
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र अप्ठ्यारोमा परेका बेला ठूला दलबीच संवाद र साझा प्रयासका माध्यमबाट मुलुकलाई सहजता प्रदान गर्नुपर्ने बताउनुभएको छ ।
हालैको एक अन्तर्वार्तामा अध्यक्ष ओलीले भन्नुभयो– ‘हामी लोकतन्त्रमा स्वच्छ प्रतिस्पार्धाका आधारमा चल्नुपर्छ भन्नेमा छौँ । हामीले मिलेरै संविधान बनायौँ, मिलेरै अघि बढ्ने हो । मिलेरै अघि बढ्दा मुलुकका लागि आवश्यक निकास दिन सकिन्छ ।’
मुलुकका खासखास समस्याका समयमा तिनको समाधानका लागि नेपाली कांग्रेस, एमालेसहितका ठूला दल मिलेर मुलुकको नेतृत्व गर्ने कुरामा के सोच्नुभएको छ ? भन्ने जिज्ञासामा अध्यक्ष ओलीले संविधान जारी हुने समयमा कांग्रेससँग सहयात्राका लागि एमालेले नै प्रस्ताव गरेको स्मरण गर्दै कांग्रेस संवादमा आउँदा आफूहरू कहिल्यै पनि पछि नहटेको स्पष्ट पार्नुभयो ।
राष्ट्रिय मुद्दामा संवाद र सहमतिको यात्राबाट एमाले पछि नहट्ने र त्यसको अगुवाइ गर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘यस्तो अवस्थामा एमालेले विगतमा पनि अगुवाइ गरेर लोकतान्त्रिक तवरबाट मार्गप्रशस्त गरेको हो र अहिले पनि आवश्यक पर्दा त्यसबाट पछि हट्दैन ।’
‘विनासकारी भूकम्पपछि त्यसबेला प्रतिपक्षमा रहेर पनि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँग मिलेर पुनःनिर्माण र संविधान निर्माणमा लाग्ने प्रतिवद्धताका साथ रचनात्मक भूमिका निर्वाह गरेको कुरा पनि बिर्सन हुँदैन । हामीले विगतमा पनि मिलेरै देश र जनताका लागि काम गरेको इतिहास छ । आवश्यक परेमा सबैसँगै आउनुपर्छ । विगतमा एमाले, कांग्रेस र माओवादी केन्द्रले नै राष्ट्रका लागि सँगै काम गरेको हो’ उहाँले स्मरण गर्नुभयो ।
अहिले नागरिकले मुलुकमा स्थायित्व खोजिरहेका छन् । यसका लागि नेपालको परिवर्तनका संवाहक रहेका तीन ठूला दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र मिलेर सरकार निर्माण गरेर देशलाई राजनीतिक स्थायित्व दिने प्रयोजनका लागि आवश्यक संवाहकको पहल किन नगर्ने भन्ने प्रश्नमा अध्यक्ष ओलीले सो जवाफ दिनुभयो । उहाँले भन्नुभयो– ‘एमाले जनताको चाहना र राष्ट्रको आवश्यकता बुझेर काम गर्ने पार्टी हो, मुलुकको स्थायित्वका लागि परिवर्तनका संवाहकहरूको सहकार्य आवश्यक छ । यसका लागि अग्रसरता लिने पक्षमा एमाले छ ।’
संविधान साध्य होइन, साधन हो । देश र जनताको सुख र समृद्धि साधन हो भन्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीले तरकारी नकाटी हुँदैन, तर तरकारी काट्दा चुलेसीसँग खेलबाड गरियो भने हात काट्न सक्छ । साधनहरू चलाउँदा सावधानी अपनाउनुपर्छ । हामीबीच जति पनि असमझदारी छन्, ती हटाउने संवादबाट नै हो । संवादबाट सहमतिमा जान सकिन्छ । साझा अनुभूतिलाई अनुभवका रूपमा सहमति विकास गर्नुपर्छ । फेरि पनि संवाद आवश्यक छ । सबै कुरामा सहमति हुन्छ भन्ने होइन, आधारभूत रूपमा सहमति हुनुपर्छ । पक्ष–प्रतिपक्षको स्वच्छ प्रतिस्पर्धाको बहुदलीय प्रणाली हामीले रोजेर ल्याएको हो, यस प्रणालीलाई अस्वीकार नगरी सहमतिलाई स्वीकार गर्न सकिन्छ । त्यसकारण सहमति हुन्छ । कस्तो बेलामा प्रतिस्पर्धा र कतिबेला सहमति भन्ने हुन्छ ।’
एकप्रश्नमा उहाँले आफूहरूलाई सरकारमा बसेर जनतालाई कुनै पनि उपलब्धि दिन नसक्ने छुट नभएको जवाफ दिनुभयो । सरकारमा देशको विकास गर्न तथा जनतालाई सुविधा दिनका लागि जाने हो । जनतालाई सेवा सुविधा दिन हो । तर कसैकसैका लागि मात्र हुनेगरी काम गर्ने छुट हामीलाई सरकारमा बसेर हुँदैन, उहाँको भनाइ छ । अध्यक्ष ओलीले भन्नुभयो– ‘जनताका समस्या सम्बोधन गर्न नसकेमा हामी सरकारमा बस्नुको औचित्य के हुन्छ र रु देश र जनताका समस्या सम्बोधन गर्न नसकिए कुनै पनि सरकारको अर्थ छैन ।’
अध्यक्ष ओलीले संविधानले परिकल्पना गरेको प्रणालीको विकास र कानुनी निर्माण गर्नुपर्ने अवस्थामा आफूहरूले मिलेर जाउँ भनेर कांग्रेससँग प्रस्ताव गरेको टिप्पणी गर्नुभयो । यसमा कांग्रेस पनि गम्भीर हुनुपर्ने उहाँको भनाइ छ ।
अध्यक्ष ओलीले भन्नुभयो– ‘लोकतन्त्रका आधारभूत प्रश्नमा हामी एक ठाउँमा छौँ र हुनुपर्छ । यो प्रणाली हामीले लडेर र रोजेर ल्याएको हो । यसलाई बलियो बनाउनुपर्छ । कार्यान्वयनका क्रममा स्थितिमा संविधान संशोधन पनि गर्नुपर्ने हुन्छ । किनभने चरम दबाबका बीच हामीले संविधान ल्याएको हो । संविधान नल्याउँदा नेपाल अराजकतामा फस्न सक्ने थियो, त्यसकारण कतिपय कमीकमजोरीका बीच हामीले संविधान ल्यायौँ । जनतालाई केन्द्रमा राखेर यसको सफल कार्यान्वयनका लागि हामीहरु संवाद र सहमतिमा लाग्नुपर्ने हुन्छ ।’ राससबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै