+

नगरकोटको सीमा समस्या सुल्झाउन ४ स्थानीय तहको तयारी

काभ्रे ।  काभ्रेपलाञ्चोक र भक्तपुरको सिमास्थलमा अवस्थित पर्यटकीय क्षेत्र नगरकोटमा वषौंँदेखिको सीमाङ्कन समस्या समाधा गर्न चार नगरका जनप्रतिनिधिले छलफललाई तीव्रता दिएका छन् । उनीहरुले केही महिनामै समस्या सुल्झाउने तयारी गरिरहेका छन् । 

यसअघि चार नगरका जनप्रतिनिधि एवं सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित ‘सीमा समस्या समाधान’ समिति गठन गरिएको थियो । गठित समितिले अनुगमन निरीक्षण गरी सीमाङ्कन समस्या समाधानका उपाय र विकल्पबारे प्रतिवेदन बुझाएपछि छिट्टै समस्या सुल्झाउने तयारीमा लागेको जनाएका छन् । समितिले बुझाएको प्रतिवेदनको आधारमा सीमा समस्या सुल्झाउन चार नगरका जनप्रतिनिधिले तीन पटक संयुक्त छलफल गरिसकेको काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगर प्रमुख टोकबहादुर वाइबाले बताउनुभयो ।

 उहाँका अनुसार ३ महिनाभित्र सीमा समस्या समाधान गर्न चारै नगरका जनप्रतिनिधिले तयारी गरेका छन् । नगरकोट काभे्रपलाञ्चोकको मण्डनदेउपुर र बनेपा तथा भक्तपुरको चाँगुनारायण र शङ्खरापुुर नगरपालिकाको सङ्गमस्थल हो । नापी विभागका नापी अधिकृत डिल्लीप्रसाद दाहालको संयोजकत्वमा चारै नगरका वडाअध्यक्ष लगायत जनप्रतिनिधि तथा काठमाडौँ काभे्रपलाञ्चोक र भक्तपुर जिल्लाका नापी कार्यालय प्रमुख एवं प्रतिनिधि, सम्बन्धित स्थानीय तहका नापी शाखा प्रमुख तथा प्राविधिक सम्मिलित समिति गठन गरिएको थियो । वाइबाका अनुसार समितिले सीमा समस्या समाधानका उपाय र विकल्पलाई आधार मानी तयारी थालिएको छ । 

समितिले समाधानको विकल्पमा विसं २०१७/१८ मा गरिएको नापीलाई आधार मान्नुपर्ने विषयलाई प्राथमिकतामा राखेको वाइबाले बताउनुभयो । ‘हामी समितिको प्रतिवेदनकै आधारमा समस्या समाधन गर्ने तयारीमा लागेको हौँ, दुईदेखि तीन महिनासम्ममा समाधानतर्फ लाग्नेछौँ’ उहाँले भन्नुभयो । समस्या समाधानका लागि मण्डनदेउपुर नगरका प्रमुख वाइबा, बनेपाका नगर प्रमुख शान्तिरत्न शाक्य, शङ्खरापुरका नगर प्रमुख रमेश नापित र चाँगुनारायणका नगरप्रमुख जीवन खत्रीले छलफललाई तीव्रता दिएका छन् । यसअघि नगरकोटमा ‘पानी ढलो’का रुपमा काभ्रेपलाञ्चोक र भक्तपुर पर्ने बताइँदै आइएको थियो । 

नगरकोटका ठूला होटलले सार्वजनिक जग्गा हड्पी भवन  बनाएर होटल सञ्चालन गरेको विषयमासमेत विवाद हुँदै आएकाले सबै समस्या समाधान गर्ने र त्यस स्थललाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले दुई वर्षअघि चाँगुनारायणका नगर प्रमुख खत्री र मण्डनदेउपुरका नगर प्रमुख वाईवासहितको टोलीबीच सहमति भ्एको थियो । 

विसं २०७९ पुसमा भएको सहमतिमा नगरकोटको सीमाङ्कन गर्ने, सार्वजनिक जग्गा पहिचान गर्दै संरक्षण गर्ने र यस स्थललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने निर्णय गर्दै गुरुयोजना निर्माण गर्न दुवै नगरले  १०–१० लाख रुपैयाँ समेत विनियोजन गरेका थिए । नगरकोटको जमिन होटल रिसोर्ट तथा अन्य व्यक्तिले मिचेको विषयमा दुई नगरले नापी कार्यालयको सहयोगमा आन्तरिक अनुमगन निरीक्षण गरिरहेको वाइबाले बताउनुभयो । उहाँका अनुसार पहिला दुई जिल्लाको सीमा समस्या समाधान गरेपछि आ–आफ्नो जिल्लाको नापी तथा मालपोत कार्यालयसँगको समन्वयमा जमिन हडपेको विषय खोजी गर्ने सहमति भएको छ । 

यसअघि नगरकोटको पर्यटन विकासका लागि दुवै जिल्लाका सिमाना जोडिएका नगरले सार्जवनिक जग्गा दुरुपयोगबारे संयुक्त बजेट लगानी गर्ने प्रतिबद्धता जनाएका थिए । लामो समयदेखि सिमानामा रहेको सार्वजनिक जग्गा दुरुपयोग हुनाका साथै पर्यटन शुल्कमा समेत भक्तपुरको चाँगुनारायण नगर र काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरबीचको विवाद समाधान गरिएको थियो । 

भक्तपुरस्थित अतिक्रमण नियन्त्रण व्यवस्थापन कार्यदलको प्रतिवेदन अनुसार नगरकोटमा सञ्चालित होटलमध्ये वन तथा सार्वजनिक जग्गा क्लब हिमालय होटलले १३ रोपनी  अतिक्रमण गरिएको जनाइएको छ ।  त्यसैगरी द फोर्टले पाँच रोपनी, रूपेस माउन्टेनले एक रोपनी, होटल भ्यू प्वाइन्टले दुई रोपनी र मधुवन होटलले एक रोपनी जग्गा अतिक्रमण गरेको प्रतिवेदनमा उल्लेख छ । लस्ट होराइजन, घर छाप्रो, स्तुपा रिसोर्ट, सनसाइन होटल चौतारी लगायतले जग्गा अतिक्रमण गरेको जनाइएको छ । 

नगरकोट काठमाडौँ उपत्यका नजिक ३२ किलोमिटर उत्तर–पूर्वमा र भक्तपुर नगरबाट २० किलोमिटर पूर्वमा अवस्थित प्रसिद्ध रमणीयस्थल हो । समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा नगरकोटबाट  धौलागिरी हिमशृङ्खलादेखि कञ्चनजङ्घा हिमशृङ्खलासम्मको मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, चोयु, ल्होत्से, मकालु हिमालका साथै सर्वोच्च शिखर सगरमाथाको दृश्य हेर्न सकिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट