
काठमाडौँ । आज जनैपूर्णिमा पर्व मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर यो पर्व मनाइन्छ ।
शासन सत्तामा रहेका वा राज्य सञ्चालनमा विशिष्ट भूमिका निर्वाह गरी उच्च प्रशासनिक कार्य गर्ने विशिष्ट व्यक्तिहरुले आज दिउँसो साढे १ बजेपछि मात्रै जनै फेर्नुपर्ने, डोरो बाँध्नुपर्ने र अन्यलाई साइत हेर्न नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
श्रावण शुक्ल पूर्णिमाका दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्छन् ।
यसै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी ३ वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख रहेको धर्मशास्त्रका जानकार डा वासुदेवकृष्ण शास्त्रीले जानकारी दिनुभएको छ । । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहेको उहाँले बताउनुभयाृ ।
तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई स्नान गरी जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने गर्दछन् ।
अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ । डा शास्त्रीका अनुसार वैदिक गुरु परम्पराअनुसार यज्ञोपवित अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो भनिन्छ ।
रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि काठमाडौंको पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायकलगायत वाग्मती नदी किनार र मठ मन्दिरमा भक्तजनको चहलपहल छ ।
यसैगरी रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधाम लगायत स्थानमा पनि बिहानैदेखि मेला लागेको छ ।
नेपालको तराई मधेशमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिएर यो पर्व मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइ बीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।
जनैपूर्णिमाका विभिन्न थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने चलन छ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो हटाई ताप सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’