+

वन्यजन्तुबाट पीडित ४५७ किसानलाई क्षतिपूर्ति

बाँके ।  बाँके राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट पीडित मध्यवर्ती क्षेत्रका चार सय ५७ किसानलाई क्षतिपूर्ति वितरण गरेको छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा एक वर्षको अवधिमा पशु धन क्षति भएका चार सय ५७ किसानलाई  ३० लाख १८ हजार ४ सय १० रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले बताउनुभयो । उहाँका अनुसार एक वर्षको अवधिमा बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा चितुवा आक्रमणबाट सामान्य घाइते भएका दुई सर्वसाधारणलाई १ लाख २३ हजार ८ सय १० रुपैयाँ क्षतिपूर्ति बापत उपलब्ध गराइएको छ ।

यसैगरी, पशुधन क्षतिका एक सय ८१ घटनामा  १८ लाख २५ हजार ३ सय र अन्नबाली क्षतिका २ सय ७२ घटनामा  १० लाख ६९ हजार ३ सय रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहले बताउनुभयो ।

बाँके राष्ट्रिय निकुञ्जले अघिल्लो आर्थिक वर्षमा ३ सय ६४ वन्यजन्तुबाट पीडित सर्वसाधारणलाई क्षतिपूर्ति प्रदान गरेको थियो । चितुवाको आक्रमणबाट ३ सख्त घाइते र एक सामान्य घाइतेलाई ४ लाख ८९ हजार, पशुधन क्षतिका ६८ घटनामा  ६ लाख ९६ हजार ४ सय ५० र अन्नबाली क्षतिका २ सय ९२ घटनामा  १२ लाख ४१ हजार २ सय ५० रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको थियो ।

वन्यजन्तु अपराधसम्बन्धी सात मुद्दा दर्ता

बाँके राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्ष २०८०/८१ मा वन्यजन्तुको चोरी–सिकारी तथा अपराधसम्बन्धी विभिन्न सात थान मुद्दा दर्ता गरेको छ । सात मुद्दामध्ये छ थान बाँके राष्ट्रिय निकुञ्ज र एक बाँके जिल्ला अदालतमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार दर्ता गरिएको निकुञ्जका रेञ्जर बिनिता केसीले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा संरक्षित जनावर चौखाको चोरी–सिकारीमा संलग्न एक मुद्दा बाँके जिल्ला अदालतमा दर्ता गरिएको छ भने सवारी साधनको ठक्करबाट मृत्यु भएका पाँच र चित्तल सिकारीको एक गरी छ मुद्दा निकुञ्जमै दर्ता भएका छन् । 

‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित जनावरको चोरी–सिकारीको मुद्दा अदालतमा दर्ता गर्छौं, अन्य जनावरको मुद्दा निकुञ्जमै दर्ता गरेर अनुसन्धान र फैसला हुने गर्दछ’ निकुञ्जका रेञ्जर केसीले भन्नुभयो– ‘गत आर्थिक वर्षका सात वटा मुद्दा अनुसन्धानका क्रममा रहेका छन्, अझै फैसला भइसकेको छैन ।’

गत आर्थिक वर्ष सवारी साधनसँग ठोक्किएर एक रतुवा र चार चित्तलको मृत्यु भएको तथा एक चित्तल चोरी–सिकारीको मुद्दा निकुञ्जमा दर्ता भएको छ । यसैगरी, संरक्षित जनावर चौखा चोरी–सिकारीको एक मुद्दा बाँके जिल्ला अदालतमा दर्ता भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट