
जनकपुरधाम । केही दिनदेखि मनसुन भित्रिएसँगै जिल्लाका अधिकांश गाउँमा धान रोपाइँ शुरु भएको छ । जिल्लामा ४२ हजार हेक्टर जमिनमा धानखेती हुँदै आएकामा पछिल्लो समय मलको अभाव रहेको गुनासो आइरहेको छ ।
असार लागेसँगै जिल्लाका कतिपय किसानले मल बिना नै धान रोपाइँ गरिरहेका छन् । यो समस्या प्रतिवर्ष जस्तै रहेको भन्दै हालसम्म समाधान नभएको किसान बताउँछन् ।
सङ्घीय सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरसँग मल प्रयाप्त मात्रामा भए पनि किसानलाई उपलब्ध हुन नसकेको मनोहर यादवले गुनासो गर्नुभयो । उहाँका अनुसार असार लागेसँगै कतिपय किसानले मलबिना नै रोपाइँ गरिरहेका छन् ।
कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि असारको पहिलो सातासम्म २४ करोड ४१ लाख ७३ हजार ५ सय ५० रुपैयाँ बराबरको ९३ हजार तीन सय ३९ मेट्रिकटन मल बिक्री गरेको जनाएको छ ।
९ करोड ३३ लाख ७६ हजार १ सय ३० रुपैयाँ बराबरको ५ हजार ५ सय १३ मेट्रिक टन युरिया, १६ करोड ४३ लाख ४५ हजार रुपैयाँ बराबरको ३ हजार ५ सय ७२ मेट्रिकटन डिएपी, ५७ लाख ८१ हजार ७ सय रुपैयाँ मूल्य बराबरको १ सय ७० मेट्रिकटन पोटास तथा ६ लाख ७२ हजार रुपैयाँ मूल्य बराबरको ८४ मेट्रिकटन चुन बिक्री गरिएको कार्यालयका प्रबन्धक बेचनकुमार महतोले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार वर्षेबालीका लागि कार्यालयसँग युरिया २ हजार २ सय ६२ मेट्रिकटन, डिएपी १ सय १४ मेट्रिकटन तथा पोटास ९७ मेट्रिकटन मौज्दात रहेको छ । ‘धानखेतीका लागि आवश्यक पर्ने मल पर्याप्त अवस्थामा रहेको छ भने मल आउने क्रम जारी छ’ उहाँले भन्नुभयो ।
यस वर्ष समयमा नै किसानलाई मल उपलब्ध गराइँने भन्दै मलको समस्या नरहने प्रबन्धक महतोले बताउनुभयो । ‘जनकपुर शाखाबाट धनुषा तथा महोत्तरीका २७ पालिकाअन्तर्गत रहेका दुई सय नौ सहकारी संस्थामार्फत मल जाने गरेको छ । जिल्लाका सम्बन्धित पालिकाको ढिलासुस्तीका कारण किसानलाई मलको अभाव देखिएको हो’ उहाँले भन्नुभयो ।
स्थानीय पालिकाले समयमा मलका लागि ढुवानी खर्च, ‘लोड’ र ‘अनलोड’ गरी बिक्री गर्ने दररेट कायम नगर्दा बिक्रेताले किसानलाई बिक्री गर्न नसकेका हुन् । भारतबाट कम गुणस्तरको मल ल्याउँदा जमिनको उत्पदान क्षमतामा ह्रास आउँदै गएको किसान यादवले बताउनुभयो । कृषि सामग्री संस्थाबाट मल नपाउँदा सोनमा गाउँपालिकाका किसानले भारतीय बजारबाट बढी मूल्यमा मल ल्याएर रोपाइँ गरिरहेका उहाँले जानकारी दिनुभयो ।
कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयका प्रबन्धक महतोका अनुसार किसानको आवश्यकता अनुसार सहकारीमार्फत मल बिक्री हुँदै आएको छ । सहज रुपमा मल पाउन गाह्रो रहेको महेन्द्रनगरका किसान रामकुमार महतोले बताउनुभयो । स्थानीय तहले मल वितरण प्रणालीमा पारदर्शिता लागू नगर्दा किसानलाई समयमा मल पाउन सकस भएको उहाँको बुझाइ छ ।
प्रदेश सरकारमार्फत पालिकाले पाएको कोटा अनुसारको मल समयमा नउठाउँदा रोपाइँको समयमा अधिकांश किसानले मल पाउन सकेका छैनन् । कार्यालयले किसानलाई सहुलियत दरमा युरिया प्रति बोरा ८ सय ५०, डिएपी ५० किलोको प्रतिबोरा २ हजार ३ सय ५०, पोटास प्रतिबोरा १ हजार ७ सय ५० रुपैयाँ मा बिक्री गर्दै आएको छ । स्थानीय बिक्रेताले जथाभावीरुपमा बिक्री वितरण गर्दा किसानले बाध्य भएर भारतीय बजारबाट खरिद गर्नुपरेको गुनासो गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै