
झापा । पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका–३ मा फलफूलका १० हजार बिरुवा रोपिएका छन् । जुकेखाडी सामुदायिक वनले ती बिरुवा रापेको हो ।
सामुदायिक वनको ७ सय ४९ हेक्टर क्षेत्रफलमध्ये प्राकृतिक पोखरी समेत रहेको दमार र गैडे आहाल क्षेत्रको ११ हेक्टरमा बिरुवा रोपिएका वन समितिका अध्यक्ष मोहन श्रेष्ठले बताउनुभयो । ‘एक उपभोक्ता एक बिरुवा’ अभियानअन्तर्गत दुई दिनमा सयौँ उपभोक्ताले आँप, केरा, बाँस, उखु, भुइँकटहर, बडहर लगायत फलका बिरुवा रोपिएको उहाँले जानकारी दिनुभयो ।
जिल्लाको उत्तरी भेगमा जङ्गली क्षेत्र छ । जहाँ भारतबाट बर्सेनि आउने सयौँ हात्ती विचरण गरेर फर्किने गरेका छन् भने दुई दर्जनको सङ्ख्यामा रहेको रैथाने जङ्गली हात्तीले यही जङ्गललाई बासस्थान बनाउने गरेका छन् । हात्तीबाहेक जङ्गलमा बस्ने बाँदरबाट पनि जङ्गल नजिकका बासिन्दा पिरोलिँदै आएका छन् । अहिले रोपिएका फलफूलका बिरुवा हुर्किएपछि बाँदर पनि आहारको खोजीमा गाउँ नआउने स्थानीयवासीले ठानेका छन् ।
जङ्गली जनावर जङ्गलमै रमाउन् र उनीहरूलाई आहारको कमी नहोस् भन्ने सोचका साथ फलफूलका बिरुवा रोपिएको हो । आगामी वर्ष २० हजार बिरुवा रोप्ने योजना रहेको उहाँले बताउनुभयो । हाल जङ्गलमा हात्ती र बाँदरका खानलायक बोटबिरुवा मासिइसकेका कारण समस्या भएको छ ।
दिउँसो जुकेखाडी जङ्गलमा बस्ने भोका हात्ती राति आहारको खोजीमा गाउँ आउँदा मानव–हात्ती द्वन्द्व हुने भएकाले ती बिरुवाले हात्तीलाई जङ्गलमै अल्मल्याउने जुकेखाडी सामुदायिक वन समितिका उपभोक्ता दिपीन राईले बताउनुभयो । उहाँले भन्नुभयो– ‘आहारको खोजीमा बस्तीमा पसेर हात्तीले दुःख दिने गरेका छन् । जङ्गलमा नै आहार पाएपछि ती गाउँ पस्न छाड्छन्, यसो हुँदा मानव–हात्ती द्वन्द्व घटाउन सहयोग पुग्छ ।’
समितिका अध्यक्ष श्रेष्ठका अनुसार सामुदायिक वनमा ३ हजार ५ सय ५८ उपभोक्ता छन् । जङ्गलमा बिरुवा रोप्न सामुदायिक वनका उपभोक्ता आफैँले घरबाट बिरुवा सङ्कलन गरेका थिए । जिल्ला डिभिजन वन कार्यालयले थप तीन हजार बिरुवा दिने भएको समितिले जनाएको छ ।
कार्यालयका प्रमुख मेघराज राईले जिल्लाका सबै सामुदायिक वनले आ–आफ्ना क्षेत्रमा हात्तीलाई मनपर्ने केरा, बाँस लगायत बिरुवा रोप्ने गरेका जानकारी दिनुभयो । वन कार्यालयको पनि उनीहरूलाई बिरुवा उपलब्ध गराएर सहयोग गर्ने नीति रहेको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै