
बागलुङ । काठेखोला गाउँपालिका–२ भीमापोखराको डोहेरीगाउँ बसाइँसराइको चपेटामा छ । बूढापाका मात्रै भेटिने त्यो गाउँको खेतीयोग्य जग्गा विस्तारै बाझिँदै गएको छ । खेतीयोग्य जग्गामा निगाले, सल्लो र ऐंसेलुको बोट उम्रिएको छ ।
यातायातको सुविधा समेत नपुगेको गाउँमा हिजोआज चहलपहल बढेको छ । विदेशीहरु लामबद्ध भएर गाउँमा फलफूल बगैँचा निर्माणमा लागेका छन् । डोहेरीको बाँझो जग्गामा अहिले विदेशी स्वयंसेवकले धमाधम फलफूलका बोट लगाइरहेका छन् ।
विश्व चुनौती कार्यक्रम (वल्ड च्यालेञ्ज प्रोग्राम) अन्तर्गत पिएसडी नेपाल मार्फत अहिले काठेखोलाको डोहेरी गाउँमा ओखर, एभोकाडो, कागती र टिमुर लगायतका फलफूलका बिरुवा विदेशी स्वयंसेवीहरुले बाँझो जग्गामा लगाइरहेको काठेखोला–२ भीमापोखराका वडाध्यक्ष विद्यापती शर्माले बताउनुभयो । आयआर्जन बढाउने र वातावरण संरक्षण गर्नेगरी फलफूल रोप्ने काम चलिरहेको छ ।
सडक सुविधा नपुगेको र बसाइँसराइका कारण जमिन बाझिँदै गएपछि विदेशीको सहयोगमा अहिले आठ सय फलफूलका बिरुवा लगाइसकेको शर्माले बताउनुभयो । उहाँले एक हजार दुई सय ओखर, एभोकाडोलगायत फलफूलका बिरुवा लगाउने योजनाअनुसार अहिले डोहेरी गाउँ र धम्जाको माझकटेरामा स्थानीयको सहयोगमा फलफूलका बिरुवा रोप्ने कार्य चलिरहेको शर्माको भनाइ छ ।
‘अहिले १४ जना विभिन्न देशका विदेशी नागरिक फलफूलका बिरुवा रोप्न खटिनुभएको छ, स्थानीयले सघाइरहेका छन्, हालसम्म ४८ विदेशी स्वंसेवक बिरुवा लगाउन परिचालन भइसक्नुभएको छ, उनीहरु आफै खाल्टो खन्छन्, आफै बिरुवा रोप्छन्’ शर्माले भन्नुभयो– ‘वडा कार्यालयको निरन्तरको समन्वय र सहकार्यमा बाँझो जग्गा छिट्टै फलफुल बगैँचामा परिणत हुनेछ ।’
ओखर र टिमुर लगाउने काम अन्तिम चरणमा पुगेको छ भने एबोकाडा र कागतीका विरुवा लगाउने तयारी भइरहेको छ । विश्व चुनौती कार्यक्रम (वल्ड च्यालेञ्ज प्रोग्राम) अन्तर्गत पिएसडी नेपालमार्फत बिरुवा खरिददेखि रोपणसम्मको सम्पूर्ण खर्च व्यहोर्नेगरी बाँझो जग्गा सदुपयोग भइरहेको छ ।
बिरुवा रोप्नका लागि ३ महिना अघि नै कम्पोष्ट मल तयार गरिसकेको र अहिले बाँझो जग्गालाई सरसफाइ गरेर खाल्टा खनिरहेको डोहेरीका स्थानीय प्रेमप्रसाद न्यूरेले बताउनुभयो । डोहेरी गाउँमा २२ घरपरिवार रहे पनि अहिले आठ घरमा मात्रै मानिस बस्दै आएका छन् । केही घर खण्डहर भएर भत्किएका छन् ।
बसाइँसराइका कारण उजाड बनेको गाउँ हरियाली बनाउने वडा कार्यालयको योजनाले उत्साहित बनेको न्यूरेको भनाइ छ । ओखर, कागती, टिमुर र एभोकाडोका लागि आवश्यक सिँचाइ पोखरीसमेत निर्माण गरिएको उहाँको भनाइ छ ।
न्यूरले आफ्नो दुई रोपनी जग्गामा सल्लाका बोट, निगालो र ऐँसेलुको झाडी फाडेर ५५ ओखर र २ सय टिमुरका बिरुवा लगाउनुभएको छ । कागती र एभोकाडो लगाउनका लागि अन्य जग्गाको तयारी थालिएको जनाउँदै न्यूरेले गाउँभरमा १ हजार २ सयभन्दा बढी बिरुवा लगाउने काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।
वडाको उच्च स्थानमा रहेको डोहेरी गाउँका स्थानीयलाई आय आर्जनसँग जोड्नका लागि ओखर लगायत बिरुवा रोप्न थालिएको बताउँदै उहाँले १ हजार २ सय बिरुवा लगाउन १२ लाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको जानकारी दिनुभएको छ । केही फलफूलका बिरुवा काठेखोला–३ माझकटेरामा लगाउन थालिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै