
काभ्रे । काभ्रेको बनेपामा स्थापित यातायात व्यवस्था कार्यालयमा कर्मचारी अभावका कारण सेवा बिस्तार रोकिएको छ ।
गत साउन १५ गते स्थापना गरिएको कार्यालयमा आवश्यक प्राविधिक फाँटमा कर्मचारी अभावले सवारी जाँचपास लगायतका सेवा बिस्तारमा समस्या देखिएको हो । बागमती प्रदेशस्थित श्रम, रोजगार तथा यातायात मन्त्रालयले उक्त कार्यालयमा दरबन्दी अनुसारको प्राविधिक कर्मचारी (मेकानिकल सुपरभाइजर) नखटाउँदा प्राविधिक काम शुरु गर्न नसकिएको सूचना अधिकारी पवन बजगाँईले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार मन्त्रालयबाट प्राविधिक कर्मचारी खटाउन नसकेका कारण सवारी दर्ता, नामसारी, प्रदूषण परीक्षण, भाडाको सवारीको जाँचपास, सवारी सर्वसहमति सरुवा सहमति र लिलामी दर्ताको काम शुरु गर्न नसकिएको हो । कार्यालयमा सेवा बिस्तार नहुँदा काठमाडौ उपत्यकाका यातायात कार्यालय धाउनुपर्ने बाध्यता हटेको छैन ।
कार्यालयबाट तत्कालका लागि सवारी साधनको ब्लू–बुक नवीकरण, सवारी कर, रुट परमिट जारी तथा नवीकरण, भाडाका सवारी साधन सेवा पञ्जिकरणको काम मात्र भइरहेको सूचना अधिकारी बजगाईंले बताउनुभयो । मन्त्रालयबाट कार्यालयमा पाँचौ तथा छैटौँ तहसहितका आवश्यक प्राविधिक कर्मचारी नखट्दा सेवा बिस्तार गर्न नसकेको हो ।
कार्यालयले हालसम्म चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण समेत अघि बढाउन नसकेको जनाएको छ । कार्यालयले लाइसेन्स नवीकरणको काम भने भदौको पहिलो सातादेखि शुरु गर्ने योजना बनाएको छ । स्थापना शुरुका केही दिनभन्दा हाल सेवाग्राहीको सङ्ख्या दैनिक बढिरहेको जनाइयो ।
कार्यालयले असोज महिनादेखि ‘ए’, ‘बी’, ‘सी’ र ‘के’ वर्गको सवारी चालक अनुमति–पत्र प्रदान गर्ने लक्ष्यसहित प्रक्रिया अघि बढाएको जनाएको छ । गत असार १६ गतेबाट औपचारिक सेवा सुरु गरेको कार्यालयले एक महिनाको अवधिमा कार्यालयबाट तीन हजार २१ सवारी साधनको ब्लू–बुक नवीकरण, सवारी कर, रुट परमिट जारी तथा नवीकरण, भाडाका सवारी साधन सेवा पञ्जिकरणको काम भएको कार्यालयले जनाएको छ ।
कार्यालयले एक महिनाको अवधिमा २ करोड १८ लाख ३७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयमा ‘रुट परिमिट’का लागि दैनिक औषत पाँच सवारी, ब्लू–बुक नवीकरण तथा सवारी कर बुझाउन दैनिक सरदर एक सय र दैनिक राजस्व करिब १५ लाखको हाराहारिमा सङ्कलन हुने गरेको जनाइएको छ ।
कार्यालयबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, तथा भक्तपुरका केही क्षेत्रका सेवाग्राहीले सेवा लिन सक्नेछन् । बनेपामा कार्यालय स्थापनापछि मध्यपहाडी क्षेत्रका सेवाग्राहीलाई सहज बन्दै गएको हो । बागमती प्रदेश सरकारले साउन महिनाबाट यातायात सेवालाई सहज बनाउन अनलाइन र डिजिटल प्रविधिको प्रयोग गर्ने तयारी गरिएको छ ।
नयाँ सवारी चालक अनुमतिपत्र लागि कार्यालयले ट्रायल सेन्टर सञ्चालनका लागि निजी क्षेत्रसँग समन्वय गर्न प्रक्रिया बढाइएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इजरायल र इरान युद्धको विरोधमा काठमाडौँमा प्रदर्शन
- उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न
- नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरण : सञ्चारमन्त्री गुरुङ
- विनयी खोलाको डाइभर्सन बगाएपछि नारायणघाट–बुटबल राजमार्ग अवरुद्ध
- पाठकलाई साइबर ब्युरोले भन्यो - 'प्रहरी कार्यालयमा उपस्थित हुनु'
- फ्रि वाईफाईको नाममा वर्ल्डलिंकको बदमासी, नियामक निकाय मौन !
- रास्वपाका सांसदहरु निलो रिबन लगाएर संसदमा आएकोमा कांग्रेसको नियमापत्ति
- प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै मुस्ताङ
- वर्षाका कारण विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना