+

आम्दालाई मेडिकल कलेज बनाउन छलफल

लुम्बिनी ।  बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउने विषयमा छलफल भएको छ ।  इन्डोनेशियाको बालीमा हुने आम्दा इन्टरनेशनलको अन्तर्राष्ट्रियसभामा आम्दालाई मेडिकल कलेज बनाउन प्रस्ताव लैजाने विषयमा छलफल भएको हो । 

आम्दा बुटवलको स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको अध्यक्षता र आम्दा इन्टरनेशनलका अध्यक्ष डा सिगेरु सुगानामीको उपस्थितिमा आज बुटवलमा भएको छलफलमा आम्दा इन्टरनेशनल मेडिकल कलेज स्थापनाका लागि प्रक्रिया अगाडि बढाउने निर्णयसमेत गरिएको जनाइएको छ । 

यसका लागि समितिका अध्यक्ष तथा उपमहानगर प्रमुख खेलराज पाण्डेयको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलको सदस्यमा आम्दा इन्टरनेशनलका प्रतिनिधि अर्चना जोशी, आम्दा नेपालका अध्यक्ष डाक्टर सुनु दुलाल, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्याल र आम्दा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा विनोद पराजुली सदस्य सचिव रहनुभएको छ । 

आम्दा अस्पताललाई यस क्षेत्रकै सुविधा सम्पन्न अस्पताल र स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन गर्ने कलेजका रूपमा स्थापित गर्ने योजनाअनुसार काम भइरहेको समितिका अध्यक्ष तथा उपमहानगर प्रमुख पाण्डेयले बताउनुभयो । अस्पताललाई मेडिकल कलेजका रूपमा स्तरोन्नति गर्न सम्भाव्यता अध्ययन र बाँकी प्रक्रिया पूरा गर्दै जाने गरी तयारी भएको जानकारी दिनुभयो । 

आजै आम्दा इन्टरनेशनलका अध्यक्ष डा सुगानामीले अस्पतालको सेवा प्रवाहबारे अनुगमन गर्नुभएको थियो । आम्दा नेपालका अध्यक्ष डा दुलाल, आम्दा जापानका कार्यक्रम निर्देशक अर्चना जोशी र आम्दा नेपालका परियोजना निर्देशक सुरेश रेग्मीसहितको टोलीले अस्पतालको सेवाबारे अनुगमन गरेको हो । 

अनुगमनका क्रममा आम्दा अस्पताल स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा उपमहानगर प्रमुख पाण्डेय र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा  पराजुलीले अस्पतालको सेवा र अवस्थाबारे जानकारी गराउनुभएको थियो । आम्दा अस्पतालमा गतवर्षदेखि नर्सिङ, सामान्य चिकित्सा (एचए) र फार्मेसी विषयमा डिप्लोमा तहको अध्ययन शुरू भएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट