
काठमाडौँ । रसुवाको उत्तरी क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ चिकित्सकको टोली त्यसतर्फ गएको छ ।
बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र हिमालय उद्धार सङ्घ काठमाडौँको सहकार्यमा गोसाइँकुण्डमा मेला भर्न गएका तीर्थयात्रीलाई लेक लाग्नेलगायत विविध समस्याको उपचारका लागि चिकित्सकसहित आठजनाको समूह गोसाइँकुण्ड गएको हो ।
सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले डा सुशान हुमागाईंको नेतृत्वमा आठजनाको टोली गोसाइँकुण्ड प्रस्थान गरेको जानकारी दिनुभयो । डा हुमागाइँसँगै डा अन्जिला थापा, डा सावित्रा थापा, डा सूर्यप्रकाश जोशी, डा रेसिका श्रेष्ठ, मेडिकल विद्यार्थी जगत भट्ट, पोष्ट सहायक प्रकाश खत्री र सङ्घका प्रतिनिधि श्रीराम खत्री गोसाइँकुण्ड जानुभएको छ । समूहले १० दिन गोसाइँकुण्ड क्षेत्रमा सेवा गर्नेछ ।
‘टोलीले गोसाइँकुण्ड जाने भक्तजनलाई बाटोमा समेत स्वास्थ्य सेवा प्रदान गर्ने र गोसाइँकुण्ड पुगेर एकादशीदेखि पूर्णिमासम्म स्वास्थ्य जाँच गर्नेछ’ प्रमुख कार्यकारी अधिकृत बस्यालले भन्नुभयो । सङ्घले सन् १९९७ देखि गोसाइँकुण्डमा डाक्टरको समूह पठाएर निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सङ्घका अध्यक्ष डम्बर पराजुलीले जानकारी दिनुभयो ।
सङ्घले गोसाइँकुण्ड गएका तीर्थयात्रीलाई निःशुल्क औषधि उपचार र स्वास्थ्य सेवा प्रदान गर्ने अध्यक्ष पराजुलीको भनाइ छ । समुद्र सतहदेखि चार हजार तीन सय ८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा एकादशीदेखि भाद्र शुक्ल पूर्णिमासम्म मेला लाग्ने गर्दछ ।
मेलामा देश तथा विदेशबाट हजारौँ तीर्थयात्री कुण्डमा दर्शन गर्न पुग्ने गरेका छन् । गोसाइँकुण्डमा हरेक वर्ष गङ्गादशहरा र जनैपूर्णिमा गरी वर्षको दुईपटक मेला लाग्ने गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै