
काठमाडौँ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा जोडिएका गितेन्द्रबाबु (जिबी) राईलाई पक्राउ गर्न माग गर्नुभएको छ । उहाँले राईलाई पक्राउ गर्ने प्रक्रिया शुरु नगरिएकामा गुनासो गर्नुभयो ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद शर्माले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेले सहकारी ठगी प्रकरणमा जोडिएका राईको लोकेशन पत्ता लागिसकेको भन्ने जानकारी दिनुभएको सन्दर्भ जोड्दै तत्काल कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो । ‘सहकारी ठगीमा फरार भएको व्यवसायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजीले गिरफ्तार गर्नुछ’ उहाँले भन्नुभयो– त्यसेले लोकेसन पत्ता लागिसक्यो भनेर माइकबाट फुक्नुको अर्थ के हुन्छ ? अभियुक्त पक्रिने नयाँ शैली हो कि भगाउने नियत हो ?’
कांग्रेस महामन्त्री शर्माले सूर्यदर्शन सहकारी प्रकरणको अनुसन्धान प्रक्रियामा सहभागी प्रहरी अधिकारीलाई सरुवा गरिएकामा आपत्ति प्रकट गर्नुभयो ।
प्रतिनिधिसभामा नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१४ का सुकबहादुर तितुङलाई पर्सा वन्यजन्तु आरक्षणको मध्यवर्ती क्षेत्रमा असार ७ गते बिनाअपराध गोली प्रहार गरी हत्या गरिएको आरोप लगाउँदै त्यो घटनाको छानविन गर्न माग गर्नुभयो । उहाँले सो घटनामा संलग्न सुरक्षाकर्मीलाई कारबाहीको दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्नुभयो ।
आगामी दिनमा यस्ता घटना हुन नदिन सरकार विशेष चनाखो हुनुपर्ने प्रमुख सचेतक बर्तौलाको सुझाव थियो । मध्यवर्ती क्षेत्रमा विकास निर्माणका काम हुन नसकेको, वन्यजन्तुको आक्रमण पनि बढ्दै गएको उल्लेख गर्दै उहाँले समस्या समाधानका लागि तत्काल पहल थाल्न आग्रह गर्नुभयो ।
सांसद प्रदीप पौडेलले सङ्घीय संसद्का कर्मचारीले राखेका माग सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो । उहाँले चुरे संरक्षणको माग राख्दै लामो समयदेखि आन्दोलनमा रहेका नागरिकको माग पूरा गर्न सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद पौडेलले चुरे संरक्षण गर्न देशभर वृक्षरोपण अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
सांसद ऋषिकेश पोखरेलले स्वास्थ्य बिमा दर्ता सहयोगीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रोशन कार्कीले सङ्घीय संसद् सचिवालयका कर्मचारीका माग पूरा गर्न जोड दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै