
मोरङ । मोरङको लोहन्द्रा खोलामा अर्को नयाँ प्रजातिको माछा फेला परेको छ । बुदुना जातको ‘गारा केम्पी होरा’ वैज्ञानिक नाम रहेको सो माछा एशियाकै रैथाने भएको अनुसन्धानकर्ताले बताएका छन् ।
अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, लक्ष्मण खनाल र रामचन्द्र अधिकारीले त्यो प्रजाति नेपालका लागि नयाँ भएको भन्दै भारतबाट प्रकाशित हुने प्रसिद्ध जर्नल ‘थ्रिटेन्ड टेक्सा’ को सन् २०२४ को जुन अङ्कमा लेख लेख्नुभएको छ । लिम्बूलगायतको टोलीले दुई महिनाअघि पनि लोहन्द्रा खोलामै दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने ‘टेरिगोप्लिक्थिस डिसजन्किटिभस’ वैज्ञानिक नाम रहेको नयाँ प्रजातिको माछा फेला पारेको थियो ।
सन् २०२२ को सेप्टेम्बरदेखि २०२३ को मार्च महिनासम्म स्थलगत सर्वेक्षणमा लोहन्द्रा खोलामा ‘गारा केम्पी’ माछा भेटिएको र यसको बाहिरी बनावटको र आणविक तथा आनुवांशिक अध्ययनको विवरणबाट नेपालका लागि नयाँ भएको जानकारी अनुसन्धान कर्तामध्ये एक जसहाङ लिम्बूले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘विराटनगर–रङ्गेली रोडमा पर्ने लोहन्द्रा पुल आसपासबाट यो माछाका ३० देखि ४० ग्रामका जिउँदो नमुना सङ्कलन गरिएको थियो । यसको शरीरका १८ किसिमका नाप लिइयो, जसमा धेरै कुरा अरु प्रजातिभन्दा भिन्न पाइयो र नयाँ प्रजाति भनी दाबी गरियो र पुष्टि पनि भयो ।’ फरक प्रजाति हो भनी पुष्टि गर्न गारा जातिका अरु १९ प्रजातिसँग आणविक बनावटको तुलना गरिएको लिम्बूले बताउनुभयो ।
‘गारा केम्पी’ नेपालबाहेक पूर्वी र उत्तरी भारतमा तथा चीनका केही स्थानमा पाइने केही अन्य अनुसन्धानकर्ताले जनाउनुभएको छ । ‘यसलाई स्टोन सकर पनि भनिन्छ’, अर्का अनुसन्धानकर्ता रामचन्द्र अधिकारीले भन्नुभयो– ‘यो थुतुनोको सहाराले ढुङ्गाामा टाँसिएर बस्छ । यसको मुख्य बासस्थान भनेको सफा नदीको तीव्र वेग भएको ठाउँ हो ।’ यो प्रजाति पूर्वी नेपालका कन्काइलगायत नदीमा पनि प्रशस्तै पाइने गरेको लिम्बूले बताउनुभयो । विश्व संरक्षण सङ्घले यसलाई खास वास्ता नगरिएको (लिष्टकन्सर्न) प्रजातिअन्तर्गत राखेको छ । धेरै पौष्टिक तत्व पाइने र स्वादिलो पनि हुने भएकाले स्थानीयको रोजाइमा यो माछा पर्दछ ।
अनुसन्धानकर्ता लिम्बूले भन्नुभयो– ‘यो माछालाई अघिल्लो पुस्ताका अनुसन्धानकर्ताले उस्तै देखिने गारा आनन्देली नाम दिनुभएको थियो, त्यसमा प्रशस्त प्रमाण पनि थिएनन् र उक्त आनन्देलीको बासस्थान भने पहाडी क्षेत्रका नदी मात्र हुन् ।’
पुराना अनुसन्धानमा केही कमजोरी भएका कारण प्रजातिको सही पहिचान हुन नसकेको लिम्बूको दाबी छ । उहाँले थप भन्नुभयो– ‘बुदुना जातका माछाका यसअघि आठ प्रजाति नेपालमा पाइने भनिएको भए पनि गारा मूल्या र गारा रुपिकोला प्रजातिको अस्तित्व स्वीकार गर्न सकिँदैन । तसर्थ योसहित बुदुनाका अब सात प्रजातिमात्र भए ।’ नेपालमा माछाका प्रजाति सङ्ख्या दुई सय ७३ पुगेको दाबी समेत लिम्बूले गर्नुभयो । माछाको प्रजाति पहिचान, अस्तित्व र वितरणका विषयमा थप वैज्ञानिक अनुसन्धान गरी अभिलेखीकरण गर्न जरुरी भएको अनुसन्धानकर्ताले औँल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै