+

धनकुटाको कोसेली नरिवल बिस्कुट

धनकुटा ।  के तपाइँ धनकुटा पुग्नुभएको छ ?  यदि पुग्नुभएको छ भने अवश्य नरिवलको बिस्कुट खान नभुल्नुस् । मिठो स्वादसहितको बिस्कुट आफन्तलाई कोसेलीको रुपमा लैजान पनि सक्नुहुन्छ । 

धनकुटा पुग्ने जोकोहीले पछिल्लो समय नरिवलको बिस्कुट कोसेलीको रुपमा किन्ने गरेका छन् । त्यसो त धनकुटामा उत्पादित नरिवल बिस्कुटको इतिहास ७० वर्ष पुरानो हो । हातबाट निर्मित नरिवल बिस्कुट कुनैबेला चियासँग खाजाको रुपमा खाने गरिन्थ्यो । 

विसं २०११ मा स्थापित धनकुटा नगरपालिका(४ स्थित मोहन बिस्कुट उद्योग जिल्लाकै सबैभन्दा पुरानो घरेलु बिस्कुट उद्योग हो । औपचारिक रुपमा विसं २०३० मा  उद्योग दर्ता गरी सञ्चालनमा आएको यस उद्योगबाट बिस्कुट बनाउन सिकेर अहिले जिल्लामा १८ वटा घरेलु नरिवल बिस्कुट उद्योग सञ्चालनमा छन् ।
 
उद्योग सञ्चालक मोहन श्रेष्ठका अनुसार अहिले उद्योगले दैनिक दुई सयदेखि एक हजार झोलासम्म नरिवल बिस्कुट उत्पादन गर्छ । उत्पादित बिस्कुट धनकुटा बजार पर्यटकीय नगरी भेडेटार र तेह्रथुम जिल्लाको जिरिखिम्ती लगायतका स्थानबाट कोसेलीका रुपमा बिक्री हुने गरेको छ ।

बाह्र जना कामदार राखेर १६ प्रकारको बिस्कुट उत्पादन गर्दै आएको उद्योगले नरिवल बिस्कुट बाहिरबाट जिल्ला आउने र जिल्लाबाहिर जानेले कोसेलीका रुपमा लाने गरेका छन् ।
 
त्यस्तैगरी धनकुटा नगरपालिका(६ पात्लेखोलाको ओम बिस्कुट उद्योगले दैनिक तीनदेखि चार सय झोला नरिवल बिस्कुट उत्पादन गर्दै आएको छ । बिगत १२ वर्षदेखि नरिवल बिस्कुट उत्पादन गर्दैै आएको उद्योगका सञ्चालक  टीका कटुवालले आफ्नो उद्योगबाट उत्पादित बिस्कुट कोसेलीकै रुपमा बिक्री हुने गरेको जानकारी दिनुभयो ।

कटुवालका अनुसार जिल्लामा घुम्न आउनेले कोसेलीका रुपमा लाने र जिल्लाबाट बाहिर जाँदा आफन्तलाई बिस्कुट कोसेली लाने चलन छ । ‘यहाँ खाएर त सकिने कुरै भएन जिल्लामा उत्पादन भएको सबै बिस्कुट कोसेलीका रुपमा नै जाने हो’ कटुवालले भन्नुभयो ।
 
२०६६ सालबाट २ लाख रुपैयाँ लागतमा धनकुटा(१  हिले बजारमा बिस्कुट उद्योग सञ्चालन गर्नुभएका टेकबहादुर गोङ्वा तामाङले पनि दैनिक तीन सय झोलासम्म नरिवल बिस्कुट उत्पादन गर्नुहुन्छ । उहाँले पनि धनकुटाको पहिचान तथा कोसेलीका रुपमा जिल्ला बाहिर नरिवल बिस्कुट लैजाने गरेको बताउनुभयो । 

अहिले नरिवल बिस्कुटको खुद्रा मूल्य प्रति झोला ६० देखि ८० रुपैयाँ सम्म छ । जिल्लामा प्रायः सबै पसल तथा राजमार्गका पसलमा नरिवल बिस्कुट बेच्न राखेको देखिन्छ ।  ११ वर्षदेखि धनकुटाको बसपार्कमा व्यापार गर्दै आउनुभएका चन्द्रकला प्रधानले बाहिरबाट आउने पाहुनाले कोसेलीका रुपमा नरिवल बिस्कुट नै किनेर लैजाने गरेको बताउनुभयो । 

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ईश्वर थापाका अनुसार बिस्कुट उद्योगले उत्पादन गरेको प्रायः सबै बिस्कुट कोसेलीका रुपमा बिक्री हुने गरेको छ । जसका कारण बिस्कुट उद्योग फस्टाइरहेका छन् ।

कार्यालयको तथ्याङ्कअनुसार अहिले धनकुटा नगरपालिकामा १३ वटा, पाख्रिबास नगरपालिका र छथर गाउँपालिकामा दुई, दुई वटा र शहीदभूमि गाउँपालिकामा एउटा घरेलु बिस्कुट उद्योग सञ्चालनमा रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै