+

मोहनापुल–अत्तरिया सडकः पुलको कामले गति लिन सकेन

कैलाली ।  मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डमा निर्माणाधीन तीनवटा पक्की पुलको कामले अझै गति लिनसकेको छैन । गोदावरी नगरपालिका–५ सुनिखोला, मनहरा खोला र मोहना नदीमा पुल निर्माणाधीन छ । 

सुनिखोलामा ३ करोड ७७ लाख रुपैयाँको लागतमा निर्माण कम्पनीले २०७९ कात्तिकमा निर्माण सम्पन्न गर्नेगरी २०७७ कात्तिकमा ठेक्का सम्झौता गरेको थियो । यस अवधिमा पुल निर्माणको काम सम्पन्न नभएपछि त्यो कम्पनीसँग पुल निर्माणको म्याद २०८० असारसम्मका लागि थपिएको थियो ।

थपिएको समयावधिमा सुनिखोला पुल निर्माणको काम ८५ प्रतिशतमात्र पूरा भएको महाकाली पुल आयोजनाले जनाएको छ । बाँकी काम म्याद सकिएको एक वर्षसम्म पनि पूरा हुन नसकेको महाकाली पुल आयोजना कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी कपिल पन्तले बताउनुभयो । गोदावरी–५ मनहरा खोलामा ९  करोड ५० लाख रुपैयाँको लागतमा निर्माणाधीन पुलको काम अलपत्र छ । निर्माण कम्पनी मनहरा खोलाको पुल दुई वर्षभित्र सम्पन्न गर्नेगरी ठेक्का लिएको थियो ।
 
मनहरा खोला पुलको ‘डिजाइन’ संशोधन गर्नुपर्ने भएपछि  प्रगति कम रहेको महाकाली पुल आयोजनाले जनाएको छ । मनहरा खोला पुल निर्माणको समययावधि २०८१ कात्तिक २६ गतेसम्म रहेको सूचना अधिकारी पन्तले बताउनुभयो ।

यसैगरी, कैलाली र कञ्चनपुरको सीमा भएर बग्ने मोहना नदीमा २७ महिनामा सक्नेगरी २०७८ माघमा निर्माण कम्पनीसँग  १३ करोड ३६ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको थियो ।

मोहनामा पुल निर्माणको ४२ प्रतिशत काम भएको जनाइएको छ । मोहनामा २५ मिटर लामो र ११ मिटर चौडाइको पुल निर्माणका लागि ठेक्का सम्झौता गरिएको हो । त्यो पुल निर्माणको समयावधि २०८१ जेठ ५ गते सकिएपछि २०८२ वैशाखसम्मका लागि समय थप गरिएको महाकाली पुल आयोजनाले जनाएको छ । 

महाकाली पुल आयोजना कार्यालयका सूचना अधिकारी पन्तले मोहनाको पुल निर्माणमा बजेट भए पनि सुनिखोला र मनहराको पुल निर्माणका लागि बजेटको अभाव हुनसक्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट