
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सहयोगमा उपभोक्ता समितिले निर्माण गरेको आयोजनाबाट दुई सय पाँच घरपरिवार लाभान्वित भएका छन् ।
उपभोक्ता समितिका अध्यक्ष दीपकबहादुर मल्लले सङ्घीय सरकारको १ करोड ४४ लाख ७५ हजार एक सय १२ सहयोगमा आयोजना निर्माण भएको जानकारी दिनुभयो । ‘कोप्रे, बाङगेरा र लहरेनीको मुहानमा ‘इन्टेक’ बनाएर ल्याएको पानी ५०–५० लिटर क्षमताको तीनवटा रिजर्भ टयाङ्कीमा सङ्कलन गरी वितरण गर्न थालिएको छ’ उहाँले भन्नुभयो– ‘संरचना निर्माणको काम सकिएपछि दुई सय पाँचवटा घरमा मिटरसहित जडान भएका धारामा परीक्षणका लागि पानी वितरण गर्न थालिएको हो ।’
परीक्षणका क्रममा देखिएका प्राविधिक समस्या समाधान र सुधार गरेर नियमित पानी वितरण गर्ने तयारीका साथ काम भइरहेको अध्यक्ष मल्लले बताउनुभयो । पाँच हजार दुई सय ७१ मिटर मुख्य र पाँच हजार पाँच सय ४७ मिटर वितरण पाइप लाइन निर्माण भएको छ । आयोजना निर्माणका लागि आव २०७९र८० मा ५३ लाख ११ हजार आठ सय ५२ र २०८०र८१ ९१ लाख ६३ हजार दुई सय ६० रुपैयाँ खर्च भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका सबइन्जिनियर सुनिल सिंह बोहोराले बताउनुभयो । उपभोक्ता समितिले कुल लागतको १० प्रतिशत बराबरको श्रमदान गरेका छन् । यसअघि बगरफाँटमा २१ वटा सार्वजनिक धारामार्फत खानेपानी वितरण हुने गरेको थियो । सार्वजनिक धाराबाट गाग्री, ग्यालीन र ड्रममा ओसार्ने तथा पाइप जडान गरेर घरघरमा पानी लगेर उपभोग गर्ने गरेका थिए ।
घरघरमा धारा जडान गरेर पानी वितरण गर्न थालेपछि मितव्ययी प्रयोग, समयको बचत र पानीका कारण हुने सामाजिक द्वन्द्व कम भएको उपभोक्ता समितिका सचिव चन्द्रबहादुर घिमिरेले बताउनुभयो । खानेपानी वितरणलाई व्यवस्थित बनाउन प्रत्येक धारामा मिटर जडान गरिएको छ । आयोजनाको दिगो व्यवस्थापनका लागि महशुल निर्धारण गर्ने र एकजना कर्मचारी नियुक्त गर्ने तयारी भएको सचिव घिमिरेले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै