
पोखरा । पोखरा महानगरपालिका–३१ बेगनासका सूर्यप्रसाद लामिछाने मौरीपालनमा जोडिएको १८ वर्ष बित्यो । विसं २०६३ मा दस हजारको लगानीमा २ वटा घारबाट शुरु भएको उहाँको मौरीपालन व्यवसाय अहिले ‘बेगनास मौरीघार उद्योग’का रुपमा विस्तार भएको छ । त्यो उद्योगबाट घारसँगै मौरी, मह र मौरीजन्य सामग्री उत्पादन तथा बिक्री हुने गरेको छ ।
‘मौरीको स्थानीय स्रोत केन्द्रका रुपमा उद्योगलाई विकास गरेका छौँ, हालसम्म एक करोड बढी लगानी भइसकेको छ’ ४२ वर्षीय लामिछानेले भन्नुभयो– ‘उद्योगमा वार्षिक १ करोड रुपैयाँ बढीको कारोबार हुन्छ । त्यसबाट २४÷२५ लाख रुपैयाँ जति आम्दानी छ ।’ उद्योगमा ६ जनाले रोजगारी पाएका छन् । लामिछानेको परिवारका सदस्य पनि त्यही व्यवसायमा तल्लिन छन् ।
कतै रोजगारी नपाएपछि २४ वर्षको उमेरमा मौरीपालनमा होमिनुभएका लामिछाने अहिले आफै रोजगारदाता बन्न सफल हुनुभएको हो । ‘यहाँ उत्पादित मौरीघार पूर्वमा सिन्धुलीदेखि देशका विभिन्न जिल्ला र सहरमा पुग्छ, धेरैजसो खपत गण्डकी प्रदेशभित्रै छ’ उहाँले भन्नुभयो– ‘कुनै याममा त गोलासहितको मौरीघारको माग पुर्याउनै धौधौ हुन्छ, मौरीपालन व्यवसायबाट म सन्तुष्ट छु, उद्योगको कामले एकछिन फुर्सद हुँदैन ।’
मौरीसहितको आधुनिक घारको बजार मूल्य १० हजार रुपैयाँ र घारको मात्र ४ हजार रुपैयाँ तोकिएको उहाँले जानकारी दिनुभयो । ‘गोलासहित वर्षमा १२ सय जति घार उत्पादन र बिक्री हुँदै आएको छ, किसानहरुबाट घार लिने र त्यसको सट्टा किसानलाई मौरीको गोला पनि दिने गरिएको छ’ उहाँले भन्नुभयो । मह मात्रै बेचेर वर्षमा रु। आठदेखि दस लाखसम्म जति कमाइ हुने गरेको लामिछानेले सुनाउनुभयो ।
उद्योगबाट प्रतिकिलो १ हजार ५ सय रुपैयाँ मा मह बिक्री हुने गरेको छ । स्वस्थ र स्वादिलो भएकाले महको माग बढी हुने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार उद्योगमा अहिले ३ सय ५० घार मौरी छन् । वार्षिक १२ सय देखि १५ सय किलोसम्म मह उत्पादन हुँदै आएको छ । मौसम अनुकूल पर्दा मह उत्पादन अझ बढ्ने गरेको उहाँको भनाइ छ । वर्षको दुई याममा मह उत्पादन हुन्छ । उद्योगबाट मौरीपालनका लागि आवश्यक पञ्जा, झोला, टापीलगायत सामग्री पनि बेच्ने गरिएको छ ।
लामिछानेले स्थानीय सेरेना जातको मौरीपालन गर्दै आउनुभएको छ । स्वस्थ मह उत्पादनदेखि वातावरणीय सन्तुलन कायम राख्न पनि सेरेना जातको मौरी उत्कृष्ट मानिने उहाँको भनाइ छ । स्याउका बिरुवामा परागशेचनका लागि मुस्ताङका स्याउ किसानले पनि त्यही उद्योगबाट मौरी लगेका उहाँले बताउनुभयो । उहाँले मौरीपालन गर्न चाहाने किसानलाई तालिम पनि दिनुहुन्छ । उत्कृष्ट मौरीपालक किसानका रुपमा उहाँ देशविदेशमा सम्मानित हुनुभएको छ ।
विसं २०७३ मा राष्ट्रिय युवा परिषद्ले ५० हजार रुपैयाँसहित उहाँलाई सम्मानित गरेको थियो । ‘सम्मान ग्रहणका लागि जापान पनि पुगेँ’ उहाँले भन्नुभयो– ‘मह सम्बन्धी सम्मेलनमा भाग लिन अमेरिका लगायत युरोपका विभिन्न देश घुम्ने अवसर पाएँ ।’ मौरीलाई शरीरमा राखेर पनि उहाँ बेलाबेलामा चचार्मा आउने गर्नुभएको छ । उहाँको उद्योगले गत वर्ष मह खाने प्रतियोगिता पनि आयोजना गरेको थियो ।
‘बेगनास मौरीघार उद्योग’ नमूना मौरी स्रोत केन्द्रका रुपमा विकास हुँदै गएको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुभयो । ‘महानगरले पनि किसानलाई उहाँकै उद्योगबाट घार उपलब्ध गराउँदै आएको छ, यहीँ स्रोत केन्द्र भएपछि अन्यत्रबाट ल्याउनुपर्ने बाध्यता हटेको छ’ उहाँले भन्नुभयो ।
प्रमुख कडरियाले मौरीपालनमा लाग्न चाहने किसानका लागि लामिछाने प्रेरणाको स्रोत रहेको बताउनुभयो । ‘उहाँ धेरै ठाउँमा पुरस्कृत र सम्मानित भइसक्नुभएको छ, उहाँ मौरीपालन सम्बन्धी तालिमका लागि पनि पोख्त हुनुहुन्छ’ प्रमुख कडरियाले भन्नुभयो– ‘मौरीपालन व्यवसाय प्रवद्र्धनका गतिविधिमा पनि उहाँको सक्रियता राम्रो छ ।’
महानगरले विभिन्न वडालाई ‘मौरी पकेट क्षेत्र’ घोषणा गरेर घार लगायत मौरीजन्य सामग्रीमा किसानलाई अनुदान सहयोग गर्दै आएको उहाँको भनाइ छ । आधुनिक घारमा बढी र राम्रो मह उत्पादन हुने भएकाले मौरीपालनमा किसानको आकर्षण बढ्दै गएको प्रमुख कडरियाले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने