
नवलपुर । नारायणगढ–बुटवल सडकखण्डको वर्षाले रोकिएको निर्माण आगामी कात्तिक १५ पछि मात्रै सञ्चालन हुने भएको छ ।
नेपालमा मनसुन शुरु भएपछि सडक विस्तारको काम रोकेको निर्माण पक्षले कात्तिक १५ पछि काम थाल्ने गरी कार्यतालिका सरकारी पक्षलाई उपलब्ध गराएको हो । सडक निर्माणका लागि साउन १० गते पुनःएक वर्ष म्याद थप भए पनि अहिले सडक बिस्तारको काम भने रोकिएको छ । नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत नवलपुरको गैँडाकोटदेखि दाउन्ने खण्डमा अहिले सामान्य सडक मर्मत कार्यबाहेक अन्य काम ठप्प रहेको छ ।
बर्खाका कारण यो समयमा सडक कालोपत्र र विस्तारको काम नभए पनि पर्खाल निर्माण र मर्मतको काम भइरहेको नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका इञ्जिनियर शिव खनालले बताउनुभयो । ‘सडक विस्तारको काम पूर्ण रूपमा बन्द छ भन्न त मिल्दैन, तर यो समयमा सडक कालोपत्रबाहेकको सामान्य पर्खाल निर्माण र खाल्डाखुल्डी मर्मतका लागि पूर्वी खण्डमा ६४ जना कामदार खटिएका छन्’ उहाँले भन्नुभयो ।
सडक कालोपत्र र विस्तारको काम कात्तिक १५ देखि मात्र सञ्चालन गर्नेगरी समय तालिका निर्माण कम्पनीले सरकारी पक्षलाई उपलब्ध गराएको छ । योबीचमा मर्मत र पर्खाल निर्माण गर्नेगरी कार्यतालिका पेश गरेको भए पनि त्यस अनुसारको काम पनि अहिले सडकमा भएको देखिएको छैन ।
चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेशन प्रालिले सडक विस्तारको काम मनसुन सुरु भएदेखि नै रोकेको थियो । यसअघि थपिएको म्याद साउन ८ गते सकिएपछि सरकारले थप एक वर्षका लागि म्याद थपिदिएको हो । निर्माण कम्पनीले दुई पटक म्याद थप्दा पनि काम नसकेपछि सरकारले तेस्रो पटक म्याद थपेको हो ।
छोटो अवधिका लागि म्याद थप भए पनि निर्माण प्रगति हेर्दा थप म्यादमा पनि कार्यसम्पन्न हुनेमा आशङ्का गरिएको छ । इञ्जिनियर खनालले भने यो अन्तिम पटकका लागि म्याद थप भएकाले निर्माण पक्षले समयमै कामसक्ने अपेक्षा लिएको बताउनुभयो ।
निर्माण कम्पनीले सरकारी पक्षलाई दिएको जानकारीअनुसार पूर्वी खण्डमा कामदार र कर्मचारीसहित १ सय ९८ जना खटिएका छन् । वर्षाले सडकमा पहिरो जाने र अवरुद्ध हुनसक्ने स्थानमा प्राथमिकता दिएर कामदार खटाएको निर्माण कम्पनीले जनाएको छ । ‘सरकारले यो पटकको म्यादलाई अन्तिम पटक भनेकाले ठेकेदार कम्पनीले यसलाई अन्तिम अवसर ठानेर काम गर्ने छ भन्ने हामीले ठानेका छौँ’ इञ्जिनियर खनालले भन्नुभयो ।
अघिल्लो वर्ष म्याद थप हुँदा सडकको भौतिक प्रगति ४२ प्रतिशत थियो । सडकको भौतिक प्रगति अहिले पूर्वी खण्डमा ५२ प्रतिशत रहेको इञ्जिनियर खनालले जानकारी दिनुभयो । एक सय १३ किमी सडकमध्ये ७० किमी चार लेन, २९ किमी चार लेनसहित दुवैतर्फ छ÷छ मिटरको सर्भिस लेन, दाउन्नेमा १४ किमी तीन लेन, ६४ पुल, चार सय ६२ कल्भर्टलगायत संरचना निर्माण गर्नेगरी ठेक्का सम्झौता भएको यो आयोजनामा हालसम्म २६ दशमलव पाँच किमी चार लेन र २२ किमी दुई लेन सडक कालोपत्र, ४२ पुल र ३ सय ८० कल्भर्ट निर्माण गरिएको छ ।
विसं २०७९ साउन २२ मा सडक विस्तारको काम सम्पन्न गर्नेगरी २०७५ साल चैतमा यस सडक विस्तारको शिलान्यास गरिएको थियो । सडक विस्तारको काम समयमै सम्पन्न नहुँदा यो सडकखण्डको यात्रा निकै कष्टकर हुने गरेको छ । घाम लाग्दा धुलो र वर्षामा हिलोले गर्दा यो सडकखण्डको यात्रा अति कष्टकर हुने गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै