
धनुषा । मिथिलाञ्चलमा आजदेखि झुल्नोत्सव शुरु भएको छ । साउन शुक्ल तृतीयाबाट शुरु भई झुल्नोत्सव पूर्णिमासम्म जारी रहन्छ ।
झुल्नोत्सवमा विशेष गरी भगवान् सीताराम र राधाकृष्णलाई आज साँझदेखि झुलामा झुलाइने परम्परा रहँदै आएको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशनदास वैष्णवले बताउनुभयो । यसका लागि जानकी मन्दिरबाट विभिन्न देवीदेवताको प्रतिमा रहेका प्रत्येक मठमन्दिरमा विशेष किसिमका सिंहासन निर्माण गरी सजाइएको गद्दीमा देवीदेवताको प्रतिमा राखी झुलाउने परम्परा रहेको उहाँले जानकारी दिनुभएको छ ।
यस उत्सवमा जनकपुरधामका मन्दिरबीच उत्सवभर रोचक प्रतिस्पर्धा हुने गर्दछ । एकातर्फ भगवान् राम जानकीलाई झुलामा राखी झुलाइने गरिन्छ भने अर्कोतर्फ नाटक, नाचगान, भजनकीर्तन र लोक कथा सुनाइने गरिन्छ । रत्नसागर मन्दिरको झुला नाच सबैभन्दा बढी प्रसिद्ध रहेको रत्नसागरका महन्त बैकुण्ठदास वैष्णवले बताउनुभयो । झुला र नाच हेर्न मन्दिरमा भक्तजनको साँझपर्ने वित्तिकै घुइँचो लाग्ने उहाँको भनाइ छ । जानकी मन्दिरमा हरेक साँझ मिथिलाको लोक गीत झुला र कजरी गाइने उहाँले जानकारी दिनुभयो ।
यसरी शुरु भयो झुल्नोत्सव
जनकपुरधारममा झुला उत्सवको प्रारम्भ जानकी मन्दिरका आदी महन्त सुरकिशोर दास वैष्णवले गराउनुभएको इतिहासमा उल्लेख छ ।
‘सुरकिशोरको आगमनको समय सन् १७३० लाई मानिन्छ । त्यस समयमा जनकपुरधाममा विभिन्न मन्दिरको स्थापना भई विभिन्न उत्सवको शुरुवात भएको थियो । सुरकिशोरले माता जानकीलाई पुत्री मान्दथे । उहाँले कहिलेकाहीँ जानकीसँग कुराकानी गर्ने गरेको र माता जानकीको सल्लाहमा आदी महन्त सुरुकिशोरले यस उत्सवको प्रारम्भ गरेको धार्मिक विश्वास छ’ जानकी मन्दिरका उत्तराधिकारी वैष्णवले भन्नुभयो ।
सन्त सम्प्रदायको गढ मानिने अयोध्या र कृष्ण सम्प्रदायको गढ मानिने वृन्दावनबाट झुलाको परम्परा जनकपुरधाममा आएको इतिहासकार बताउँछन् ।
साओनमे उपवन वन फूले
झुला झुले नन्दकिशोर
कदमक डारीमे लागल
हिँडोला झहरय नभ घनघोर
धार्मिक पृष्ठभूमिमा आधारित यस गीतलाई समाजशास्त्रीय दृष्टिकोणले मनन् गरेर झुलाको प्रारम्भ भएको जनविश्वास छ । साधुसन्त खुल्ला चौर वा कुनै रुखको छहारी मुनि बास बसेर पनि आफ्नो झोलामा श्रद्धाका साथ ल्याएका शालिग्रामलाई आसनमा राखी झुलाउने गर्दछन् । झुलाको आकर्षण मिथिलाञ्चलमा धानको रोपाइँ समाप्त हुनासाथ सुरु हुन्छ । यस क्रममा हरेक मठमन्दिरमा कजरी र मलार जस्ता धार्मिक महत्व झल्किने गीत कर्णप्रिय आवाजमा सुनिन्छन् ।
झुल्नोत्सवमा युवती सबै झुलाको गीत गाउने र भगवान्को पूजाअर्चना गरेपछि श्रद्धालु भक्तजनलाई फुलपाती पञ्चामृत र नैवेद्य बाँड्ने परम्परा रहेको संस्कृतिका जानकार डा राजेन्द्र विमलले बताउनुभयो । मिथिलाञ्चलको मठमन्दिरमा साउन महिनाभर झुलन लोकोत्सव हर्षोल्लासका साथ मनाउँदै साउन शुक्ल पूर्णिमाको राति १२ बजे झुलनोत्सव डोरी काटेर विधिवत् रुपमा सम्पन्न गरिँदै आइएको उहाँले जानकारी दिनुभयो ।
जनकपुरधामसहित मिथिला क्षेत्रको हरेक मठमन्दिरमा झुला उत्सव मनाउने परम्परा रहे पनि जानकी मन्दिर र राममन्दिरको झुला विशेष आकर्षणको केन्द्रविन्दु रहँदै आएको संस्कृतिका जानकार रोशन जनकपुरीले बताउनुभयो । उहाँका अनुसार जानकी मन्दिरमा विशेष किसिमका तीनवटा सिंहासनमा सीता र रामको मूर्ति राखेर झुलामा झुलाइने धार्मिक परम्परा रहँदै आएको छ ।
‘जनश्रुति अनुसार सीताको माइतीमा दाइजोका रूपमा प्राप्त मणि महलमा राख्ने ठाउँ नपाई बाहिर राख्दा पहाड भएको थियो । त्यसैको स्मृति स्वरूप झुला उत्सवको प्रारम्भमा मणिपर्वत मनाउने परम्परा रहेको छ’ जनकपुरीले भन्नुभयो ।
त्रेतायुगमा भगवान् राम र सीताको शुभविवाहको उपलक्ष्यमा मिथिलाका विदेह राजा शिरध्वज जनकले अयोध्यावासीलाई उपहार स्वरूप दिएको सुनचाँदी तथा मणिको भार मिथिलाको राजधानी जनकपुरधामको रङ्गभूमि मैदानमा थुपारिएको रामायण तथा धार्मिक ग्रन्थमा उल्लेख भए अनुसार यो पर्व प्राचीन समयदेखि मनाइँदै आएको जनविश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै