
मनाङ । बाढीपहिरो कारण पूर्ण रुपमा अवरुद्ध मनाङ प्रवेशको एक मात्र सडक सञ्चालनमा आएको छ ।
चामे गाउँपालिका–१ तिमाङस्थित स्याक्र्यु झरनामा फलामको पुल राखेपछि यातायात सञ्चालनमा आएको हो । वर्षा भइरहेकाले केही कठिनाइ भएको भन्दै लामो समयको प्रयासपछि पुल राख्ने काम पूरा भएसँगै यातायात नियमित सञ्चालनमा आएका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताउनुभयो । निरन्तरको वर्षासँगै गत असार १८ गते झरनाको बाढीसँगै आएको ढुङ्गासहितको गेग्र्यानले मोटरेवल पुलमा क्षति पुर्याएपछि आवतजावत रोकिएको थियो । त्यस स्थानमा फलामको पुल राखेपछि आजदेखि यातायातका साधन सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो ।
प्रजिअ लामिछानेले भन्नुभयो– ‘पानी पर्ने क्रम केही कम भए पनि मनसुन कायम रहेकाले काम केही ढिलाइ भएको हो । आजदेखि सञ्चालनमा आएको पुलबाट पैदलयात्रीका साथै सवारीसाधन आवतजावत गर्न सक्छन् ।’
गत असार १८ गते तिमाङ खोलाको बाढीले काठेपुल पनि बगाएको थियो । तिमाङ खोलामा बाढीले डुम्रे–चामे–बेँसीसहर खण्डअन्तर्गत दानाक्यु, तिमाङ सडक अवरुद्ध भएको थियो । तिमाङ खोलामा पनि काठेपुल राखेर यातायात सञ्चालन गरिएको प्रजिअ लामिछानेले बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङले पटकपटकको बाढीपहिराको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले डुम्रे–बेँसीशहर–चामे सडकअन्तर्गतको मनाङ क्षेत्रमा मोटरेबल राख्न पहल भइरहेको बताउनुभयो । उहाँका अनुसार जिल्लावासीलाई सहज यात्रा गर्ने वातावरण बनाउन यहाँका विभिन्न आठ स्थानमा मोटरेबल पुल राख्न पहल भइरहेको छ ।
सांसद गुरुङले भन्नुभयो– ‘यहाँका नागरिकले सधैँ जोखिम र सास्ती भोगेर गर्नुपर्ने यात्रामा सहज बनाउने प्रयासमा छौँ । चालु आर्थिक वर्षमा समावेश हुनेगरी आठवटा पुल निर्माण गर्न माग गरिएको छ ।’ पर्यटकीय क्षेत्र भएकाले पनि मनाङको यात्रा सहज बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।
गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले आवतजावत रोकिएपछि प्राथमिकताका साथ स्थलगत रुपमा खटिएर फलामको पुल राखी यातायात सञ्चालनमा ल्याइएको बताउनुभयो । मनाङवासीको सास्तीलाई सहज बनाउने प्रयासमा प्रदेश रहेको उहाँको भनाइ छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मनाङका इन्चार्ज कपिल लामाले यात्रा कठिन भइरहेको अवस्थामा पुल पुनःनिर्माण भई सञ्चालनमा आएपछि खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका साथै अन्य निर्माण सामग्री ढुवानीमा सहज भएको बताउनुभयो ।
झरनामा फलामको पुल राख्ने क्रममा कामदारले जोखिमपूर्ण अवस्थामा काम गरेका प्रजिअ लामिछानेले बताउनुभयो । ‘झरनाको पानी कम भएपछि मात्रै काम थालिएको थियो’ उहाँले भन्नुभयो– ‘यहाँ पुल निर्माण भएसँगै यात्रा सहज भएको छ ।’ पुल बनेसँगै विच्छेद भएको तल्लो र माथिल्लो मनाङ आवतजावत सहज हुँदा स्थानीय खुशी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै