+

आत्मनिर्भर बन्दै ताप्लेजुङका महिला

ताप्लेजुङ । ताप्लेजुङका ग्रामीण क्षेत्रका महिला आत्मनिर्भर बन्नका लागि स्रोत र सीपको खोजी गर्न थालेका छन् । विभिन्न तालिममा सहभागी भएर सीप सिकेसँगै आत्मनिर्भर बन्दै गएका हुन् । आफूले सिकेका सीपले आफूसँगै अरूलाई पनि रोजगारी सिर्जना गर्न सकिने यहाँका महिलाको भनाई छ । 

उद्यमी बन्न चाहने महिलालाई विभिन्न सङ्घसंस्था तथा स्थानीय तहले आवश्यक सीपका लागि तालिम दिनुका साथै उद्योग स्थापना गर्नका लागि आवश्यक सामग्री अनुदानमा उपलब्ध गराएर गाउँगाउँमा महिलालाई प्रोत्साहन गर्दै आएका छन् ।  

हिमाली संरक्षण मञ्च ताप्लेजुङको आयोजना, फुङ्लिङ नगरपालिका–१० वडाको समन्वय तथा रेड पाण्ड नेटवर्क, फुङ्लिङ नगरपालिका र घरेलु तथा साना उद्योग ताप्लेजुङको आर्थिक सहयोगमा दुईमहिने अल्लो प्रशोधन तथा कपडा उत्पादन तालिम बिहीबार सम्पन्न भएको छ । फुङ्लिङ–१० फुरुम्बु गाउँका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हिमाली संरक्षण मञ्चले जनाएको छ । 

फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले तालिममा सिकेका सीपको प्रमाणपत्र सिरानी बनाएर थन्क्याएर नबस्न अनुरोध गर्नुभयो । नगरपालिकाको लगानी र सहभागीको समय खर्च भएकाले उद्यम सुरु गर्न आवश्यक रहेको उहाँको भनाई छ । नगरप्रमुख मादेनले भन्नुभयो–तालिम दियौँ । अब उद्यम सुरु गरौँ । स्थानीय सरकार सयहोग गर्न तयार छ ।’ जङ्गलमा कुहिएर खेर जाने अल्लोबाट धागो तथा कपडा उत्पादन गरेर आम्दानी गर्नुपर्ने भन्दै उद्यम गर्न चाहनेलाई नगरपालिकाले सहयोग गर्ने उहाँले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिका उपप्रमुख कृष्ण लिङखिमले अल्लो नामी र दामी भएकाले उद्यमका रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । 

खेती नै नगरी अल्लो पर्याप्त उत्पादन भइरहेको भन्दै व्यवसायिक रुपमा अल्लो उत्पादन गर्नुपर्ने घरेलु तथा साना उद्योग महासङ्घ जिल्ला अध्यक्ष राजेन्द्र भारतीले बताउनुभयो । अल्लो उत्पादन गरेर आम्दानी गर्न सक्नुपर्ने भन्दै उहाँले उद्यमीलाई महासङ्घले सहयोग गर्ने प्रतिबद्ध व्यक्त गर्नुभयो । उहाँका अनुसार महासङ्घले जिल्ला, प्रदेश र सङ्घसम्म आयोजना हुने कार्यक्रममा जिल्लाको उत्पादनको बजारीकरण गर्ने गरेको छ । 

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख युवराज घोसाईका अनुसार सामुदायिक तथा सरकारी वन क्षेत्रमा अल्लो पाइने भएकाले सम्बन्धित निकायसँग समन्वय गरेर अगाडि बढ्न सकिने बताउनुभयो । उद्यमी मिलेर उद्योग दर्ता गरी व्यावसाय शुरु गर्न उहाँले आग्रह गर्नुभयो । सरकारी मान्यता प्राप्त गरेसँगै बजेट र तालिम दिन सहज हुने उहाँको भनाई छ । ‘अल्लोको गुणस्तरीय कपडा उत्पादन गर्न सके बजार अभाव छैन’ उहाँले भन्नुभयो ।

डिभिजन वन कार्यालयका प्रमुख बद्रीप्रसाद शाहका अनुसार वनमा पाइने अल्लो सङ्कलन गर्न सके राज्य र उद्यमीलाई लाभ पुग्छ । उहाँले भन्नुभयो– कानुनबमोजिम अल्लो सङ्कलन गर्न सक्छौँ । सहकार्य गर्न तयार छौँ ।’ 

सिकेको सीप व्यवहारमा लागू गर्न हिमाली संरक्षण मञ्चका अध्यक्ष चन्द्रमणि लिम्बूले तालिममा सहभागीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– ‘सीप सिक्न मरिहत्ते गर्छौं । व्यवहारमा लागू गर्न चुक्छौँ । आशा छ, अब त्यो हुन्न ।’

तालिममा सहभागीमध्ये चन्द्रकुमारी लिम्बूले भन्नुभयो– ‘धागो काट्न र बुन्न हामी सक्षम छौँ । भविष्यमा गुणस्तरीय मेसिन पाउने आशा गरेका छौँ ।’ सहभागीले अल्लोमा बुटिक भर्ने, लोगो लगाउने र नाम लेख्ने किसिमको तालिम आश गरेका छन् । लिम्बूले थप्नुभयो– ‘हामीमा धेरै लगानी छ । मेसिनमा उत्तिकै लगानी छ । त्यही भएर मेसिनको अपेक्षा गरेका छौँ ।’ प्रशिक्षक आशा आङवुहाङ लिम्बूले आफूले जानेजत्तिकै सीप सहभागीलाई सिकाइएको बताउनुभयो । तालिमसँगै अब बजारीकरणका लागि सहयोग हुनुपर्ने खाँचो औँल्याइएको छ ।
 
संरक्षण मञ्चका कार्यकारी निर्देशक रमेश राईले तालिममा सहभागीलाई आगामी वर्ष तालिमका साथै मेसिन उपलब्ध गराउने योजना रहेको जानकारी दिनुभयो । उहाँका अनुसार अल्लोको नर्सरी तयार गर्ने, तान बनाउने तथा वितरण गर्ने र बजार व्यवस्थापन लगायत कार्यक्रम छ । जिल्लाका अन्य स्थानीय तहबाट पनि तालिमको माग आइरहेकाले यसलाई निरन्तरता दिइने राईले बताउनुभयो । उहाँका अनुसार झोला, टोपी, गलबन्दी, रुमाल र विभिन्न सामग्री उत्पादन गर्ने संस्थाले योजना बनाएको छ । 

कार्यक्रमका अध्यक्ष तथा फुङ्लिङ नगरपालिका–१० फुरुम्बुका वडाअध्यक्ष सन्तोष लिम्बूले वडावासीले लिएको सीपअनुसारको उद्यम गर्न सहयोग गर्ने बताउनुभयो ।

फुरुम्बुमा दुईमहिने (असोज २५–पुस १९) अल्लो प्रशोधन तथा कपडा बुनाइ सीप विकास तालिम आयोजना गरिएको थियो । उक्त तालिममा १६ जनाको सहभागिता थियो । तालिममा बोइलिङ मेसिन (पकाउने भाडा)  बिटिङ मेसिन (कुट्ने मेसिन)  रुवा बनाउने हेकल मेसिन र चर्खा उपलब्ध गराएको छ । 

हिमाली संरक्षण मञ्चको  १३ लाख ५६ हजार रुपैयाँ, फुङ्लिङ नगरपालिकाको  २ लाख र घरेलु तथा साना उद्योग कार्यालयबाट १ लाख ५२ हजार रुपैयाँको लगानीमा तालिम सञ्चालन भएको मञ्चले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै