
काठमाडौँ । राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
खाजा बापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा करिब रु ६० हजार खर्च हुने गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । वर्षमा एक सयभन्दा बढी मन्त्रिपरिषद् बैठक हुने गरेका छन् । मन्त्रिपरिषद्मा हुने खाजा कटौती भएसँगै वार्षिक करिब रु ६० लाख जोगिएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकमा कालो चिया र विस्कुट खाजा खुवाउन सुरु गरिएको छ ।
सुशासन र सुधारमा ससाना विषय पनि महत्वपूर्ण मानिने भएकाले प्रधानमन्त्री दाहालले आफ्नै कार्यालयबाट सुधारको थालनी गर्नुभएको उहाँको भनाइ छ । सुशासन र सुधारका कार्यलाई निरन्तर अगाडि बढाइने उहाँले बताउनुभयो ।
सरकारको कार्यशैली बदल्ने घोषणा गर्नुभएका प्रधानमन्त्री दाहाल सार्वजनिक बिदाका दिन बाहेक दैनिक १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्ने गर्नुभएको छ । प्रधानमन्त्री सिंहदरबारबाट दैनिक विभिन्न मन्त्रालयका ‘ब्रिफिङ’ लिने, राष्ट्रिय गौरवलगायत आयोजनामा देखिएका समस्या समाधानका लागि पहल लिँदै आउनुभएको छ ।
यसैबीच, नेपाल संवत्लाई सम्पूर्ण सरकारी दस्तावेजमा उल्लेख गर्ने सरकारको निर्णय कार्यान्वयनमा आएको छ । विभिन्न अवसरमा प्रधानमन्त्री दाहालले शुभकामना सन्देशमा नेपाल संवत्को मिति उल्लेख गर्न थालिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल