
म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका कृष्ण पाइजा एक महिनादेखि कालीबराह बुकी क्षेत्रमा यार्सागुम्बा टिप्न व्यस्त हुनुहुन्छ । बुकीमा ओढारमा बास बसेर पाइजासहित उहाँका साथीहरुले बहुमुल्य जडीबुटी यार्सागुम्बा सङ्कलन गरिरहेका छन् । चिमखोलाको कालीबराह बुकीदेखि धौलागिरि आइसफल आधार शिविर क्षेत्रमा यतिबेला यार्सा सङ्कलन गर्नेको भीड लागेको छ ।
चिमखोलाका करिब ५० जना अहिले यार्सा सङ्कलनका लागि बुकीमै बास बस्ने गरेको पाइजाले बताउनुभयो । ‘करिब दुई महिनासम्म हामी बुकीमै बसेर यार्सा सङ्कलन गर्छौ, बिगतका तुलनामा यार्सा निकै थोरै भेटिने गरेको छ, दिनमा २० देखि २५ वटासम्म मात्रै हामीले यार्सा सङ्कलन गरिरहेका छौँ’ पाइजाले भन्नुभयो । यसअघिका वर्षमा दिनमा दुई सय वटासम्म यार्सा सङ्कलन हुने गरेको बताउँदै उहाँले यस वर्ष यार्सा कम भेटिएको बताउनुभयो ।
यार्सा सङ्कलकहरु यतिबेला बुकीमा ओढार र त्रिपालको छाप्रो हालेर बास बस्ने गरेका छन् । सङ्कलन भएको यार्सा स्थानीय स्तरमा रु दुई सयदेखि दुई सय ५० सम्ममा बिक्री हुने गरेको चिमखोले बुकीमा यार्सा सङ्कलन गर्दै गर्नुभएका गमान गर्बुजाले बताउनुभयो ।
यार्सा सङ्कलन भएपछि ठेकेदारले गाउँमै पुगेर यार्साको खरिद गर्दै आएका छन् । म्याग्दीमा केहि वर्ष अघि वार्षिक २० किलोभन्दा बढी यार्सा निकासी हुने गरेकोमा पछिल्ला वर्षहरुमा मात्रा घटेको छ । चालु आर्थिक वर्षमा आधा किलो यार्सागुम्बा सङ्कलनका लागि मात्रै पुर्जी लिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी विनयबहादुर अधिकारी खत्रीले जानकारी दिनुभयो ।
यार्सागुम्बा सङ्कलन र निकासीका लागि राजस्व तिरेर सङ्कलन पुर्जी र छोटपुर्जी लिएर मात्रै यार्सागुम्बा बिक्री र निकासी गर्न पाइन्छ । हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा न्यून मात्रामा भेटिने भएपछि यार्सा सङ्कलनकर्ताले सङ्कलन भएपछि मात्रै त्यही बमोजिमको सङ्कलन पुर्जी काट्न थालेका छन् । जिल्लाको चिमखोला, कुइनेमङ्गले, मल्कबाङ, मुदी, गुर्जालगायतका स्थानीयबासी अहिले लेकाली क्षेत्रमा यार्सा सङ्कलनमा व्यस्त बनेका छन् ।
विशेष गरी वैशाखको मध्यदेखि जेठको अन्त्यसम्ममा हिमालको फेदीसम्म पुगेर जोखिम मोलेरै स्थानीयले यार्सा सङ्कलन गर्ने गर्छन् । धवलागिरी गाउँपालिका–१ गुर्जाबाट करिब एक सय ५० जना यार्सा सङ्कलनका लागी गुर्जा, चुरेन र पुथा हिमालको बुकीतर्फ गएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । उहाँले यार्सा सङ्कलन हिमाली क्षेत्रका बासीन्दाका लागि रोजगारी र आयआर्जनको माध्यम बनेको बताउनुभयो ।
यार्सा टिप्न जानेहरुले देवीदेवताको पूजापाठ गरी काम शुरु गर्छन् । यार्सा सङ्कलन हिमाली भेगका जनताका लागि मौसमी रोजगारी जस्तै बनेको छ । तर जोखिमपूर्ण तवरले सङ्कलित यार्साले उचित मूल्य नपाउँदा यार्सा सङ्कलनकर्ता निरास बन्न थालेका छन् ।
सर्वसाधारणबाट व्यवसायीले प्रतिकिलो ५ देखि ६ लाख रुपैयाँ सम्ममा यार्सा खरिद गर्ने गरेका छन् । हालको बजारमूल्य प्रतिकिलो आठदेखि १० लाख रुपैयाँसम्म रहेको जानकार बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै