
महोत्तरी । आज साउन पन्ध्र, खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ । दूधमा मरमसला लगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।
असार–साउन मासको धान रोपाइँमा हिलोमा काम गर्दा चिसोले गर्ने असर कम गर्न मध्य साउनमा खिर खाने परम्परा बसेको बूढापाकाको भनाइ छ । यसपटक ठिक समयमा बीउ नहुनु र पानी नपुग्नुले किसानले अपेक्षित धान रोपाइँ गर्न सकेका छैनन् । साउन १५ अघि रोपाइँ सकिने पुरानो चलनअनुसार हिलो उतार्न साउने पन्ध्र पर्वको परम्परा चले पनि यसपालि धान रोप्न नपाइँदा किसानले खुशी मनले साउन पन्ध्र मनाउन पाएका छैनन् ।
‘धानबालीका कुनै काम निश्चित तालिकाअनुसार गर्न सकिएन, कहिले बीउ तयार छैन, कहिले पानी छैन’ भङ्गाहा–४ का ८० वर्षीय किसान दीपबहादुर फुयाँल भन्नुहुन्छ– ‘परम्परा धान्न नै आज खिर खाने तयारी गरिँदैछ । जिल्लामा यसपालि रोपाइँ ५० प्रतिशत नाघेको छैन भने रोपिएको रोपो पनि पानी नपर्दा ओइलाएको छ ।
वर्षभरि गुजारा चलाउने मुख्यबाली धान रोपाइँ राम्रो नभएपछि खुसीले भन्दा परम्परा थेग्नमात्र साउने पन्ध्र पर्व मनाइँदै गरिएको सर्वसाधारण किसानको भनाइ छ । पर्वमा खिर खाने परम्परा थेग्न बिहानैदेखि दूधको जोहोमा लाग्नुपरेको धेरैको भनाइ छ । पर्वका अवसरमा जिल्लाका बर्दिबास, गौशाला र औरहीका बजार क्षेत्रका दुग्ध पसलमा आज दूध लिनेको भीड छ ।
साउने पन्ध्र पर्वमा विवाह भएर गएका छोरीचेली र ज्वाइँ चेलालाई निम्ता गरेर खिर खुवाउने पुरानो परम्परा छ । जिल्लाका बर्दिवास, भङ्गाहा, गौशाला र औरही नगरक्षेत्रका बजारमा दूधको माग निकै बढेको यस भेगका दूध व्यापारीले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै