
भरतपुर । पृथ्वी राजमार्गको मुग्लिनदेखि फिस्लिङसम्म यतिबेला प्रशस्तै सुन्तला बिक्रीका लागि राखिन्छ । यो राजमार्ग भएर यात्रा गर्नेहरुले यहाँको सुन्तला किन्ने र मिठो मानेर खान्छन्। बिक्रीका लागि राखिएका सुन्तला चितवनको इच्छाकामना गाउँपालिकामा उत्पादन हुन्छ । यस बाहेक यहाँ गोरखा र तनहुँका विभिन्न क्षेत्रबाट सुन्तला ल्याएर बिक्री गरिन्छ ।
इच्छाकामनामा उत्पादन भएका सुन्तला रसिलो हुने भएका कारण ग्राहकको रोजाइमापर्ने हुँदा किसानलाई सुन्तला बिक्रीको चिन्तै छैन । उनीहरुको बोटबाटै सुन्तला बिक्री हुँदै आएको छ । वडा नम्बर ३ को माथिल्लो डुँडेका किसान कुसुम गुरुङ आफ्नो बगैँचामा सानो दाना भए पनि सुन्तला निकै रसिलो र गुलियो रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘सुन्तलामा कुनैपनि औषधि प्रयोग नगरिएको र प्राङ्गारिक मल मात्रै प्रयोग गर्ने गरेका छौँ ।’ गतवर्ष करिब ३ लाख रुपिैयाँ बराबरको सुन्तला बिक्री गर्नुभएका गुरुङको बगैँचामा सुन्तलाको उत्पादन राम्रो छ । बोटबाटै किन्नका लागि व्यापारी आइरहेकाले राम्रो मूल्य पाएपछि बिक्री गर्ने तयारीमा रहेको उहाँको भनाई छ ।
तल्लो डुँडेका किसान वीरबहादुर गुरुङ रातो माटो भएको ठाउँका सुन्तलाको स्वाद मिठो हुने गरेको बताउनुहुन्छ । उहाँ रसिलो सुन्तला भएकै कारण किन्न आउने व्यापारीको लर्को लाग्ने गरेको बताउनुहुन्छ । ‘यहाँ उत्पादन भएको सुन्तला बिक्रीका लागि कुनै चिन्ता छैन,उहाँ भन्नुुहुन्छ, “बोटबाटै सुन्तला ठेक्कामा दिन्छौँ ।’ गत वर्ष ५लाख ५० हजार बराबरको सुन्तला बिक्री गर्नुभएका गुरुङको बारीमा ४ सय ५० सुन्तलाका बोट छन् ।
बजारमा पाइने रसिलो र मिठो सुन्तला इच्छाकामनाको भएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ बताउनुहुन्छ । ‘सुन्तला खाने मान्छेलाई थाहा छैन, राजमार्गमा विभिन्न ठाउँको भनेर बिक्री गर्ने गरिएको छ’ उहाँ भन्नुहुन्छ– ‘गाउँपालिकाले यहाँको सुन्तलाको प्रवद्र्धन र बजारीकरण गर्न थालेको छ । यहाँ बजारको समस्या नभएका कारण पनि सुन्तला खेतीतर्फ किसानको आकर्षण बढेको हो । पहिला झाडीमा परिणत भएका जमिनमा किसानले सुन्तलाखेती गरेका छन् । अहिले भिरपाखामा सुन्तला लगाउन थालिएको छ ।’
गाउँपालिकाकी उपप्रमुख माया सिलवाल इच्छाकामनामा उत्पादन भएको सुन्तला सानो खालको चिल्लो दाना भएको बताउनुहुन्छ । यहाँ उत्पादन भएको सुन्तलाको रङ्ग पनि राम्रो भएको र अधिकांश सुन्तला यहाँकै बिक्री हुन्छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल यहाँको सुन्तलालाई देशव्यापी रुपमा चिनाउने गरी प्रवद्र्धन गर्न थालिएकाले गाउँपालिकाले नर्सरी स्थापना गर्ने तयारी गरेको उल्लेख गर्नुुहन्छ । ‘सुन्तला बिक्री भएन भने गाउँपालिकाले सहजीकरण गरे बिक्री गरिदिन्छ’ अधिकृत भुसाल भन्नुहुन्छ– ‘फिस्लिङ तरकारी केन्द्रमा कोल्डस्टोर समेत सञ्चालनमा आइसकेको छ ।’
गाउँपालिकाको करिब ८० हजार हेक्टर जमिनमा सुन्तलाखेती गरिएको छ । त्यसमध्ये ६० हेक्टर जमिनमा सुन्ताला उत्पादन भएको छ । अहिले किसानको बारीबाट ७५ देखि ९० रुपैयाँ सम्ममा सुन्तला बिक्री हुने गरेको छ । गाउँपालिकाका कृषि शाखा प्रमुख आशिष त्रिपाठी मङ्सिरको पहिलो सातादेखि यस क्षेत्रको सुन्तला बजारमा पठाउन थालिएको बताउनुहुन्छ ।
गाउँपालिका–३ को तोकदाङ, ढाप, माझगाउँ, सिरनागाउँ, तल्लाडुँडे, र माथिल्लो डुँडे, वडा नम्बर ५ को तामिन, साठिमुरे, ठङरङ, पामडाँडा र वडा नम्बर २ को तल्लो काउलेमा सुन्तला राम्रो उत्पादन हुने गरेको छ । यहाँ उत्पादन भएको सुन्तला मुग्लिन, केबुलकार, कुरिनटार, र फिस्लिङमा बिक्रीका लागि राख्ने गरिएको छ । फिस्लिङको तरकारी तथा फलफूल बिक्री केन्द्रबाट होलसेलमा नारायणगढ, काठमाडौँ, पोखरालगायत सहरमा सुन्तला पठाउने गरिएको छ ।
सुन्तलाको प्रवद्र्धन गर्न महोत्सव
गाउँपालिकाले सुन्तला प्रवद्र्धनका लागि महोत्सव आयोजना गर्दैछ । पुस १६ गतेदेखि १८ गतेसम्म महोत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष गुरुङ बताउनुहुन्छ । महोत्सवमा तीन दिनसम्म सुन्तलासँग सम्बन्धित गतिविधि हुने उहाँको भनाई छ । फिस्लिङको शक्तिखोर सडकमा पर्ने माझगाउँमा महोत्सव आयोजना गरिँदैछ । सुन्तला खान आउँदा यहाँका पर्यटकीयस्थलको समेत अवलोकन गर्न पाइनेछ । अध्यक्ष गुरुङ भन्नुहुन्छ, ‘यहाँबाट सबैभन्दा लामो हिमशृङ्खला देख्न सकिन्छ । महोत्सवमा यहाँका रैथाने बालीका परिकार खुवाइन्छ ।’
महोत्सव अवधिभर कृषि विज्ञलाई किसानका खेतबारीमा लैजानाका साथै माटो परीक्षण र रोगव्यादी निराकरणको उपाय खोजिने र महोत्सवमा पाहुनालाई आकर्षण गर्न बोटमै टिपेर सुन्तला खुवाउन पाइने, सुन्तला कसले धेरै खाने प्रतियोगिताका साथै बजारमा भन्दा सहुलियत मूल्यमा ताजा सुन्तलाको स्टल राखिनेजस्ता क्रियाकलाप गरिने उहाँ बताउनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पेचिलो बन्दै शिक्षक आन्दोलन, शिक्षामन्त्रीद्वारा राजीनामा
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकहरुलाई अविलम्ब वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा