
गुल्मी । धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । साउनभर सञ्चालन हुने मेलामा रेसुङ्गा क्षेत्रमा रहेको महापोखरीमा स्नान र पूजाआजाका लागि दिनहुँ श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
रेसुङ्गा क्षेत्रमा रहेको महापोखरीमा स्नान गरेपछि चारधाम जान नपर्ने र त्यहाँ पुगेपछि पुण्य प्राप्ति हुने जनविश्वास छ । महापोखरीमा स्नान गरेपछि आफूले अञ्जानमा गरेका पाप नष्ट हुने धार्मिक विश्वास छ । महापोखरीमा स्नान गरेपछि श्रद्धालुहरु पोखरीदेखि केही माथि रहेको यज्ञशालामा पुगेर मन्दिरको दर्शन गरी पूजाआजा गर्छन् ।
यज्ञशाला मन्दिरमा अखण्डदीप प्रज्वलन भइरहने भएकाले श्रद्धालुहरुले यज्ञमण्डपको विभूति लगाउने र त्यसलाई प्रसादका रुपमा ग्रहण गर्छन् । यस क्षेत्रमा रहेका सिद्धस्थान, विष्णुपादुका, लक्ष्मीनारायण, ऋष्यशृङ्ग लगायत धार्मिक क्षेत्रमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यस क्षेत्रमा पाल्पा, स्याङ्जा, अर्घाखाँची, बाग्लुङ्, प्यूठान, रुपन्देही, नवलपरासी लगायत ठाउँबाट भक्तजन आउने गरेका छन् ।
रेसुङ्गा संरक्षण समितिले यज्ञशाला मन्दिर परिसरमा साउनभर पुराण वाचन, पाठपारायण, भजनकीर्तन, होम, श्राद्ध लगायत धार्मिक कार्यक्रमहरु आयोजना गरेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभयो ।
रेसुङ्गाको महापोखरी क्षेत्र र मन्दिर परिसरमा माछा, मासु एवं मादक पदार्थ सेवन तथा बिक्री वितरणमा रोक लगाएको छ । मेलालाई व्यवस्थित गर्न समितिले सदरमुकाम तम्घासबाट महापोखरीसम्मको यातायात सहज बनाउने गरी व्यवस्था मिलाएको जनाइएको छ ।
रेसुङ्गा नगरपालिकाले यस वर्ष ‘जाउँ हिँड रेसुङ्गा’ अभियान सञ्चालन गरेकाले विगत वर्षको तुलनामा यस क्षेत्रमा पर्यटकका सङ्ख्या उल्लेख्य बढेको अभियानका संयोजक रामजी पन्थीले बताउनुभयो ।
गुल्मीको धार्मिकस्थल कालीगण्डकी र रुद्रवेणी धाममा पनि साउने सङ्क्रान्तिका अवसरमा आज बिहानदेखि भीड लागेको छ । भक्तजनहरु नदीमा स्नान गरी पूजापाठ गर्ने बढेका छन् । कालीगण्डकी गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै