
पोखरा । पर्यटकीय राजधानी पोखरा केबल मानव समुदाय घुम्ने पर्यटकीय गन्तव्य मात्रै होइन यो त स्वदेश एवं विदेशका चरा पनि घुम्ने र विचरण गर्ने स्थल हो ।
तालैतालको शहरको उपमा पाएको पोखरामा ९ ताल रामसार सूचीमा समेत सूचीकृत भइसकेका छन् । यिनै तालतलैयाका कारण पोखरा चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्य बनेको छ । पोखराका तालतलैयामा वर्षेनी करिब ३ सय प्रजातिका विदेशी चरा चीन, साइबेरिया लगायतका देशबाट आउने गरेको पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताउनुुभयो ।
प्रत्येक वर्षको हिउँद र वर्षात्का समयमा छुट्टाछुट्टै प्रजातिका चरा पोखराका तालतलैयामा देखिने गरेको उहाँले जानकारी दिनुुभयो । ‘विशेषगरी हिउँदको समयमा सिकारी प्रजातिका चरा पोखराका तालतलैयामा देख्न सकिन्छ, वर्षात्को समयमा कोइली प्रजातिका चरा देख्न सकिन्छ’ उहाँले भन्नुुभयो– ‘साइवेरिया लगायत टाढाटाढा विदेशी मुलुकबाट आएका चरा केही समय बिताएर फर्कने गरेका छन् ।’
पोखराका रामसार सूचीमा सूचीकृत तालमध्येको एक रुपाताल पनि हो । सुन्दा अचम्म लाग्न सक्छला तर, रुपातालले वर्षेनी ५० लाख बराबरका माछा विदेशी चरालाई खुवाउँदै आएको छ । साविक लेखनाथ नगरपालिका–१०, ११ र १४ का केही भागले छोएको यस तालमा प्रत्येक वर्षको हिउँदमा आउने जलेवा लगायत प्रजातिका चराले ५० लाख रुपैयाँभन्दा बढीको माछा खाएर जाने गरेको रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अध्यक्ष शिवप्रसाद अधिकारीले बताउनुभयो ।
‘विशेषगरी पुस माघको समयमा करिब ३ महिना साइबेरिया लगायत स्थानबाट रुपातालमा आउने करिब २ सय ५० सङ्ख्याका जलेवाको आहारा माछा नै हो’ उहाँले भन्नुभयो– ‘सामान्यतः एउटा जलेवाले दिनभरिमा आधा किलोसम्म माछा खाने गर्दछ ।’
रातको समयमा ताल आसपासको जङ्गलमा बस्ने जलेवा बिहान सूर्योदयदेखि सूर्यास्तसम्म तालमा नै रहने र माछा खाने गरेको उहाँले जानकारी दिनुभयो । विगतमा अतिक्रमणमा पर्दै गएको ताललाई संरक्षण गर्ने उद्देश्यका साथ २०५८ सालदेखि सहकारी स्थापना गरी माछापालन गर्दै आयआर्जनसमेत गरिँदै आइएको उहाँले जानकारी दिनुभयो ।
सहकारी सञ्चालनमा आएसँगै यसका माध्यमबाट तालको संरक्षण र उपयोगमा जोड दिइएको बताउँदै उहाँले हाल सहकारीमा एक हजार ३० जना आबद्ध भइसकेको बताउनुुभयो । सहकारीअन्तर्गत माछा मार्न, चौकीदार, बैंकिङ कारोबार आदिका लागि २४ जनालाई रोजगारी दिन सकिएको सहकारीले जनाएको छ ।
सहकारीले वार्षिक करिब २ करोड रुपैयाँ बराबरको माछा उत्पादन गर्न सफल बनेको जनाउँदै उहाँले तालमा रहु, नैनी, कमन, सिल्भर कार्प, तिलापियालगायत जातका माछा उत्पादन हुने गरेको बताउनुभयो । उहाँका अनुसार तालमा करिब २४÷२५ स्थानीय जातका माछा रहेका छन् । रुपाताल पछिल्लो समयमा जलचर, वन्यजन्तु, पर्यावरण अध्ययन अनुसन्धान गर्ने खुला पाठशाला जस्तै बनेको जनाउँदै उहाँले वर्षेनी करिब २५ राष्ट्रबाट अध्ययन अनुसन्धानकर्ता आउने गरेको जानकारी दिनुुभयो ।
रुपातालमा उत्पादित माछाको बजारका लागि कुनै समस्या नरहेको सहकारीका कर्मचारी रामजी अधिकारीले बताउनुुभयो । रुपातालको माछाको माग बढिरहेको जनाउँदै अधिकारीले मागबमोजिम पुर्याउन धौधौ हुने गरेको अनुभव सुनाउनुभयो ।
तालको संरक्षण र विकासका लागि रुपाताल संरक्षण एकीकृत विकास परियोजनामार्फत पूर्वाधार विकासका काम भइरहेका छन् । परियोजना लक्षित काम सम्पन्न भएसँगै तालको संरक्षण, पर्यटकीय विकास हुँदै स्थानीयको जीवनस्तर बढ्ने विश्वास लिइएको छ ।
चरणवद्ध अघि बढ्ने परियोजनाको लागत रु चार अर्ब ५२ करोड ८८ लाख रहेको परियोजनाका सूचना अधिकारी इञ्जिनियर कृष्णबहादुर विकले जानकारी दिनुभयो । उहाँका अनुसार परियोजनाअन्तर्गत जग्गा अधिग्रहणका लागि ९ सय ९५ रोपनी जग्गाको सूचना निकालिएकामा हालसम्म ९ सय ८७ रोपनी क्षेत्रको मुआब्जा वितरण गरिसकिएको छ ।
मुआब्जा वितरणका साथै तालबेंसीको पुल निर्माण भइसकेको छ भने सडक निर्माण पनि सम्पन्न भइसकेको छ । हाल बाँध निर्माणको काम अघि बढेको उहाँले जानकारी दिनुुभयो । बाँध निर्माण भएपछि हाल रहेको पानी सतह ६ सय २० मिटरबाट बढेर छ सय २४ मिटर हुने र तालको क्षेत्रफल हालको एक सय २२ हेक्टरबाट बढेर एक सय ८३ पुग्ने उहाँले जानकारी दिनुभयो ।
लक्षित योजनाअनुसारको परियोजना सम्पन्न भएसँगै त्यसले तालको संरक्षण र यससँग जोडिएका जैविक विविधता, जलमा आश्रित जीवजन्तुको संरक्षण आदिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।
रुपातालको जलाधार क्षेत्र आसपासका जङ्गललाई समेटेर खुला चिडियाखाना सञ्चालनमा आउनुले पनि यस क्षेत्रको संरक्षण र विकासमा थप योगदान पुग्ने देखिएको छ । पचभैया प्राणी उद्यान केन्द्रका रुपमा सञ्चालित चिडियाखाना बृहत् पोखराको अवधारणाअनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रुपमा साविक लेखनाथ नगरपालिकाका वडा नम्बर ११, १२ र १४ मा रहेका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर बनाइएको हो । यहाँको एक सय ३४ हेक्टर क्षेत्रफललाई समेटेर पूर्वाधार विकासका कार्यक्रम अघि बढाइएको छ ।
चिडियाखाना परिसर एवं रुपाताल क्षेत्रमा ४ सय ५० प्रजातिका जीवजन्तु तथा ३ सय ६१ प्रजातिका वनस्पति, एक सय ७५ प्रजातिका जडीबुटी पाइन्छन् । त्यस्तै रुपातालमा २४ प्रजातिका माछाका साथै विभिन्न ३६ प्रजातिका चराका साथै जङ्गल क्षेत्रमा बाघ, मृग, अजिङ्गरजस्ता जनावर पाइन्छन् ।
यहाँ आउने पर्यटकले यहाँबाट रुपातालको मनोरम दृश्यसँगै चिडियाखानामा चितुवा, नीलगाई, चित्तल, रतुवा मृग, चरी बाघ, अजिङ्गर, सेतो गिद्ध, हिमाली गिद्ध, कछुवा आदिको अवलोकन गर्न पाउँछन् ।
रुपा तालमा मोती उत्पादनको पनि सम्भावना देखिएको छ । यसअघि लामो समयको प्रयाससँगै बेगनासस्थित मत्स्य अनुसन्धान केन्द्रले यहाँका तालमा मोती उत्पादनको सम्भावनालाई प्रमाणित गरेसँगै रुपातालमा पनि मोति उत्पादन गर्ने सोच अघि बढाइएको सहकारीका अध्यक्ष अधिकारीले बताउनुुभयो । यस विषयलाई हाल परीक्षणका रुपमा अघि बढाइएको बताउँदै उहाँले परीक्षण सफल भएसँगै मोतिखेती समेत गरिने जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन