, महभिर–घराम्दी र खिवाङ गाउँदेखि प्यारीबाराही ताल जोड्ने तीन वटा सडक छन् । घोडेपानी–भरानी तालसम्म छुट्टै तीन÷तीन किलोमिटर दूरीको साइकल र घोडा मार्ग पनि बनाइएको छ ।
पेरीभरानी ताल अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको आकर्षण हो । अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष मइलन पुनले पेरीभरानी ताल जोड्ने सडक स्तरोन्नति, सरसफाइलाई निरन्तरता र पदमार्ग निर्माणलाई पूर्णता दिने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’