+

बालकोटको चियाले सत्ता गठबन्धनमा खिया

विवेश शर्मा
काठमाडौँ ।
प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको पछिल्लो भेटवार्ताले राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ । 

एमालेको सक्रियातामा विगतको गठबन्धन भत्काएर कम्युनिष्ट लिगको सत्ता समीकरणसँगै फेरि वाम एकताको कसरत भइरहँदा एमाले अध्यक्ष ओलीलाई नेपाली कांग्रेसले अकस्मात् प्रधानमन्त्री बन्न प्रस्ताव गरेपछि राजनीति तरङगित बनेको हो । कांग्रेस सभापति देउवा पत्नी आरजुसहित ओलीसँग भेटवार्ता गर्न शनिबार बालकोट पुग्नुभएको थियो । पंचायतकालमा ‘जेल बस्दाका दौँतरी’ देउवा र ओलीबीच साढे २ घण्टा छलफल भएको थियो । भेटवार्तामाके विषयमा केन्द्रित रह्यो ? त्यसबारे भने दुवै पक्षले अहिलेसम्म सार्वजनिक गरिसकेका छैनन । यद्यपि राजनीतिक बिश्लेषकहरुले भने देउवा र ओलीको पछिल्लो भेटवार्ताले ‘सत्ता समीकरण फेरिने’ अड्लबाजी गरिरहेका छन् । 

कांग्रेस महामन्त्री गगन थापा लगायत केही नेताहरुले पुपपकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार छिट्टै ढल्ने दाबी गर्दै आउनुभएको छ । पछिल्लो समम कांग्रेसमा प्रभावशाली बन्दै जानुभएका वरिष्ठ नेता शेखर कोइरालाले प्रचण्ड प्रधानमन्त्री बनेपछि मुलुकको विभिन्न क्षेत्रमा अराजकता र अस्थिरता बढेको बताउँदै आउनुभएको छ । मुलुकमा राजनीतिक स्थिरता, दीगो शान्ति र विकासको लागि केही वर्ष कांग्रेस र एमालेले मिलेर सरकार चनाउनुपर्ने नेता कोइरलाको भनाई छ । शेखर–गगन समूहले  पार्टी नेतृत्वलाई कांग्रेस र एमालेको गठबन्धन गराउन पार्टी नेतृत्वलाई विगतदेखि नै दबाब दिँदै आएको थियो तर सभापति देउवाले भने त्यसप्रति बेबास्ता गर्दै अआउनुभएको थियो ।  देउवा र ओलीको शनिबारको भेटवार्तापछि भने शेखर–गगन समूहले ‘आफूहरुको संंकल्प पूरा हुन लागेको’ भन्दै उत्साहित बनेको छ । कांग्रेसका अधिकाँश नेताहरुले देउवा–ओलीबीचको भेटवार्ता तथा गहन छलफललाई सकारात्मक रुपमा लिएका छन् । कांग्रेस सांसद दीपकराज गिरीले सोमबार प्रतिनिधिसभा बैठकमै ‘ठूला दलका शीर्ष नेताहरुबीचको भेटवार्ताले सकारात्मक संचार गराएको’ बताउनुभएको छ । 

पत्नी आरजूसहितको भेटवार्तामा कांग्रेस सभापति देउवाले एमाले अध्यक्ष ओलीसँग के प्रस्ताव गर्नुभयो ? भन्ने आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन ।  यद्यपि देउवा निकट नेताहरुले भने दुई शीर्ष नेताहरुबीचको छलफल ‘कांग्रेस र एमालेबीच सत्तासमीकरण गर्ने’  विषयमै केन्द्रित रहेको र कांग्रेस सभापतिले एमाले अध्यक्ष ओलीलाई ‘अर्थ र गृहसहितको मन्त्रालय लिएर प्रधानमन्त्री बन्न’  प्रस्ताव गर्नुभएको खुलासा गरेका छन् । एमाले अध्यक्ष ओली भने कांग्रेसले आफूलाई किन यस्तो प्रस्ताव गर्यो ? भनेर अचम्मित हुनुभएको छ ।  सहयात्राको सरकारमा रहँदा प्राय ‘अर्थ र गृह दुवै मन्त्रालय आफूले पाउनुपर्ने’ दाबी गर्ने कांग्रेसले ‘यी दुइ वटै मन्त्रालय लिएर प्रधानमन्त्री बन्नुस्’ भनेपछि ओलीलाई शनिबार राति अबेरसम्म निन्द्रा नपरेको बालकोट स्रोतले बताएको छ । 

ओलीसँगको भेटवार्तापछि कांग्रेस सभापति देउवाले आज केन्द्रीय पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बोलाउनु भएको छ ।  देउवा निवास बूढानीलकण्ठमा अहिले कांग्रेसको केन्द्रीय पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक भइरहेको छ । यसबीच ओलीले एमालेबाट प्रचण्ड सरकारमा सहभागी मन्त्रीहरुलाई ‘एर्लट’ रहन निर्देशन समेत दिइसक्नु भएको बालकोट स्रोत भनाई छ । 

वर्तमान सत्तासमीरणको निर्णायक दल एमालेका अध्यक्ष ओली  र प्रमुख प्रतिपक्ष दलका नेता देउवाबीच अकस्मात् सघन भेटवार्ता भएपछि  यता प्रधानमन्त्री दाहाललाई भने झस्को पसेको छ । प्रधानमन्त्री दाहालले देउवा र ओलीबीच शनिबार भएको भेटवार्ता ‘कतै आफू नेतृत्वको सरकार ढाल्ने खेल त होइन ?’ भन्ने आशंका गर्न थाल्नुभएको छ । बालकोटमा ओली –देउवाको चियापानपछि प्रधानमन्त्री दाहाल सशंकित बन्नुभएको छ । प्रधानमन्त्री दाहालले देउवासँगको भेटवार्ता लगत्तै एमाले अध्यक्ष ओलीलाई बोलाएर छलफल समेत गर्नुभएको छ । प्रधानमन्त्री दाहालले ओलीसँग २ चरणको छलफलमा देउवाको भेटवार्तामा भएका विषय वस्तु बुझ्ने प्रयत्न गर्नुभएको छ । तर एमाले अध्यक्ष ओलीले ‘देउवाजीलाई चिया खान बोलाएको, हामीले चिया खाँदा पनि राजनीतिमा यत्रो तरङ्ग’ भनेर टार्न खोज्नुभएको छ । 

राजनीतिक बिश्लेषकहरुले भने बालकोटको त्यो चियाले वर्तमान सत्तासमीकरण खिया पर्न थालिसकेको अर्थ्याएका छन् । ‘बालकोटको चियाले सत्ता गठबन्धनमा खिया परिसकेको’ बिश्लेषकहरुको बुझाई छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट